काठमाडौंकी शाहजादी, नेपालगन्जका जान-ए-मन
  • भवानी राणा

प्रिय राजा !

हाम्रो प्रेमको यादमा डुबिरहँदा लाग्छ, यो मन कर्नाली नदीजस्तै रैछ- निरन्तर बगिरहने । हाम्रो प्रेम-नदीको धार काठमाडौं, नेपालगन्ज र लखनउ हुँदै बगेको थियो । तिमी र मबीचको प्रेम यिनै तीन सहरका सम्झनाहरूमा धड्किरहन्छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मेरा आँखामा त्यतिबेलाका रोमाञ्चक दृश्य आज पनि ताजै छन् । म र तिमी (अशितशमशेर राणा – हामी एकअर्कालाई लभ/राजा भनेर सम्बोधन गर्छौं) बीचको प्रेम सम्बन्ध सम्झिँदा ती पुराना दिन मनको पर्दामा चित्रझैं उत्रिन्छन् । लाग्छ, प्रेमको अधिकतम उपयोग गर्नेमा हाम्रो पुस्ता नै भाग्यमानी थियो, जहाँ सँगै बसेर कुराकानी मात्रै हुँदैनथे । मनको मुटुसँग, मुटुको हृदयसँग संवाद हुन्थ्यो । अहिले जस्तो ‘आज-भेट, भोलि-डेट’ हुँदैनथ्यो ।

जाउलाखेलको सेन्ट मेरिज स्कुलबाट जब मैले १६ वर्षको उमेरमा २०४२ सालताका एसएलसी सकें, त्यो बेला उच्च शिक्षाका लागि काठमाडौंमा सरकारी कलेज मात्रै थिए । अहिलेजस्तो निजी कलेज थिएन । त्यसताका सम्भ्रान्त परिवारका छोरीहरू उच्च शिक्षा पढ्न भारतको लखनउस्थित दक्षिण एसियाकै पहिलो क्रिश्चियन महिला क्याम्पस इसाबेला थोबर्न (आईटी) कलेज जान्थे ।

लखनउ जाने रुट थियो, काठमाडौंबाट सिधा हवाईमार्ग भएर नेपालगन्ज हुँदै वा नाइट बस चढेर नेपालगन्ज हुँदै । उडेर जान नेपाल वायुसेवा निगमको फुच्चे ट्वीनअटरको टिकट पाइँदैनथ्यो । निगमबाहेक निजी वायुसेवा थिएनन् । नेपाली समाज त्यसबेला अहिलेझैं खुला थिएन । त्यस समय छोरीहरूका लागि घर छाडेर भारतमा पढ्न जानु अर्को ठूलो पर्वत उक्लिनुसरह थियो । काठमाडौंदेखि लखनउसम्मको हाम्रो यात्रा, त्यस समयको साहस-धैर्यको प्रतीक थियो ।

लखनउ जाँदा एक रात नेपालगन्ज बास बस्नैपर्थ्यो – जाँदा होस् वा फर्किंदा । नेपालगन्जमा बास बस्न होटल स्नेह एकमात्रै सुरक्षित आश्रयस्थल थियो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिमलाई बाँकी नेपालसँग जोड्न कर्णाली नदीमा पुल बनाइरहेका जापानी तथा अमेरिकी इन्जिनियर, प्राविधिक बास बस्न त्यही होटल आइपुग्थे । पछि हामी काठमाडौंबाट लखनउ ओहोरदोहोर गर्ने ८/१० जना केटी साथी त्यहीं बास बस्थ्यौं । अहिले जस्तो डिलक्स बसको जमाना कहाँ पो थियो र । लोकल बसमा आधा ढाड मात्रै अढेस लगाउन सकिने पातलो सिट राखिएका नाइट बस हुन्थे । तर पनि मुग्लिन, नारायगढ, बुटवल हुँदै ५ सयभन्दा बढी किलोमिटर लामो सडकको १०-१२ घण्टाको यात्रा रमाइलै मानेर नेपालगन्ज उत्रिन्थ्यौं । चाडपर्व, जाडोरगर्मी बिदामा काठमाडौं-लखनउ ओहोरदोहोर गर्ने यही एक मात्रै बाटो थियो । सवारीसाधनमा टाँगा, रिक्सा, लोकल जिप, बस हाम्रा वाहन थिए ।

प्रिय राजा,

म सम्झिन्छु, नेपालगन्जको त्यो होटल स्नेह तिम्रा बुबा पृथुशमशेर राणाले सञ्चालन गर्नुभएको थियो । आफ्नै भाइभारदारबाट देश निकालामा परेका पूर्वराणा प्रधानमन्त्री देवशमशेर राणाको परिवारसँग तिम्रो नाता सम्बन्धबारे म जानकारै थिएँ । तिमी जिजुब्बुा देवशमशेरको परिवारसँगै बसेर मसुरीरदेहरादुनमा पढ्थ्यौ, त्यहीं हुर्कियौ ।

बुबाको जग्गाजमिनकै कारण बर्दिया र नेपालगन्जमा मात्रै होइन, काठमाडौंमा पनि ओहोरदोहोर भइरहन्थ्यो तिम्रो । मेरा बुबा मनमोहन मिश्र र तिम्रो बुबा पृथुशमशेर राणा नजिककै साथी पनि हुनुहुन्थ्यो । प्रजा परिषद्मा पनि साथसाथै हुनुहुन्थ्यो । पञ्चायतमा अञ्चलाधीशको भूमिकामा मेरा बुबा बाँके बस्दा म पनि बुबासँग नेपालगन्जको तिम्रो परिवारकहाँ गएको याद छ ।

त्यहाँ मात्रै होइन, काठमाडौंमा पनि हाम्रो मिश्र परिवार र राणा परिवारबीच पारिवारिक नाता सम्बन्धका कारण बेला-बेला पारिवारिक भेटघाट हुन्थ्यो नै । काठमाडौं-लखनउ ओहोरदोहोर गर्दा तिमीलाई म नेपालगन्जमा देखिरहन्थें । त्यसअघि पनि काठमाडौंमा पारिवारिक नाता सम्बन्धमार्फत पातलो भेटघाट भएको सम्झना छ । तर, ती भेट केवल चिनजानमै सीमित थिए । प्रेमको रंग भर्न सकिएको थिएन । अर्थात् तिमी नै मेरो भावी प्रेमी हुँदै श्रीमान् बनौला भन्ने मनको कुनै पनि कुनामा थिएन ।

०४२ सालमा एसएलसी सकिसकेपछि लखनउबाट राजनीतिशास्त्रमा मैले इन्टरमिडियट र बीए पास गरें । त्यसपछि एकवर्षे फेसन डिजाइनिङ कोर्स पढ्न दिल्ली गएँ । २०४७ सालमा दिल्लीको पढाइ सकिएपछि मैले त्यसै वर्ष काठमाडौंस्थित अमेरिकी दूतावासमा प्रोटोकल अफिसर तथा वुमेन राइट स्पेसलिस्टको भूमिकामा जागिर सुरु गरें । त्यसबेला अमेरिकी दूतावासमा चिनियाँ अमेरिकी व्यवसायी तथा कूटनीतिज्ञ जुलिया चाङ ब्लक राजदूत थिइन् । प्रजातन्त्रको उदय भएको त्यो समयमा विभिन्न व्यक्ति भेट्न म काठमाडौं बाहिर दूतावासका अधिकारीसँग बेला बेला गइरहनुपर्थ्यो ।

अमेरिकी दूतावासमा काम सुरु भएपछिका ती दिनहरूमा म बेलाबेला काठमाडौं बाहिर दूतावासका कर्मचारीसँग भ्रमणका लागि निस्किन्थें । ती यात्रा विशेष हुन्थे । तर, नेपालगन्जको त्यो एउटा यात्रा, अहिलेसम्मकै विशेष र अविस्मरणीय लाग्छ । अर्थात् मेरो जीवनकै ‘टर्निङ प्वाइन्ट’ भइदियो ।

०४८ सालतिरको कुरा हो । केही दिनको बसाइका लागि होटल स्नेहमा कोठा बुकिङ गरिसकेकी थिएँ । त्यहाँ दूतावासको कार्यक्रम थियो । तिमीले मलाई एउटा सरप्राइज दियौ । नेपालगन्ज ओर्लिएको त्यो दिन अहिले पनि एक काल्पनिक परिकथा जस्तो लाग्छ ।

होटल स्नेहको कोठामा प्रवेश गर्दा, फूलैफूलले मलाई स्वागत गर्‍यौ । फूलको मगमग सुवासले मेरो मन नाच्न थाल्यो । म कोठाभित्र उभिएँ । प्रत्येक फूलले मलाई तिम्रो उपस्थितिको सम्झना गराइरह्यो । मेरो धड्कनको गति बढ्यो । मेरा लागि बुक भएको कोठा रंगीचंगी फूलहरूले सजाएकाले म सरप्राइज भएँ । फूलको सुवासले मेरो मन छोयो । ढोकामा फूलैफूलले ‘भवानी स्वागत छ तिमीलाई’ लेखिएको थियो । तर, तिमी त्यसबेला मसुरी गएका थियौ । तिमीलाई नदेख्दा म दुःखी भएँ । मेरा आँखाले तिमीलाई नै खोजी रह्यो । तर, देखिएनौ । तर, तिमी मसुरीबाट टुप्लुक्क आइपुग्यौ, अनि मुस्कानका साथ होटलमा प्रवेश गर्‍यौ । अझै पनि तिम्रो त्यसबेलाको अनुहार सम्झिन्छु । त्यस साँझसँगै डिनर खायौं । त्यो पलले हामीलाई धेरै नजिक ल्यायो, प्यास र पानीको साक्षात्कार जस्तो ।

नेपालगन्जको काम सकिएपछि म काठमाडौं फर्किएँ । तर, तिम्रो अनुपस्थिति महसुस हुन थाल्यो । एक्लै जीवन नै अधुरो लाग्न थाल्यो । एकअर्काबिना पूर्ण हुन नसक्ने भयौं । हरेक दिन हावा, घाम, पानी सबैमा तिम्रै याद आइरहन थाल्यो । तिमीलाई पनि मबिना छटपटी हुन थाल्यो । हाम्रो प्रेमको सम्पर्क केवल टेलिफोनको एसडीटी कलमा सीमित थियो । रातभरि फोनमा बिताएका ती पलहरूको याद आउँछ । महिनाको बिल नै २०-२५ हजारसम्म आउँथ्यो । त्यो मूल्यको कुरा मात्रै थिएन । फोनबाट हुने हरेक सेकेन्ड आत्माले संवाद गर्थे । हृदयको धड्कन अनि एकअर्काप्रतिको अपरम्पार चाहनाको प्रतीक त्यो संवाद थियो । बिहान ८ बजे पानीपोखरीस्थित दूतावासमा पुग्नैपर्ने मेरो जागिरको बाध्यता हुँदाहुँदै पनि म रातभर जागेर तिमीसँग फोनमा हुन्थें । जहाँ हामी एकअर्कासँगका थुप्रै सपना साझा गर्थ्यौं ।

नेपालगन्ज र काठमाडौंबीचको दूरी त केही सय किलोमिटर मात्रै थियो । तर, आँखासामु नदेख्दा त्यो दूरी पनि हजारौं माइल पर लाग्थ्यो । हाम्रो प्रेमलाई अझ गहिरो, अझ अमूल्य बनाउन त्यसपछि तिमी नेपालगन्जबाट जहाज चढेर काठमाडौं आउन थाल्यौ । वर्षमा वा महिनामा वा हप्तामा होइन, प्रायः सातामा २/३ दिन काठमाडौंमै हुन्थ्यौ । तिमी आउने दिन म कस्तो ड्रेस लगाउने, साथीहरूसँग सल्लाह माग्थें । पटक पटक ‘कस्तो देखिन्छु होला  ?’ भनेर ऐनामा हेर्थें, पोसाक बदल्थें ।

पानीपोखरीको अमेरिकी दूतावासनजिकै एउटा चाइनिज रेस्टुरेन्ट थियो । त्यसबेला तिमी लन्च ब्रेकमा मलाई लिन दूतावासअघि मोटर लिएर आइपुग्थ्यौ । खाजा खाने, हाँस्ने, रमाइलो गर्ने स्पट थियो त्यो ।

ती क्षणहरू सम्झिँदा पनि मन आनन्दित हुन्छ । ठमेलको रम डुडल रेस्टुरेन्ट हाम्रो अर्को ‘डेस्टिनेसन’ थियो । त्यहाँ धेरै चर्चित पर्वतारोहीले आफ्नो अटोग्राफ हस्ताक्षर भित्ताभरि छाडेका थिए । विदेशी पर्यटकहरूको चहलपहल, अंग्रेजी गीतको धुनले हाम्रा भेटहरूलाई थप रोमाञ्चक बनाउँथ्यो । त्यो ठाउँ केवल खानाका लागि नभएर मनका स-साना खुसी र हाँसोका पलहरूका लागि पनि आदर्श गन्तव्य बनेको थियो ।

४० को दशकको अन्त्यतिरको काठमाडौं पुरानै शैलीमा रमाइरहेको थियो । न्युरोडको विशालबजारमा एउटा आकर्षक गिफ्ट सप थियो भुइँतलामा । त्यही पसलबाट तिम्रा लागि माछा मार्ने फिसिङ रड, कालो चस्मा उपहार नेपालगन्ज पठाइरहन्थें । तिमी माछा मार्न कर्णाली गइरहन्थ्यौ नि । तिमी पनि कतै घुम्न गएका बेला लुगा, म्युजिक प्लेयर, चकलेट आदि उपहार किनेर पठाइरहन्थ्यौ । हाम्रा लागि उपहार त प्रेम आदानप्रदान भाषा नै थियो ।

अहिलेका जोडी प्रेमलाई प्रायः सामान्य भावना मान्छन् । तर, जीवनमा त्यसले बनाउने प्रभाव गहिरो हुनेरहेछ । हाम्रो प्रेम केवल व्यक्तिगत आकर्षण र रोमान्समा सीमित रहेन । ७०-८० को दशकको नेपाली समाज, भारतसँगको शैक्षिक-सांस्कृतिक सम्पर्क, काठमाडौंको बदलिँदो जीवनशैली, परिवारको सोच र बिस्तारै आकार लिँदै गरेको आधुनिकताको प्रतिबिम्बहरूको ‘ब्लेन्ड’ थियो, हाम्रो सम्बन्ध ।

राजासँग म चार वर्ष प्रेम सम्बन्धमा रहें । इंगेजमेन्ट भएको एक वर्षपछि २०५२ सालमा बिहे भयो । काठमाडौंमा भएको वैवाहिक कार्यक्रम तीन दिनसम्म चलेको थियो । थापाथलीको ब्लुबर्ड होटलमा रिसेप्सन भएको थियो । बिहेपछि म नेपालगन्ज गएँ । कलेज जीवन बिताएकाले त्यसपछि हरेक वर्ष बिदामा लखनउ पुग्न थाल्यौं । त्यहाँका गुलाटी कबाब, अमिनाबादको चिकेन बिर्यानी, क्लार्क होटलको बसाइ यात्राहरू केवल खानपान वा मनोरञ्जन थिएनन् । ती थिए– प्रेमलाई जीवित राख्ने संस्कार । हाम्रो समयको प्रेम आजभन्दा बढी भावनात्मक थियो । तिमीले हातले लेखेर दिएको ‘लभलेटर’ केही दिनअघि मात्रै खोलेर तिमीलाई नै सुनाएँ । तिमीले पनि मेरा पुराना सबै तस्बिरलाई डिजिटल डायरी बनाइदिएका छौ । बेला बेला हामी जम्मा भएर ती पुराना दिनलाई टीभीमा हेरेर स्मृतिको सागरमा डुब्छौं ।

मेरो प्रेमकथा केवल एउटा व्यक्तिगत प्रेमयात्रा होइन । ८०-९० को दशकको नेपाली समाज, महिलाको अध्ययन-संघर्ष, भारत-नेपालको सांस्कृतिक सम्बन्ध, फेसन र जीवनशैलीको विकास र परिवारको सोचाइसम्मलाई हाम्रो प्रेमले समेटेको छ । यो त्यो समयको प्रतिबिम्ब हो ।

हाम्रो प्रेम कुनै क्षणिक उत्तेजना मात्र थिएन । यो त एउटा लामो यात्रा थियो । जसले विद्यार्थी जीवनका छोटा भेटघाटदेखि विवाहको प्रतिज्ञासम्म अनि विवाहपछि थप गहिरो र स्थायी रूप पायो । समय बित्दै जाँदा हामीले महसुस गर्‍यौं, प्रेम त उमेरसँगै पुरानो हुँदैन, बरु अझै नयाँ फूलझैं उम्रिरहन्छ । आज हामी अझ गहिरो प्रेममा छौं, जस्तो कि आत्मा-आत्माभित्र विलीन भएको जस्तो ।

अब हाम्रो प्रेम कथा हामीभित्र मात्रै सीमित छैन । छोरा देवांशसँगै हामी विगतका बाटाघाटाहरू पुनः बाचिरहेका छौं । उसलाई हामी देखाइरहेका छौं, बर्दिया निकुञ्जभित्र बिताएका सुनौला साँझ, लखनउका रोमान्टिक गल्ली, नेपालगन्जको आत्मीयता र काठमाडौंको धड्कन । देवांश हाम्रो प्रेमको उपहार हो । उसका आँखामा हामी आफ्ना अधुरो सपना पूरा भएको देख्छौं । प्रेम कहिल्यै पुरानो हुँदैन ।

हाम्रो प्रेम पनि बदलिँदो समयसँगै नयाँ फूलझैं फक्रिने रहेछ ।

– उही तिम्री, लभ

  • १४ भाद्र २०८२, शनिबार १५:२९ प्रकाशित
  • Nabintech