भेरी-बबई डाइभर्सन आयोजनाः ५ किमि सुरुङ खन्न बाँकी
  • काँचुली खबर

भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेसिन (टीबीएम) ले सात किलोमिटर सुरुङ खनेको छ । सात किमि सुरुङ खनेसँगै टीवीएमले सबैभन्दा बढी जोखिम मानिएको तोला खोला क्षेत्रको ‘रिक्स जोन’ पार गरेको आयोजनाको दावी गरेको छ ।
६ देखि ७ किमि क्षेत्रमा पर्ने तोलीखोला आसपासको क्षेत्रलाई अत्यन्तै जोखिमयुक्त क्षेत्र मानिएको थियो । ‘रिक्स जोन पार गरेर टीवीएम अघाडि बढेको छ,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गद खनालले भने, ‘अव निधाति समय अगाबै सुरुङ खन्ने काम सम्पन्न हुन्छ ।’ तोलीखोला आसपासको क्षेत्रलाई चुरे पर्वतको सबैभन्दा जोखिमपूर्ण भूगोल मानिएको थियो । तोलीखोला क्षेत्रमा जमिनदेखि २ सय १० मिटर मुनिबाट सुरुङ खनिएको इन्जिनियर खनालले बताए ।
यो क्षेत्रको जमिन अत्यन्तै जोखिम भएकाले एक किलोमिटर सुरुङ खन्न करीव तीन महिना लागेको थियो । टीवीएमले सरदर दैनिक ३३ मिटरसम्म सुरुङ खन्ने काम गर्छ । ‘टीवीएमले एकै दिन ६१ मिटर सुरुङ खनेको रेकर्ड पनि हामीसँग छ,’ इन्जिनियर खनालले भने, ‘सरदरमा दैनिक ३३ मिटरसम्म सुरुङ निर्माणको काम भइरहेको छ ।’ उनले बाँकी पाँच किलोमिटर सुरुङ खन्न तुलनात्मकरुपमा सहज हुने बताए ।

संवेदनशील भूगोलका कारण ड्रिलिङ र ब्लास्टिङबाट सुरुङ खन्न सम्भव देखिएपछि सिँचाइ विभागले टीबीएम खरीद गर्ने निर्णय गरेको थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टीबीएम चीनबाट ल्याइएको हो । टीवीएम सञ्चालनका लागि ९० जना चिनियाँ प्राविधिक र झण्डै ५ सय नेपाली कामदार खटिएका छन् । सुरुङको चौडाई ५ दशमलव ६ मिटर छ । टीवीएमले सुरुङ खनेसँगै पछाडिबाट सेगमेण्ट राख्ने काम पनि गर्ने गरेको छ । १२ किलोमिटर सुरुङका लागि ३४ हजार सेगमेण्ट आवश्यक पर्छ । टीवीएमले सुरुङ खन्दा जम्मा भएको माटोलाई बाहिर ल्याउन र सेगमेण्ट लिनका लागि मोनो रेलको प्रयोग गरिएको छ ।
खनालका अनुसार विद्युत गृह र भेरीमा १ सय ५२ मिटर हेड निर्माणका लागि टेण्डर प्रक्रिया शुरु गरिएको छ । आयोजनाअन्तर्गत भेरी नदीको पानी खसालेर बर्दिया र बाँकेको ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ ३ वर्षअघि काम शुरु भएको हो । यसबाट ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य समेत रहेको छ ।

सुरुङ खन्ने र विद्युत् उत्पादन गर्न २०७१ माघ १५ गते चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्न १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सुरुङ खन्न मात्रै १० अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । आयोजनाका अनुसार विद्युत् गृह निर्माणमा ६ अर्ब लाग्नेछ ।  सुर्खेतको भेरीगंगा ९, हात्तीखोलाबाट बर्दियाको बाँसगढी १, चेपाङमा सिँचाइका लागि भेरीको पानी बबई नदीमा खसाल्ने लक्ष्य रहेको छ ।

  • ४ भाद्र २०७५, सोमबार १६:११ प्रकाशित
  • Nabintech