पाउडर दुध तस्करी प्रकरण :
  • काँचुली खबर

पाउडर दुध तस्करीको आरोपमा नेपालगन्ज भन्सार कार्यालयबाट पक्राउ परेका भारतीय व्यापारी विनोद गुप्ता विरूद्ध काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका व्यापारी गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ । बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो ।
हिमालय कार्गोका संचालक गुप्तालाई गत महिना विभागले नेपालगन्जबाट पक्राउ गरेको थियो । पक्राउ गरी अनुसन्धान गर्दा उनले २ अर्ब भन्दा धेरै राजश्व छलेको खुल्न आएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका नाइके भएको मैनालीले बताए । प्रहरीले उनको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ । अरबौं कारोबार गर्ने गुप्ताले नक्कली प्रज्ञापनपत्र र भ्याट बिल बनाउने गरेको पनि खुलेको छ ।
नेपालगञ्ज भन्सार कार्यालयबाट उनले कर्मचारीकै मिलेमतोमा नक्कली प्रज्ञापनपत्र देखाएर सामान छुटाउने र त्यहाँबाट काठमाडौं ल्याउन नक्कली भ्याट बिल देखाउने गरेको खुलेको छ । तस्करीमा उनलाई सहयोग गर्ने नेपालगञ्ज भन्सार कार्यालयका दुई कर्मचारीलाई अर्थ मन्त्रालयले त्यहाँबाट हटाइसकेको छ ।
गुप्ताको बैंक खातामा मात्र विभागले १५ करोड रुपैयाँ फेला पारेको छ । त्यस्तै सतंगुलमा करिब ८ रोपनी जग्गा छ । पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर तिरेका छैनन् ।

  • १ भाद्र २०७५, शुक्रबार १९:३६ प्रकाशित
  • Nabintech