वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर प्रविधिमैत्री बन्दै गएको छ । जसअन्तर्गत क्याम्पसमा हालै १० वटा सिसि क्यामरा जडान गरिएको छ । विद्यार्थी तथा शिक्षा प्रेमी नेता नरेन्द्र न्यौपानेको अध्यक्षतामा गठित क्याम्पस ब्यवस्थापन समितिले क्याम्पस परिसरमा सिसि क्यामरा जडान गराउन सफल भएको हो ।
कोहलपुर उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा जडित क्यामराहरुबाट क्याम्पसमा हुने हरेक गतिविधिलाई सहजै अनुगमन गर्न सकिने क्याम्पस प्रमुख शिशिर कुमार शर्माले जानकारी दिए । कोहलपुरकै सबैभन्दा पुरानो क्याम्पसको रुपमा रहेको वागेश्वरी क्याम्पसको शैक्षिक गुणस्तर विकासकालागि पहल सुरु गरिएको बताउँदै शर्माले प्रध्यापक, विद्यार्थी तथा कर्मचारीहरुका गतिविधीहरु अवलोकन तथा मुल्याङ्कनमा सिसि क्यामराले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
वागेश्वरी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पसलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण सहयोग प्रदान गर्ने कोहलपुर उद्योग वाणिज्य संघप्रति कृतज्ञता ब्यक्त गरेका छन । न्यौपानेले क्याम्पसको शैक्षिक तथा भौतिक विकासकालागि सबै पक्षको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन दिलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
क्याम्पसमा यसै शिक्षिक शत्रकालागि शिक्षा, ब्यवस्थापन तथा मानविकी संकायमा सेमेस्टर प्रणाली अन्तर्गत भर्ना खुलेको जानकारी दिदै न्यौपानेले उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुकालागि निम्न शुल्कमा गुणस्तीय शिक्षा प्रदान गर्न क्याम्पस ब्यवस्थापन समिति प्रतिवद्ध रहेको जिकिर गरे ।
शनिबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी तथा कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले एक कार्यक्रम बिच संयुक्त रुपमा सिसि क्यामराको उद्घाटन गरेका थिए ।
२ भाद्र २०७५, शनिबार २०:५५ प्रकाशित