जिन्दगी एउटा दस्तावेज (कविता)
  • भगवती प्रसाद शर्मा

लाग्यो साउन मास रात अनिदो पारेर आमा बसिन्
ऐया भन्नु सिवाय औषधि कुनै छैनन् र दुःखी भइन्
गर्छन् मानिस भित्र बाहिर जहाँ बित्यासमा पर्दछन्
होला सन्च भनौँ कि भन्न नसकी आँखा दुबै गिर्दछन् ।१

कोही होस् उपकार अब्बल दिने उस्तै सबै छन् घर
हुन्थ्यो ज्योतिष वा पुरोहित ठुलो साँचो उही ईश्वर
धामीका उपचार भाकल दुबै आफ्ना यही नै थिए
बर्सेको घनघोर साउन भने हाँसी बसेको थियो ।२

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बेथा झट्ट बढ्यो भनी भगवती सम्झी पुकारा भयो
राम्रो होस् सहजै भनेर शिवजी सम्झी हलेसी गयो
ठूलो शब्द गरेर बग्छ खहरे छैनन् सहारा पनि
सुत्केरी जिउकी अशक्त जननी बाँच्छिन् कि मर्छिन् हुने ।३

तारन्तार व्यथा बढेछ परका आमाहरू आउँछन्
यस्तै हो सबको अशक्त जिउमा भोग्ने त सम्झाउँछन्
ज्वानो झोल पिएर गर्नु बल क्यै ल्याएर दिन्छन् पनि
पीडाले दिनरात दर्द छ ठुलो संकष्ट आमा-जुनी ।४

मैन्हा साउनको झरी सकसको आमा भइन् छट्पटी
आमा बन्न हुँदै हुँदैन सजिलो बेथा बढेको कति
केही औषधि छैन गाउँघरमा त्यस्तो जमाना थियो
यौटै हो भगवान् पुकार अघिको सुन्दा अनौठो छ यो ।५

बाँचेको किन हो भनेर जननी भन्थिन् सराप्थिन् उनी
झ्याप्पै निभ्छ कि झैँ छ जीवन यहाँ गार्‍हो परेको जुनी
के को श्राप परेर हुन्छ महिला भन्ने सबैमा थियो
पूजा भाकलको विकल्प न थियो आस्था र विश्वास यो ।६

रो रो री कुन जन्मिनेछ अबको यो जन्मको बालक
कोरिन्छन् जब कुण्डली पुरुषले काट्छन् तिनैले लख
री री जन्म भयो भने अधर नै पल्टाउने छन् यहाँ
छोरो जन्म हुँदा समाज हँसिलो बन्नेछ स्वार्थी जहाँ ।७

मर्छन् बालख रोगले तर यहाँ स्वास्नी अरू ल्याउँछन्
सौतेनी ग्रह हो भनेर सबले पुष्ट्याइँ प‍ो गर्दछन्
कालो रीति विभेद भित्र महिला आमाहरू पेलिने
को सुन्ला उपदेश आज कविको लाखौं अझै हेपिने ।८

यस्तै मौसम हुन्छ साउन सधैँ बाढी झरी बेस्सरी
यस्तै दुःख भनेर जन्म नहुने को हुन्छ त्यो आखिरी
जन्म्यो बालख कष्टमा कहरमा संसार हेर्ने गरी
आमाको मुखमा प्रसन्न अब भो आँखा खुले सुस्तरी ।९

भित्री घाउ र बाहिरी तरफको सन्चो हुँदैछन् अब
हाँस्यो गाउँ समाज मौसम खुल्यो हाँसे अरे केशव
हाँसो साउन आज खित्खित गरी चौतर्फ हाँसो भयो
पाँचौ गर्भ भएछ सार्थक यहाँ हाँसो सबैमा रह्यो ।१०

हाँसो पञ्च समाज ठालु मुखिया आनन्द आयो अब
माग्यो दूध रुँदै थिएन स्तनमा के गर्नु त्यो गौरव
गाईको दुधले बचाउनु पर्‍यो भन्ने भए बालख
गाई ल्याउन झट्ट मानिस गए ल्याए मिलाए सब ।११

चम्चाको सहयोगबाट शिशुको त्यो पेट भर्दै गए
बाँच्ने आस दह्रो भयो शिशु यहाँ सङ्घर्ष धेरै भए
सानो बालख रोगको घर ठुलो मामा थिए ओखती
पायो जीवन स्वस्थ झन्झट सही बाँच्दै छ यो जिन्दगी ।१२

आमा-बा दुई देवता सरहका छन् सम्झनामा नित
साथीभाइ विशेष खास नहुँदा हुन्छन् निकै संकट
सिक्ने हो गुरुबाट साथ उनकै हुन्छन् हजारौं यहाँ
पाऊँ योग्य सुधी र सज्जनहरू पाइन्छ त्यस्तो कहाँ ।१३

के आरम्भ थियो र मानिस भएँ सम्बन्ध चम्चासित
के प्रारब्ध थियो र जन्मिन पुगेँ भन्दैछु आफैँसित
कस्तो जन्म थियो सुवासित भएँ या उग्र मान्छे भएँ
कस्तो कर्म गरेँ बिभाजित भएँ या धर्म केही गरेँ ।१४

मेरो साथ छ श्रीमती कहरमा आशा जगाई दिने
मेरा सन्तति चार छन् अभरमा आफन्त साथी हुने
उस्तै नाति र नातिनी असल छन् त्यस्तै बुहारी पनि
यस्तो जीवनका हरेक पलमा पढ्दै छु यो जीवनी ।१५

बन्दै शिक्षक जागिरे तलबमा हुन्थेँ त्यहीँ आश्रित
लेखेँ जीवनका कथा रहरका छन् लाख ती संचित
यौटै काम पढाउने गरिबका छोरा र छोरीहरू
भोकै पेट थिए उपाय नहुने सिक्नू न जान्नू अरू ।१६

तातो भात न थालमा छ जहिले बासी ढिंडोको भर
कस्तो जीवन हो र दुःख कति हो नाङ्गै थिए शङ्कर
को देला वर त्यो अघाउनु हुने शिक्षा न घोक्ने सब
लौरा छन् गुरुका न सिक्छ असली को बन्छ त्यो केशव ।१७

बाजी मार्नु थियो हरेक क्षणको जोगी कि भोगी बनूँ
हाँसी मर्नु थियो न ध्यान छ ममा कस्तो म मान्छे भनूँ
साँचो धर्म थियो सनातन यहाँ आयो सबै नक्कली
वैल्यो जीवन ज्ञान भित्र नहुँदा जस्तो झरेको कलि ।१८

मैन्हा बार गते मिनेट र पला आई रहे दैनिक
के हो उत्तम बार तारिख यहाँ के ठीक के बेठिक
एक्लै आयु रहन्न भोग्न कहिल्यै मायाँ अरूमा छरूँ
जाचौँ जाँच्न कठोर जीवन कला के ले म के ले भरूँ ।१९

के यो साथ छ प्राणवायु कहिले जाला निखारी जिउ
हा ! हा !! दैव, भन्यो र सन्तति रुने खायो जुटाई घिउ
के हो रीतिरिवाज भोग्छु अघिको कस्तो अनौठो दिन
दिन्छन् दैनिक सान्त्वना असलले यस्तो छ यो जीवन ।२०

भन्ने जीवन हुन्छ खत्तम यहाँ भन्नै पर्‍यो उत्तम
भोग्ने जीवन हुन्छ उत्तम यहाँ भन्छन् कुनै खत्तम
जोगी, सन्त, महन्त साधु बुध हुन् फस्छन् सबै मोहमा
संसारी सुख भोग्न मोहित हुने हिँड्छन् सधैँ अश्वमा ।२१

हाँसो आँसु खुसी अभिन्न छ यहाँ बाटो उकालो भिर
जस्तै हुन्छ परन्तु हिँड्नु छ अझै भिड्नै छ आफैँ भिड
घुम्तीमा पनि दिक्क मान्नु नहुने हिँड्नै छ हिँड्दै गर
आफ्नै काम रहेर प्रष्ट बुझ यो चाहिन्छ आफ्नै भर ।२२

चक्काजाम हुँदैन हुन्छ कि भन्यो के जिन्दगीको भर
दीयो बर्तनबाट बल्दछ सधैँ त्यो तेलमा निर्भर
खाली सास लिएर जीवन हुने आशा भरोसा दिने
को होला र दिनेश यो हृदयमा आफैँ छु सम्झाउने ।२३

फाट्दैछन् कपडा शरीर लफडा टाल्दैछु केही गरी
फाटेको मन टाल्न काव्य छ सियो-धागो छ राम्रो जडी
मायाँका मुजुरा विशाल मनमा रोप्ने गर्‍यो दैनिक
यो काया भर हुन्न बन्धक सधैँ यो देह हो भौतिक ।२४

मायावी परिवार हो सबजना अल्झिन्छ मायासँगै
मायाको हतियारले सबजना मर्छन् सबैका सबै
छैनन् चित्त सफा भरोस नहुने संसार मायातिर
बाँच्दा चाह बढ्यो हिमाल जसरी मर्ने न टुङ्गो छ र ।२५

यी सांसारिक काम, क्रोध बटुली रोगी बनेको जिउ
हुन्छन् कारण मृत्युको दिनदिनै बढ्ने गरेका बीउ
को हो को म भनेर चिन्तन गर्‍यो जेलिन्छ त्यो बन्धन
आयो मृत्यु समीपमा तर यहाँ रोकिन्न त्यो क्रन्दन ।२६

भाबी लेख्छ निधारभित्र पहिल्यै भन्नेहरू भन्दछन
लेख्नेले कसरी छिरेर पहिले के लेख्न त्यो सक्तछन्
छन् अज्ञान घडा मनुष्यबिच फन्दा परेको यहाँ
यस्तो बन्धक तोड्न जाग्नु छ छिटो जन्मेर हामी नयाँ ।२७

पुर्खाको छ बिँडो भनेर नहुने मिथ्या कुरा फेर्नु छ
मैले मङ्गलमा हिँडेर सहजै मोती हिरा टिप्नु छ
छन् क्षेप्यास्त्र विशेष आधुनिक ती गर्ने म हो क्षेपण
नौलो काम गरेर यो युग बितोस् मेरै गरी सम्झना ।२८

एक्लो सूर्य भएर ज्योति म दिने संसारमा उज्ज्वल
एक्लो चन्द्र भएर तिर्दछु निशा भागोस् अँध्यारो कल
एक्लै हो म त एकलव्य अघिको हुन् द्रोण मेरा गुरु
बाँकी अन्तिम शेष शून्य नहुने मेरो यही हो सुरु ।२९

लाखौं छन् घटना न पढ्छ दुनियाँ लेख्दैछु बासी कुरो
गाली अमृततुल्य छन् गर अझै जाली तिमी माकुरो
पढ्ला कोही कुनै कुनै समयमा साहित्यका सारथि
लेखेका जति छन् छ काव्य रसमा मीठा नलाग्लान् कति ।३०

माथा बञ्जर हुन्छ काम नहुँदा आशा हराएपछि
साथी अत्तर दल्छ चन्दन भई पैसा कमाएपछि
हाँस्छन् माथि पुगेर ढाडस दिई अड्डा जमाएपछि
पैसा दौलथ काल हुन् जहर हुन् सद्बुद्धि आएपछि ।३१

कालीदास भएँ र छन्द सँगको आवाज बोल्ने भएँ
सिक्छू होमरबाट जीवन कथा यै छन्द लेख्दो भएँ
मुठ्ठी खोल्नु भने सिकन्दर गए यो सत्य सम्झाउन
अर्काको उपकार गर्नु असली हो धर्म द्वैपायन ।३२

पुर्खाको बलले उठाउन सकेँ अस्तित्व आफ्नो जति
पुर्खाकै करले र जोड बलले बेहोर्छु धेरै खती
पुड्के बामन बाम अङ्ग बलियो सत्ता बिना बाँच्दछु
ढोका जान्न चहार्न यो मिति बिते हाँसी खुसी बाँच्दछु ।३३

भोगेको जति तथ्य हो जुन थियो मेटेर मेटिन्न त्यो
बोलेको कति झूट हुन्छ नकली फिर्ता कहाँ हुन्छ त्यो
को जन्म्यो कसरी अनेक श्रुतिले साँचो कि झूटो थियो
बाँचेको मिति सत्य हो विगतमा के के भएको थियो ।३४

सोझो बुद्धु म कर्मले म छु अझै छन् धूर्त मान्छे अरू
हिंसामा रत छन् चलाख दुनियाँ लुट्छन् र खान्छन् अरू
यस्तो इज्जत चाहिएन कहिल्यै ढिंडो मीठो मान्दछु।
आफ्नै इज्जतमा म बस्छु जहिल्यै हड्डी म घोट्छू बरु ।३५

आधा बित्दछ जिन्दगी लहडमा उन्मादमा बैंसमा
त्यो चौथाइ उमेर हो सकसका सन्तानको जोडमा
अप्ठ्यारो पछिको उमेर छ बुढो बाँकी छ यो मोडमा
आम्दानी नहुने र दिक्क रहने मात्रै छ यो हालमा ।३६

राखूँ स्वस्थ शरीर भन्दछु निशा साथी भने ठान्दछु
राखूँ इष्ट भन्यो हिसाब सजिलो त्यस्तो कहाँ जान्दछु
एक्लै शून्य मभित्रको क्षितिजमा टाढा न टाढा कता
मेरै भित्र छ कल्पना जगतको उत्साह बोक्ने पट ।३७

त्यस्तैको पटचित्र भित्र रहने छन् चाहना अन्त्यका
साथी हुन्छ गुणी र सज्जन सही भेटूँ यहाँ व्यासमा
बेग्लै मानिसको विचित्र दुनियाँ भेटेर रम्ने म हुँ
दोस्रो तारिफमा तयार नबनोस् तेस्रो म आँखा बनूँ ।३८

हुन्छन् काम सशक्त जाँगर भए अल्छे हुँदा होइन
लाग्दा चित्त विरक्त अन्तिम भए रोगी बन्यो होइन
आफैँ साधक साधना गरिरहे दैवज्ञ बन्ने छ ऊ
मेरै हात हुनेछ हाजिर यहाँ के बन्नु पर्ने छ ऊ ।३९

छाती भित्र घडी छ घुम्छ कसरी को गर्छ संचालन
काँटा फट्फट गर्दछन् समयका कर्तव्यको पालन
लाएका कति साइनो समयमा उड्छन् पखेटा बनी
पाएका मितिसम्म रम्नु छ यहाँ सिद्धिन्छ बाँकी जुनी ।४०

भोगी बन्न सधैँ सधैँ छ सजिलो आनन्द मानी बस्यो
जोगी बन्न समेत हुन्छ सजिलो आफैँ खरानी घस्यो
त्यागी त्याग गरेर बन्छ जहिल्यै आराम त्याग्यो भने
राम्रो बन्न हुँदैन खास सजिलो बन्नेछ कोही अरे ।४१

मिथ्या काम प्रचार हुन्छ अहिले छापेर विज्ञापन
मेरो यो मन नाप्न इञ्जिन छ के, के ले गर्यौ मापन
पूजा मन्दिर भित्र मूर्ति नहुँदा को जान्छ हेर्ने भनी
बत्तीको मुनि अन्धकार जहिल्यै बुझ्दैन बत्ती पनि ।४२

आँखा खोल बिहान भाष्कर उठी संसार हेरूँ सब
मेरा लोचनले सुदूर नभको गर्छन् चहारी अब
मेरो यो मन कल्पनागगनमा यात्रा गरी बस्तछ
यो साकार पार्न स्वप्न अलगै लेख्ने गरी खट्दछ ।४३

यो ब्रह्माण्ड अथाह लाग्छ जहिल्यै नापिन्न केही गरी
यस्तो काम अपाच्य हुन्छ अहिले बुझ्दैन केही हरि
मान्छे यन्त्र विशेषको वश पर्‍यो संधानको त्यो धुरी
मेरा अक्षर शब्दबाट जननी संसार हेर्ने कडी ।४४

सारा दुःख सहेर साथ रहने आमा सबैकी बल
आमा छैन भने रहन्न ममता आफैँ हुने दुर्बल
त्यस्तै बाबु बिना विरासत ढल्यो मेरा उनै हुन् शिर
आमाबा दिलमा हुँदैन जसको मान्छे कहाँ हुन्छ र ।४५

आँखा बन्द गरी म कल्प युगमा सम्झेर बस्ने मुमा
कोठा बन्द गरेर सम्झिन पुग्यो छैनन् उज्याला बुबा
खाली भित्र दिमागले मगजले सम्झ्यो हजारौं पल
आमाबा मुटु हुन् छ रक्त उनकै आत्मीय ठूलो बल ।४६

खोजेँ खोज्नु थियो थिएन मुटुमा हाँसो हरायो गयो
यस्तो हुन्छ थियो थिएन मनमा यी आँसु मात्रै रहे
हाँस्थे हाँस्नुथियो रमाउन थियो मौका मिल्यो अर्थमा
मर्छन् मर्नुथियो मरे तर यहाँ छन् सम्झना गर्तमा ।४७

यौटा अंश म वंशको रहरको लाढे बनी हुर्किएँ
सानो झार समान पात्र म नयाँ छिट्टै बढी फुर्किएँ
धेरै प्यार दिँदा म हौसिन पुगेँ केही नपुग्दो थियो
रित्तो शून्य शरीर मात्र छ यहाँ छैनन् उज्यालो मियो ।४८

भावी लेख्न निधारमा तर कहाँ लेखिस् मलाई भनिस्
मेरो ज्यान बिगार्न त्यो कलम नै मेरो तगारो बनिस्
मेरो स्वस्थ दिमाग पागल हुने त्यस्तो नलेख् बैगुनी
मेरो भित्र हियार फुट्छ दुखमा रुन्छे यहाँ चाँदनी ।४९

धेरै आँसु दिएँ म हुन्छु घटुवा साथी थिए एक्लिए
धेरै मासु हुँदा न खानु भुटुवा के काम यो बिक्छ ए
भागा जोड घटाउ या गुणनले के आउने हो फल
मर्नू भोलि छ ऊ हिसाब नगरी गर्दैछ ऊ तुल्बुल ।५०

चङ्गा ज्यान हुँदा विवेक नहुँदा हाँसो थियो साथमा
आँखा खुल्न गए न मिल्छ रुपियाँ पैसा न छन् हातमा
बूढो ज्यान छ सदैव हाजिर हुने निद्रा हरायो अब
मात्रै साथ छ श्रीमती भर दिने मायाँ दिने केशव ।५१

छैनन् रोग ठुला निरोग म रहूँ बाँची बिनाओखती
इच्छा माफिक होस् भनेँ मरण यो कुर्नू अरूले कति
रुन्छन् आँसु हुने विकार नहुने यो धर्म मान्छेसँग
त्यो बाँकी छ कि छैन खोज विधिमा मान्छे भएकै त्यति ।५२

रुन्चे बन्नु थिएन जीवनभरी हाँसो ठुलोओखती
मानी पीर बसेर मात्र नहुने दिक्दार वैरी अति
मेरो चित्त विशेष संकुचित भै संसार सानो भयो
मेरो बुद्धि सधैँ पलायन भयो भित्री अँध्यारो छ यो ।५३

के ले गर्नु सफा कसिङ्गर बढ्यो आधार गुम्ने छ कि
ऊर्जा भित्र भित्र घटे कचिंगल बढे साथी नराम्रो छ कि
साथी साथ दिने भए यदि भने संसार आफ्नो भयो
साथी छैन भने विचार चिन्तन ढल्यो आफैँ बिरामी भयो ।५४

मेरो धर्मविधानले म शिक्षक भएँ दायित्व पूरा गरेँ
मेरो खास विचार धर्म छ यही आनन्द मानी रहेँ
मेरो ज्ञान थियो थिएन बलियो सिक्दै पढाएँ कति
मेरो सान यही थियो र छ सधैँ जानी बुझेको यति ।५५

कोही हुन्छ सिकारमा रत हुने मान्छे न हो आखिर
कोही धूर्त चलाख छन् मगजका बस्छन् दुलोमा तर
कोही हुन्छ दयालु भित्र मनका संसारका ती शिर
कोही मूर्ख म झैँ छ यो अवनिमा सोझो हदैको घर ।५६

गर्छू काम भनेँ गरेँ सपथ जो गर्ने न छन् साहस
मेरो स्वार्थ थियो गरेँ त्यति कुरा यो छुद्र बानी कस
त्याग्ने हिम्मत होस् भनेर अहिले दावा गरेकोछु त्यो
राम्रो मानिस साथ होस् हरघडी ज्यूँदो रहेको छु त ।५७

मान्छेका व्यवहारबाट म बनूँ अस्तित्व मेरो बँचोस्
मान्छेको इतिहासबाट म सिकूँ संसारमा त्यो जँचोस्
मान्छेका गुण दोष नै गुरु बनून् निष्कर्ष यो सारका
राम्रो काम गरूँ र आचरणले मान्छे बनौँ सारमा ।५८

जन्मेको किन हो र गर्दछु म के खोज्दैछु त्यो कारण
यो मैदान छ खालि खोज नहुने रित्तो छ मेरो मन
काँचो जीवन पाक्नु पर्दछ यहाँ आगो लगाएपछि
पाको जीवन बाँच्न कष्ट छ ठुलो पाक्ला पकाएपछि ।५९

मेरो लाढ पियार मात्र जिउ हो बाँकी सबै अर्थका
मेरो खास विचार चैन सुख हो बाँकी सबै स्वार्थका
पत्नी सन्तति हुन् उमेर भरको दिन्छन् सधैँ सान्त्वना
बाँचुन्जेल सबै सबै वरिपरि को हुन्छ त्यो अन्त्यमा ।६०

भन्छन् आयु पुग्यो गयो तर कता बैकुण्ठको बास होस्
को गर्छन् रचना र स्वर्ग छ कहाँ बाँचोस् अझै सास होस्
बर्सौँ तर्क गरूँ यहाँ युग बितून् झूटो कुरा मान्दिन
बाँचौँ सार्थक कामले तपसले सङ्घर्ष को जीवन ।६१

बैसठ्ठी बरखा वसन्त र शरद् मैले सकेका दिन
हेर्दै दैनिक डायरी दिन बिते लेखेँ उधारी मन
काँचो जीवन पाक्न यो समयले हेर्ला कुनै साइत
मर्दा लास रहन्छ त्यो क्षणिक हो लाग्छन् मलामी रुन ।६२

  • २७ श्रावण २०८२, सोमबार १७:१४ प्रकाशित
  • Nabintech