२२ माघ, कोहलपुर । स्थानीय राजनीतिक वृत्तमा स्थापित ‘हेभी वेट’ नेताहरूलाई चुनौती दिँदै दिपेन्द्र विष्ट चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि सधैं पृष्ठभूमिमा रहँदै आएका विष्ट यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा वडा र डुडुवा गाउँपालिका समेटिएको बाँके क्षेत्र नं. २ मा यसपटक एमाले, कांग्रेस, नेकपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले जसपाका महासचिवसमेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई उम्मेदवार बनाएपछि यहाँको चुनाव थप रोमाञ्चक बनेको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहक्षेत्रसमेत रहेको यस क्षेत्रमा कांग्रेसले उनका भतिजा सुधांशु कोइरालालाई उम्मेदवार बनाएको छ । यसरी स्थापित राजनीतिक परिवार र अनुभवी नेताहरूबीच विष्टको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।
यस क्षेत्रबाट कुल २० जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपाबाट दिपेन्द्र विष्ट, जसपाबाट नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दिन राई, रास्वपाबाट विवेककुमार श्रेष्ठ उम्मेदवार छन् । राप्रपाका उम्मेदवार पनि क्षेत्रको मत संरचनाका कारण बलिया देखिएका छन् ।
स्थानीय तहमा सामाजिक, शैक्षिक, खेलकुद तथा विकाससम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका विष्टलाई युवापुस्ता र परिवर्तन चाहने मतदाताको समर्थन बढ्दो क्रममा देखिएको छ । पुराना अनुहार र दोहोरिने नेतृत्वबाट आजित मतदाताका लागि उनी वैकल्पिक र भरोसायोग्य उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् ।
“अब भाषण होइन, कामको राजनीति चाहिन्छ,” विष्ट भन्छन्, “स्थानीय समस्या बुझ्ने र समाधान गर्न सक्ने नेतृत्व आवश्यक छ ।” उनको यो भनाइले मतदातामाझ सकारात्मक सन्देश गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
हेभी वेट उम्मेदवारहरू संसाधन, पहुँच र पुरानो प्रभावका कारण बलिया देखिए पनि जनतासँगको प्रत्यक्ष सम्पर्क, सरल शैली र स्पष्ट दृष्टिकोणका कारण विष्टले प्रतिस्पर्धालाई रोचक बनाइदिएका छन् ।
यस क्षेत्रमा उम्मेदवारी दिएका सबै दलका उम्मेदवारहरू घरदैलो अभियानसहित प्रचारका विभिन्न शैली अपनाउन थालेका छन् । आन्तरिक तयारी सकेर मतदाता भेटघाटमा सक्रिय देखिएका दलहरू जितको रणनीतिसहित चुनावी प्रचारमा व्यस्त छन् ।
मधेशी र मुस्लिम मतदाताको बाहुल्य रहेको यस क्षेत्रमा विगतमा मधेशवादी दलहरूले सफलता हासिल गर्दै आएका थिए । मुस्लिम समुदायबाट चार जना उम्मेदवार रहेकाले मत विभाजन हुने सम्भावना रहेको र त्यसको फाइदा विष्टले उठाउन सक्ने विश्लेषकहरूको आकलन छ ।
अघिल्लो निर्वाचनमा एमाले-राप्रपा गठबन्धनका तर्फबाट डा। धवलशमशेर राणा विजयी भएका थिए । उनले जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरेका थिए । राई यसपटक एमालेबाट उम्मेदवार बनेका छन् ।
बाँके क्षेत्र नं. २ मा कुल १ लाख ८ हजार २९० मतदाता छन् । जसमा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र ६ जना अन्य मतदाता रहेका छन् । यस क्षेत्रमा ४३ मतदानस्थल र १२४ मतदान केन्द्र कायम छन् ।
आगामी निर्वाचनमा दिपेन्द्र विष्टले कति मत तान्न सक्छन् भन्ने चासो बढ्दो छ । तर यति भने निश्चित देखिन्छ – यसपटकको चुनाव केवल हेभी वेट उम्मेदवारहरूको सहज यात्रा हुने छैन, किनकि मैदानमा कडा चुनौती दिन सक्ने उम्मेदवारका रूपमा दिपेन्द्र विष्ट उभिइसकेका छन् ।
२३ माघ २०८२, बिहीबार १८:०० प्रकाशित