२२ माघ, कोहलपुर । प्रतिनिध सभाको निर्वाचन नजिकिएसँगै तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा चुनावी माहोल तातिएको छ । उम्मेदवार मनोनयन ६ माघदेखि दल र स्वतन्त्र उम्मेदवार मतदातासँग प्रत्यक्ष भेटघाटमा छन् । चुनावी नतिजा पोल्टामा पार्न दलहरू घरदैलोसँगै सामाजिक सञ्जालमार्फत अभियान मतदातामाझ पुर्याउन व्यस्त छन् ।
पहिलो चरणमा घरदैलो गरिरहेका उम्मेदवारले आफ्ना एजेन्डा राख्ने र मतदाताका कुरा सुन्ने तथा मतदातासँग अन्तक्रिया गरिरहेका छन् । अघिल्लो निर्वाचनको विरासत कायम राख्न र भत्काउने दलहरूबिच रस्साकस्सी चलेको छ । दलहरू आन्तरिक योजना सकेर आफ्नो पकड कायमै राख्ने प्रयासमा लागेका छन् । बाँकेमा ५६ उम्मेदवार चुनावी मैदानमा छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१ मा अधिकांश पुराना अनुहार
नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका समेटिएको बाँके १ मा अधिकांश पुराना अनुहार प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेस, एमाले, नेकपा, रास्वपा र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच प्रतिस्पर्धा हुने देखिन्छ । कोहलपुर र राप्तीसोनारीमा थारू बाहुल्य छ भने नरैनापुर मधेशी र मुस्लिम बाहुल्य पालिका हो । विगतका निर्वाचनमा राप्तीसोनारी र नरैनापुरको मत नै निर्णायक बन्ने गरेको छ ।
अघिल्लो निर्वाचनमा राप्रपासँगको गठबन्धनबाट एमालेका उम्मेदवार सूर्य ढकाल विजयी भएका थिए । उनले माओवादी-कांग्रेस गठबन्धनका उम्मेदवार महेश्वर गहतराजलाई पराजित गरेका थिए । त्यसवेला नागरिक उन्मुक्तिका सुरेशकुमार चौधरी अहिले रास्वपाबाट उम्मेदवार छन् । यो क्षेत्रमा एमालेका ढकाल, कांग्रेसका नारायणप्रसाद गौडेल, रास्वपाका चौधरी, नेकपाका नरेन्द्र पाण्डे (जेम्स), प्रगतिशील लोकतान्त्रिकका कृष्णा केसी, राप्रपाका ऋषिराज देवकोटालगायत १४ उम्मेदवार छन् । यो क्षेत्रमा महिला ६२ हजार ३६८, पुरुष ६२ हजार ३५८ र अन्य तीन गरी एक लाख २४ हजार ७२७ मतदाता छन् ।
२ मा एमाले, कांग्रेस, नेकपा, राप्रपा र रास्वपाबिच प्रतिस्पर्धा
बाँके २ लाई दलहरूले विशेष महत्व दिने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको २१ वटा वडा र डुडुवा गाउँपालिका सम्मिलित क्षेत्र नम्बर २ मा एमाले, कांग्रेस, नेकपा, राप्रपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । एमालेले जसपाका महासचिवसमेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई उम्मेदवार बनाएपछि यहाँको चुनाव रोमाञ्चक बनेको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहक्षेत्रसमेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालाका भतिजा सुधांशु कोइरालालाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रमा २० जना चुनावी मैदानमा छन् । नेकपाबाट दीपेन्द्र विष्ट चुनावी मैदानमा छन् भने जसपाबाट नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दिन राई चुनावी मैदानमा छन् । रासवपाबाट विवेककुमार श्रेष्ठ उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवारी दिएकाहरू घरदैलोसहित प्रचारका विभिन्न शैली अपनाउन थालेका छन् । आन्तरिक योजना र तयारी सकेर मतदाता भेटघाटतिर लागेका छन् । सबै दल जितको योजना बनाएर चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् ।
यो क्षेत्र मधेशी र मुस्लिम मतदाताको बाहुल्य भएकाले विगतमा मधेशवादी दलले जित्दै आएका थिए । मधेशी, हिन्दु र मुस्लिम समुदायको बाहुल्य भएकाले राप्रपाका उम्मेदवार पनि बलियो देखिएका छन् । मुस्लिम समुदायबाट चारजना उम्मेदवार रहेकाले मत बाँडिने हुँदा अन्य दलका उम्मेदवारलाई फाइदा हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा एमाले-राप्रपा गठबन्धनका डा. धवलशमशेर राणा विजयी भएका थिए । उनले जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरेका थिए । राई अहिले एमालेबाट उम्मेदवार छन् ।
२ मा एक लाख आठ हजार २९० मतदाता छन् । जसमा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र ६ जना अन्य हुन् । ४३ मतदानस्थल छन् भने एक सय २४ मतदान केन्द्र कायम छन् ।
३ मा पनि तात्यो चुनावी माहोल
नेपालगन्ज उपमहानगरपालिकाको १६ र १७ वडा तथा खजुरा तथा बैजनाथ गाउँपालिका रहेको बाँके ३ मा पनि चुनावी माहोल तातिएको छ । यो क्षेत्रमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच प्रतिस्पर्धा हुने देखिन्छ ।
यस क्षेत्रबाट उम्मेदवारी दिएका कांग्रेसका अम्मरबहादुर पुन रोल्पा र रास्वपाका खगेन्द्र सुनार दैलेखका हुन् । एमालेका सुमन मल्ल, नेपाली कम्युनिस्ट पार्टीका दीपक जिएम, राप्रपाका तारकसिंह थारूलगायत प्रतिस्पर्धामा छन् । यहाँ दलित मतदाताको संख्या उल्लेख्य छ । अघिल्लो निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका किशोरसिंह राठौर विजयी भएका थिए । अहिले उनी बर्दियाबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा २२ जना उम्मेदवार छन् । एक लाख १७ हजार ३५४ मतदाता छन् ।
५२ पुरुष र चार महिला प्रतिस्पर्धामा
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा चार महिलासहित ५६ जना प्रतिस्पर्धामा छन् । बाँके १ प्रगतिशील लोकतान्त्रिकबाट कृष्णा केसी तथा ३ मा आम जनताबाट विद्या शर्मा, नेमकिपाबाट भूमि महतरा र स्वतन्त्र उम्मेदवार भगवती शाह चुनावी मैदानमा छन् । केसी ०७९ को निर्वाचनमा माओवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिकबाट चुनावी मैदानमा होमिएकी हुन् ।
बाँके ३ की उम्मेदवार विद्या शर्मा नेपालगन्ज उपमहानगरपालिका-१६ जैसपुरकी हुन् । उनी स्थानीयस्तरमा सामाजिक कार्यमा सक्रिय छिन् । जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पुर्याउन उम्मेदवारी दिएको उनले बताइन् । खजुुरा गाउँपालिका-३ सिर्जना टोलकी भूमि महतरा नेमकिपाबाट चुनावी प्रतिस्पर्धामा छिन् । भगवती शाहले बाँके ३ मा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
२३ माघ २०८२, बिहीबार १४:५६ प्रकाशित