ज्ञानोदय पुस्तकालयमा लागेको ताला फोडियो
  • काँचुली खबर

ज्ञानोदय पुस्तकालय कोहलपुरमा विगत ६ दिनदेखिको तालाबन्दी खुलेको छ । बाँकेको कोहलपुरमा रहेको पुस्तकालयमा सदस्यता वितरणमा अनियमितता भएको भन्दै केही आजिवन सदस्यहरुले तालाबन्दी गरेका थिए । विवादकै बिच पुस्तकालयले निर्वाचन प्रक्रिया अगाडी बढाएको भन्दै ज्ञानोदयमा लगाईएको ताला बिहिबार प्रहरीले फोडेको हो ।
ज्ञानोदय पुस्तकालयका अध्यक्ष लिलबहादुर रानाले जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनमा ताला तोडिएको बताए । जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीका आधारमा बिहिबार ताला खोल्ने निर्देशन सहितको चिठि प्राप्त गरेको बताउँदै रानाले सोही चिठिको आधारमा प्रहरीले ताला खोलेको जानकारी दिए ।
यता पुस्तकालयका सचिव विष्णु वेल्वासेले ताला खोल्ने विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘जिल्ला प्रशासनले ताला खोल्नकालागि चिठि पठाएको बारेमा सुनेको छु तर अहिलेसम्म कुनै आधिकारीक जानकारी पाएको छैन ।’
वेल्वासेले तालाबन्दी गर्ने पक्षलाई जानकारी दिएर मात्र ताला खोल्नुपर्ने बताउँदै प्रहरीको आडमा ताला तोडिनु राम्रो पक्ष नभएको बताए ।
आफुहरुलाई कुनै जानकारी नदिएर नै ताला फोडिएको भन्दै असन्तुष्ट पक्षले आपत्ती जनाएको छ । समस्याको समाधानकालागि सर्वपक्षिय पहल गर्नुको सट्टा प्रहरी प्रशासनको आडमा जवजस्ती ताला फोडिनु निन्दनिय भएको उनीहरुको भनाई छ ।

  • ३१ श्रावण २०७५, बिहीबार १७:५६ प्रकाशित
  • Nabintech