२५ असोज, काठमाण्डौं । आईसीसी टी-२० विश्वकपका लागि जारी एसिया-प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा समूह चरणको खेल सकिएको छ । समूह चरण पार गर्दै ‘सुपर-६’ मा पुग्ने ६ वटै टोलीको टुङ्गो लागिसकेको छ ।
समूह चरणको खेल सकिँदासम्म नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र आयोजक ओमान सबैभन्दा बलियो टोलीका रूपमा देखिएका छन् । यी तीनवटै टोली आ-आफ्नो समूहको सबै खेल जितेर विजेता बन्दै ‘सुपर-६’ मा पुगेका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
समूह ‘ए’ बाट यूएई चार अंकसहित पहिलो र कतार दुई अंकसहित दोस्रो हुँदै ‘सुपर-६’ मा पुगेका हुन् । उक्त समूहबाट मलेसिया भने बाहिरिन पुग्यो । मलेसियाले दुवै खेलमा हार ब्यहोर्यो ।
यसैगरी, समूह ‘बी’ मा नेपाल चार अंकसहित पहिलो र जापान दुई अंकसहित दोस्रो हुँदै ‘सुपर-६’ मा पुगे । दुवै खेलमा पराजित भएको कुवेत समूह चरणबाटै बाहिरियो ।
नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनको फराकिलो अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्यो । समूह उपविजेता बने पनि जापान निकै बलियो टोलीका रूपमा देखिएको छ ।
जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई पाँच विकेटले हराएको थियो । उक्त खेलमा कुवेतले दिएको एक सय ७८ रनको लक्ष्य जापानले १९.३ ओभरमै केवल पाँच विकेट गुमाएर पूरा गरेको थियो । नेपालविरुद्ध पनि जापानले अब्बल प्रदर्शन गरेको थियो ।
नेपालविरुद्धको खेलमा पहिले ब्याटिङ गरेको जापानले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले जीतसम्म पुग्न १८ ओभरसम्म संघर्ष गर्नु परेको थियो र पाँच विकेट पनि गुमाएको थियो ।
यो प्रदर्शनले जापानलाई बलियो प्रतिद्वन्द्वीका रुपमा उभ्याएको छ । नेपालले भने ‘सुपर-६’ चरणको खेलमा अब जापानसँग खेल्नु पर्ने छैन । एउटै समूहबाट आएका दुई टोलीबीच ‘सुपर-६’ चरणमा भिडन्त हुने छैन ।
समूह ‘सी’ बाट आयोजक ओमान दुवै खेल जित्दै चार अंकसहित पहिलो र सामोआ दुई अंकसहित दोस्रो हुँदै प्रतियोगिताको ‘सुपर-६’ चरणमा पुगेका हुन् । दुईवटै खेलमा पराजित भएको पपुवान्यूगिनी (पीएनजी) भने उपाधि होडबाट बाहिरिएको छ । पीएनजी यसअघि विश्वकप खेलिसकेको टोली हो ।
‘सुपर-६’ चरणमा टोलीहरूको अवस्था
प्रतियोगिताको ‘सुपर-६’ चरणमा पुग्ने तीनवटा टोली (समूह विजेताहरू)ले आफूसँग दुईरदुई अंक र नेट रन रेट पनि लिएर आएका छन् । त्यसैले नेपाल, यूएई र ओमानका लागि ‘सुपर-६’ चरणमा यो दुई अंक र नेट रन रेट महत्त्वपूर्ण साबित हुनसक्छ ।
आयोजक ओमान सबैभन्दा राम्रो नेट रन रेटसहित ‘सुपर-६’ चरणमा पुगेको छ । ओमानको नेट रन रेट १.०४७ रहेको छ । त्यसैले ओमान ‘सुपर-६’ चरणको पहिलो स्थानमा छ । ‘सुपर-६’ चरणको दोस्रो स्थानमा आसीन नेपालको नेट रन रेट ०.७८३ रहेको छ ।
यसैगरी, यूएई तेस्रो स्थानमा छ । यूएईको नेट रन रेट ०.५३२ रहेको छ । ‘सुपर-६’ चरणमा तालिकाको चौथो स्थानमा आसीन कतार, पाँचौं स्थानमा आसीन जापान र छैटौं स्थानमा आसीन सामोआ भने अंकविहिन अवस्थामा छन् । यी तीनवटै टोलीका लागि ‘सुपर-६’ चरणमा यो कमजोर पक्ष हो ।
‘सुपर-६’ चरणको खेल तालिका
‘सुपर-६’ चरणको पहिलो खेल आइतबार ओमान र कतारबीच हुनेछ । उक्त खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ । दोस्रो खेल पनि आइतबार नै नेपाल र यूएईबीच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार १६:१५ बजे शुरू हुनेछ ।
‘सुपर-६’ चरणको तेस्रो खेल पनि आइतबार नै खेलिने छ । तेस्रो खेलमा जापानले सामोआको सामना गर्नेछ । जापान र सामोआबीचको खेल नेपाली समयअनुसार राति २०:४५ बजे शुरू हुनेछ ।
यसैगरी, सोमबारको पहिलो खेल ओमान र यूएईबीच खेलिने छ । उक्त खेल १६:१५ बजे शुरू हुनेछ । सोमबारको दोस्रो खेल नेपाल र कतारबीच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, राति २०:४५ बजे शुरू हुनेछ ।
मंगलबार कुनै खेल राखिएको छैन ।
त्यसपछि बुधबार (असोज २९ गते) पहिलो खेल जापान र कतारबीच, दोस्रो खेल सामोआ र यूएईबीच तथा तेस्रो खेल नेपाल र ओमानबीच खेलिने छ । नेपाल र ओमानबीचको यो खेल पनि राति २०:४५ बजे शुरू हुनेछ ।
यसैगरी, असोज ३० गते (बिहीबार) दुई खेल खेलिने छ । बिहीबारको पहिलो खेल जापान र यूएईबीच तथा दोस्रो खेल कतार र सामोआबीच हुनेछ ।
यसैगरी, असोज ३१ गते (शुक्रबार) पनि दुई खेल हुनेछन् । शुक्रबारको पहिलो खेल ओमान र जापान तथा दोस्रो खेल नेपाल र सामोआबीच खेलिने छ । नेपाल र सामोआबीचको खेल नेपाली समय अनुसार १६:१५ बजे शुरू हुनेछ ।
‘सुपर-६’ चरणको समाप्तिपछि अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने टोलीले आगामी आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । तालिकाको चौथोदेखि छैटौं स्थानमा रहने टोलीको भने विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।
‘सुपर-६’ चरणमा पुग्ने टोलीहरूको वरीयता
विश्वकप छनोटको ‘सुपर-६’ चरणमा पुग्ने ६ टोलीमध्ये अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा संयुक्त अरब इमिरेट्स (यूएई) सबैभन्दा अगाडि छ । आईसीसी वरीयतामा यूएई १५औं स्थानमा रहेको छ ।
यसैगरी, नेपाल वरीयताको दोस्रो स्थानमा आसीन छ । पछिल्लो वरीयतामा नेपाल १८औं स्थानमा छ । आयोजक ओमान २०औं वरीयतामा छ । कतार ३०औं स्थानमा छ । जापान भने ४४औं वरीयतामा आसीन छ । सामोआ ६९औं वरीयतामा छ ।
‘सुपर-६’ चरणमा पुग्ने टोलीहरूको विश्वकप अनुभव
जारी छनोट प्रतियोगिताको ‘सुपर-६’ चरणमा पुग्ने ६ मध्ये तीन टोलीले मात्र यसअघि टी-२० विश्वकप खेलेका छन् । ओमानले हालसम्म तीनपटक टी-२० विश्वकप खेलेको छ । ओमानले सन् २०१६, सन् २०२१ र सन् २०२४ मा टी-२० विश्वकप खेलेको थियो ।
यसैगरी, नेपालले पनि यसअघि दुईपटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सन् २०१४ मा पहिलो र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको हो । त्यसैले यसपटक नेपाली टोली तेस्रो पटक टी-२० विश्वकप खेल्ने अभियानमा छ ।
यसैगरी, यूएईले पनि हालसम्म दुईपटक टी-२० विश्वकप खेलेको थियो । यूएईले नेपालसँगै सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसपछि यूएईले सन् २०२२ मा दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाएको थियो ।
‘सुपर-६’ चरणमा पुगेका बाँकी तीन टोली कतार, सामोआ र जापानले भने हालसम्म टी-२० विश्वकप खेल्ने अवसर पाएका छैनन् । त्यसैले यी तीनवटै राष्ट्र पहिलो पटक टी-२० विश्वकपमा छनोट हुने अभियानमा छन् ।
टी-२० विश्वकपको १०औं सँस्करण
आईसीसी टी-२० विश्वकपको १०औं सँस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहने छ ।
आगामी विश्वकपमा सहभागी हुने १७ टोलीको टुंगो यसअघि नै लागिसकेको छ । बाँकी तीन टोलीको टुंगो एसिया-प्रशान्त क्षेत्रस्तरीय अन्तिम चरणको छनोट प्रतियोगितापछि लाग्नेछ ।
भारत र श्रीलंकाले आयोजकका रूपमा आगामी विश्वकप खेल्नेछन् । अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपको वरीयताका आधारमा आगामी विश्वकपमा छनोट भएका हुन् ।
यसैगरी, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले आईसीसी टी-२० वरीयताका आधारमा आगामी विश्वकपमा स्थान पक्का गरेका हुन् । क्यानडा अमेरिकी क्षेत्रीबाट छनोट चरण पार गर्दै आगामी विश्वकपमा उपस्थित भएको हो ।
यसैगरी, इटाली र नेदरल्यान्ड्स युरोपेली क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा पुगेका हुन् । नामिबिया र जिम्बाब्वे भने अफ्रिकी महादेशबाट आगामी विश्वकपमा छनोट भएका हुन् ।
२५ आश्विन २०८२, शनिबार १५:३० प्रकाशित