जग्गाकालागी आफ्नै परिवारले मृत्युदर्ता गरीदिएपछि….
  • काँचुली खबर

२५ चैत्र, काठमाण्डौं । झापाको गौरादह नगरपालिका-५, कोहबराका ५९ वर्षीय कुलबहादुर दर्जी आफ्नै मृत्युदर्ता बोकेर न्यायको खोजीमा हिँडिरहेका छन् । परिवार, जनप्रतिनिधि र वडासचिवको मिलेमतोमा दर्जीको मृत्युदर्ता बनाइदिएपछि समस्यामा परेका हुन् ।

गौरादह-५ वडा कार्यालयले २२ वैशाख ०७७ मा उनको मृत्युदर्ता गरेको थियो । दर्जी भारतमा काम गर्न गएका वेला परिवारका सदस्यले उनको नामको जग्गा बिक्री गर्न मृत्युदर्ता गरेको खुलेको छ । मृत्युदर्ता गरेर श्रीमती नपटीदेवी दर्जीले गौरादह-५ मा श्रीमान् कुलबहादुरको नाममा रहेको ११ कट्ठा जग्गा नामसारी गरी बिक्रीसमेत गरिसकेकी छिन् । कुलबहादुर रोजगारीका लागि भारत गएको समयमा जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा राखेर परिवारले मृत्युदर्ता गरेको कुलबहादुरको दाबी छ । ‘लुगा सिलाउने काम गरेरै जग्गा जोडेको थिएँ । कामको खोजीमा ०७४ सालमा म भारत गएँ । त्यो वेलामा श्रीमतीले जग्गा बेच्न आउनु भनेकी थिइन् । मैले भएको जग्गा किन बेच्ने भनेर आउन मानिनँ,’ उनले भने, ‘म नआएपछि मेरो मृत्युदर्ता गरेर जग्गा बेचेछन् । पछि श्रीमतीले बिधुवा भत्ता खाएको थाहा पाएँ । आउँदा त मेरो मृत्युदर्ता भइसकेको रहेछ ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

घरमा झैझगडा भएका कारण बस्न नसकेर उनी भारत गएको बताउँछन् । २२ वैशाख ०७७ मा उनको मृत्युदर्ता भएको देखिएको छ । मृत्युदर्ता भएपछि घरमा आउँदा श्रीमती र छोरा सन्तोषले कुटपिट गरेका कारण बस्न नसकेको उनले बताए । अहिले गौरादहमा जग्गा बेचेर उनको परिवार मोरङ पथरी-शनिश्चरे गएको छ । भारतबाट फर्किएर त्यहाँ पुगेका उनलाई परिवारले राम्रो व्यवहार नगरेको बताए । ‘छोरा र श्रीमती भएर कुटपिट गरे । खुकुरी देखाएर हत्या नै गर्न खोजे । मृत्युदर्ता भएको मान्छे मर्दा केही हुँदैन भने,’ उनी भन्छन्, ‘अत्याचार भएपछि मैले पथरी-शनिश्चरेको वडाध्यक्ष बोलाएँ । उनीहरूले पाँच लाख दिने र मृत्युदर्ताबाट नाम हटाउने कागज गरे । तर, दुवै सर्त पूरा गरेनन् ।’

नपटीदेवीको सूचनाका आधारमा तत्कालीन वडासचिव दिनेश भण्डारीले दर्जीको मृत्युदर्ता गरिदिएका हुन् । उनी हाल मालपोत कार्यालय मंगलबारे इलाममा कार्यरत छन् । भारतमा मृत्यु भएको सूचनाको आधारमा उनको मृत्युदर्ता गरिएको थियो । मृत्यु भएको हो कि होइन सामान्य नबुझीकनै वडाले दर्ता गरेपछि अहिले हातमा मृत्युदर्ताको प्रमाणपत्र बोकेर दर्जी आफू जिउँदो भएको बताउँदै हिँडिरहेका छन् ।

०८२ जेठमा दर्जी घर फर्किए । त्यसपछि मात्रै उनले आफ्नो मृत्युदर्ता गरेर घरजग्गासमेत बेचिसकेको थाहा पाए । पछिल्लो समय परिवारको तर्फबाट ‘मृत्यु भएका कुलबहादुर अर्कै रहेछन्’ भनेर वडा कार्यालयमा निवेदन दिएका छन् । जसलाई नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा पठाएको छ । स्रोतका अनुसार दर्जी जीवित फर्किएपछि आफू अन्य जनप्रतिनिधिसहित कर्मचारी फस्ने डरले केही समययता तत्कालीन वडाध्यक्ष (हाल नगरप्रमुख) छत्रपति सुवेदी यो मुद्दा मिलाउन हिँडिरहेका छन् ।

आफू जीवित हुँदाहुँदै मृत्युदर्ता गरेर जग्गा हत्याउने परिवारका सदस्य, जनप्रतिनिधि र वडासचिवलाई कारबाही गर्नुपर्ने कुलबहादुरको माग छ । ‘मलाई मृत्युदर्ता गर्नेलाई कारबाही हुनुपर्छ,’ उनी भन्छन्, ‘कारबाही गर्न माग गरेर प्रहरीकहाँ पुगेँ । तर, प्रहरीले मुद्दा दर्ता नै गरेन ।’ मृत्युदर्ता भएको व्यक्ति जिउँदै आएपछि उनलाई धम्की आइरहेको दर्जी बताउँछन् । अहिले ठाउँ परिवर्तन गर्दै लुकेर बस्नुपरेको उनको भनाइ छ । जीवित मान्छेको हचुवाको भरमा मृत्युदर्ता गर्ने तत्कालीन वडासचिव (हाल इलाम मालपोतमा कार्यरत) दिनेश भण्डारीले भने यसबारेमा आफूलाई जानकारी नभएको बताए ।

गौरादहका नगरप्रमुख (तत्कालीन वडाध्यक्ष) छत्रपति सुवेदीले भने परिवारका सदस्यले दिएको सूचनाको आधारमा मृत्युदर्ता गरेको दाबी गरे । ‘यो कुरा सूचना दिने उनको परिवारले जान्ने हो । सूचनाको आधारमा मृत्युदर्ता गरेका हौँ,’ उनले भने, ‘खबर पाएको कुलबहादुर अर्कै रहेछ भनेर परिवारले निवेदन दिएका छन् । त्यसलाई हामीले जिल्ला प्रशासन कार्यालयमा पठाएका छौँ ।’ स्रोतका अनुसार दर्जी जीवित फर्किएपछि आफू अन्य जनप्रतिनिधिसहित कर्मचारी फस्ने डरले केही समययता उनी यो मुद्दा मिलाउन हिँडिरहेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ (ग) अनुसार परिचयपत्र तथा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र प्राप्तिका लागि झुटा विवरण पेस गर्ने वा त्यसका लागि गलत वा झुटा कागजात तयार गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

नयाँपत्रिकाबाट

  • २५ चैत्र २०८२, बुधबार १३:१४ प्रकाशित
  • Nabintech