१४ बैशाख २०८१, शुक्रबार
खतरा बन्दै सिक्टा !
  • काँचुली खबर

राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि परियोजनाको गुणस्तरीयता माथी प्रशच चिन्ह खडा भएको छ । परीक्षण गर्ने क्रममा दुई वर्षअघि बाँके ढकेरीस्थित झिझरी खोला छेउमा भत्किएको मूल नहरलाई त्यतिबेला आयोजना कार्यालय र ठेकेदारले हतारमा मर्मत गरे । दुई वर्षपछि पुन सिक्टाले नहर परीक्षण गर्न खोज्दा गत साता ढकेरीस्थित चंगाई नालाछेउको नहर भत्कियो ।

भत्केको नहरलाई आयोजना कार्यालयले यसपटक पनि हतारमा मर्मत गरिसकेको छ । तर, भत्केको स्थानबाहेक अन्य ठाउँको अवस्थाबारे आयोजना सम्बद्ध अधिकारीले चासो दिएका छैनन् । पश्चिम मूल नहरअन्तर्गत १७.७ देखि ३५ किमिको बीचमा पर्ने नहरका अधिकांश ठाउँमा भत्किने अवस्थामा पुगेको छ । नहरछेउमा रहेको माटो बगेर ठुला–ठुला भ्वाङ परेका छन् भने स्लोप चर्किएका छन् । राप्तीसोनारी-९ ढकेरीका स्थानीय श्रीधर उपाध्यायले कमजोर संरचनाका कारण मूल नहरको धेरै ठाउँ भत्किने अवस्थामा पुगेको बताए । नेपाली काँग्रेसका स्थानिय नेता समेत रहेका उपाध्यायले परियोजनाको जिम्मा लिएको कालिका कन्ट्रक्सनका कारण जोखिम बढेको जिकिर गरे । ‘पेटी ठेकेदारहरुले गुणस्तरहिन काम गरेका कारण नहरका अधिकाशं संरचना कमजोर बनेका छन’ उपाध्यायले भने, ‘कालिकाले आफै काम नगरी पेटी ठेक्का दिएकै कारण यस्तो अवस्था सृजना भएको हो ।

’नहर निर्माण गर्ने क्रममा माटो परिक्षण नगरिएको स्थानियहरुको आरोप छ । हल्का पानीले समेत सहजै बगेर जाने माटो भएको क्षेत्रबाट नहर निर्माण गरिएकाले नहर फुट्ने समस्या देखिएको स्थानिय बसन्त वलीले दाबी गरे । पुर्व निर्धारित क्षेत्रभन्दा अनेत्रैबाट नहर खनिएको र त्यहाँको माटोको परिक्षण समेत नगरिएको वलीले बताए । घुलनशील माटोका कारण नहर कटान हुने क्रम बढ्दै गएपछि ढकेरीवासीहरु जोखिममा परेका छन । परिक्षणकै क्रममा मुख्य नहर फुटेपछि स्थानियहरु भयविद भएका हुन । आयोजनाले सम्पन्न गर्ने कुल ४५.२५० किमि पश्चिम (दायाँ) मूल नहरमध्ये १७.७ किमिदेखि ३५ किमिसम्मको दोस्रो खण्ड समस्याग्रस्त अवस्थामा छ । सिटिसी कालिका जेभीले निर्माण गरेको ‘आइसिबी-टुु’ ठेक्काअन्तर्गत १७.७ देखि ३५ किमिसम्मको करिब १४ किमि क्षेत्रसम्म घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएको सम्बद्ध इन्जिनियर बताउँछन् ।

२०६३ सालमा निर्माण सुरु भएको आयोजनामा हालसम्म १४ अर्ब ७० करोड रकम खर्च भइसकेको छ । आयोजनाको पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमि पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ ।

  • २२ श्रावण २०७५, मंगलवार ११:५३ प्रकाशित
  • Nabintech