१६ चैत्र २०८०, शुक्रबार
भारतको दिल्लीबाट १६ नेपाली महिलाको उद्दार
  • काँचुली खबर

अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ ।
उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेख लगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला आयोगको सक्रियतामा दिल्लीबाट ७३ नेपाली महिलाको उद्धार गरि नेपाल फर्काइएको छ ।
भारतीय बाटो हुँदै अवैध रुपमा खाडीमुलक जान लागेको गोप्य सूचनाको आधारमा नेपाली राजदूताबासको समन्वयमा दिल्ली महिला आयोग, दिल्ली र बनारस प्रहरी तथा रेस्क्यू फाउन्डेशनले ति महिलाको उद्धार गरेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनका अनुसार, खाडीमुलुक जान लागेका नेपाली महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएका महिलालार्ई माइती नेपालको टोलीले नेपालगन्ज ल्याएको हो । साविक मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगन्जमा राखिएको छ भने, अन्य क्षेत्रका महिलालाई नजिकको माइती नेपालमा पठाइएको कोइरालाले बताए ।
उनले उद्धार दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापा लगायत जिल्लाका महिला रहेको जानकारी दिए । नेपालगन्ज नजिकका महिलालाई यहिँ राखेर परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको कोइरालाले बताए ।
‘उद्धार गरि दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने । कतिपय महिलाका परिवार नेपालगन्ज आइसकेको र केहि बाटोमा भएको उनले स्पष्ट पारे ।
भारतबाट ल्याइएका महिलाले आफूहरु स्वच्छिक रुपमा भारत हुँदै खाडीमुलुक जान लागेको माइती नेपाल समक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडीमुलुक जान सरकारले प्रतिवन्ध लगाएपछि आफूहरु भारत भएर खाडीमुलुक जान लागेको प्रतिक्रिया दिएका छन् ।

  • २३ श्रावण २०७५, बुधबार २१:५२ प्रकाशित
  • Nabintech