स्वतन्त्र समितिको पहिलो बैठक सकारात्मक
  • काँचुली खबर

नेपाल क्रिकेट संघ (क्यान) लाई नयाँ प्रक्रियामा प्रवेश गराउने विषयमा स्वतन्त्र समिति सकारात्मक रहेको बैठकमा सहभागी सदस्यहरुले बताएका छन् । वैशाखमा संसोधित क्यानको विधान अनुरुप गठित स्वतन्त्र समितिको बैठक सोमबार राजधानीमा बसेकोे थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का उपाध्यक्ष इमरान ख्वाजाको उपस्थितिमा भएको बैठकले सकारात्मक रुपमा प्रक्रिया अघि बढ्ने सम्भावना रहेको निष्कर्ष निकालेको थियो ।

स्वतन्त्र समितिमा आइसीसीले तीन जना, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सिफारिसमा एकजना र निलम्बित क्यानको निर्वाचित समितिको तर्फबाट एक जना प्रतिनिधि रहेका छन् । जसमा क्यानको निर्वाचित समितिबाट ठाकुरप्रताप थापा, राखेपका तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री रहेका छन् । आइसीसीबाट सिनियर अडिटर मोहम्मद अली, रणनीतिक प्रबन्धक अमर शेख र फाइनान्स अपरेसन अफिसर एसिया नितिश कोठारी रहेका छन् ।

समितिका सदस्य क्षत्री र थापाले सकारात्मक रुपमा छलफल अघि बढेको बताएका छन् । क्यानमा आबद्ध ३९ मध्ये ३७ जिल्लाको निर्वाचनको प्रतिवेदनपछि निर्वाचनको अर्को प्रक्रियामा जाने सम्भावना रहेको सदस्य थापाले बताए । ‘निर्वाचन भइसकेका सबै जिल्लाको निर्वाचनका बारेमा प्रमाण र निर्वाचन प्रक्रियाका बारेमा अध्ययन हुनेछ’, थापाले भने, ‘विवाद र प्रक्रिया नमिलेमा त्यस्तो जिल्लामा पुनः निर्वाचन हुने सम्भावना रहन्छ । विवाद नभएका जिल्लामा पुरानै निर्वाचनलाई मान्यता दिने सहमति छ । वकिल राजेश्वर श्रेष्ठले अबको १० दिनमा प्रतिवदेन बुझाएपछि अर्को चरणमा प्रवेश गर्नेछौं ।’

क्यानको नयाँ विधान अनुसार जिल्ला, प्रदेश र केन्द्रको गरि तीन तहको संरचना बन्नेछ । जिल्लाका प्रतिनिधिले प्रदेश तथा प्रदेश र जिल्लाका प्रतिनिधिले केन्द्रको कार्यसमितिको चयन गर्नेछ । स्वतन्त्र समितिले निर्वाचित क्यानले दायर गरेको मुद्दा फिर्ता गर्न पत्र लेख्ने पनि बैठकमा सहमति भएको छ । राखेपले २०७२ पुसमा क्यानको अलग्गै तदर्थ समिति गठन गरेको थियो । त्यसपछि निर्वाचित समितिले राखेप, तदर्थसमिति लगायतविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधिन छ ।

मुद्दा विचाराधिन अवस्थामै क्यानको निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त नभएकाले मुद्दा फिर्ताका लागि पत्र काट्ने विषयमा स्वतन्त्र समितिमा सहमति बनेको हो ।२०७३ वैशाखमा आइससीले क्यानलाइ निलम्बन गरेको थियो । सदस्य क्षेत्री र थापा दुवै आइसीसी चाँडो भन्दा चाँडो क्यानलाई निलम्बन फुकुवा गर्ने मनसायमा देखिएको बताए । तर, त्यसका लागि यहाँ सबै प्रक्रिया सकारात्मक रुपमा अघि बढ्ने विश्वास आइसीसीलाई हुनुपर्नेछ ।

‘कम्तिमा यो सबै प्रक्रिया हुन केहि महिना लाग्ने देखिन्छ । आइसीसीको जनवरीमा हुने बैठकमा नेपालको सबै प्रक्रिया सन्तोषजनक रुपमा अघि बढिरहेको छ भन्ने बुझाई मा पुगेको खण्डमा निलम्बन फुकुवा हुन सक्छ’, क्षत्रीले भने, ‘उनीहरु जति सक्दो छिटो क्यानको नयाँ बन्ने समितिलाई सबै जिम्मेवारी सुम्पन चाहन्छन् । आजको बैठकलाई आधार मान्ने हो भने बैठक निकै सकारात्मक रुपमा अघि बढेको छ ।’ दुई दिनका लागि बैठक तय भएपछि एक दिनमै बैठक टुंगिएको क्षेत्रीले बताए ।

 

स्रोत : हाम्रो खेलकुद

  • २९ श्रावण २०७५, मंगलवार १६:३२ प्रकाशित
  • Nabintech