अन्तरजातीय प्रेमविवाहमा बलात्कारको झुठो मुद्धा
  • काँचुली खबर

२१ साउन, दाङ । अन्तरजातीय प्रेमविवाह गरेका दलित युवकलाई गैरदलित युवतीको परिवारले अपहरण र बलात्कारसम्मको कसूरमा मुद्दा लगाउने डरलाग्दो प्रवृत्ति देखिएको छ।

मोबाइलमा असार २३ गते बिहान एकाएक प्रहरी कार्यालयबाट सन्देश आयो, “तपाईंको छोराले एक जना केटीलाई अपहरण गरेको छ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यति सुन्ने बित्तिकै दाङको लमहीकी पार्वती रसाइली झस्किइन्। के गर्ने, कसो गर्ने भन्ने मेसै पाइनन्।

केहीबेर सम्हालिंदै छोरा रविलाई फोन गरिन्। तर रविको मोबाइल ‘स्वीच्ड अफ’ रहेछ।

हतपत माइली छोरीलाई सुनाइन्। वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका श्रीमान्‌लाई भने खबर गर्न नसकेको उनी बताउँछिन्। “उहाँलाई गाह्रो होला भनेर फोन गर्न सकिनँ,” पार्वती भन्छिन्।

हतारिंदै वडा प्रहरी कार्यालय, लमही पुगिन्। प्रहरीले ‘रवि घरमा आएको छ कि छैन’ भनेर सोधपुछ गरे। पार्वतीले आफ्नो सम्पर्कमा नभएको जवाफ फर्काइन् र रविबारे प्रहरीलाई नै सोधिन्।

प्रहरीले बताएपछि बल्ल थाहा पाइन्, रवि त प्रेमिकालाई लिएर फेरि भागेका रहेछन्। “मैले त प्रहरीमा गएपछि मात्र थाहा पाएँ, केटी लिएर भागेको रहेछ,” उनी थकथकाउँदै सुनाउँछिन्।

छोरासँग सम्पर्क भएमा प्रहरी कार्यालयमा ल्याइदिने वाचा गरेर घर फर्किइन्।

पार्वतीले छोराका कारण प्रहरी कार्यालय जानुपरेको यो पहिलो पटक होइन। पति राजकुमार विदेशमा छन्। जेठी छोरी पनि विवाह गरेर विदेशतिरै छन्। माइली छोरी नेपालगन्जमा अध्ययनरत छिन् भने कान्छो रवि पढाइ छोडेर फर्निचर उद्योगमा काम गर्दै थिए। त्यसैले घरपरिवारमा आउने झैझमेला पार्वतीले नै सल्टाउनुपर्छ।

छोराको अन्तरजातीय प्रेमका कारण नौ वर्षदेखि मुद्दामामिला झेल्दै आएको उनी बताउँछिन्। गाउँकै गैरदलित युवतीसँगको प्रेमसम्बन्धका कारण सिंगो परिवारले नै सास्ती खेप्दै आएको पार्वतीको भनाइ छ। “नौ वर्ष भयो, छोराले प्रेम गरेका कारण कहिले प्रहरीमा, कहिले अदालत गइराखेका छौं,” उनी भन्छिन्।

रवि विरुद्ध बलात्कार, साइबर अपराध र अपहरण तथा शरीर बन्धकको कसूरमा उजुरी परेको छ। रवि असार अन्तिम साता सम्पर्कमा आए।

असार २२ मा २२ वर्षीय रवि गाउँकै २२ वर्षीया युवतीलाई लिएर भागे। दुवै जनाले मन्जुरीमै विवाह गरेको रवि सुनाउँछन्। युवतीको परिवारले भने यो तथ्यलाई अस्वीकार गर्दै आएको छ।

रवि भने परिवारले स्विकार नगर्ने देखिएपछि भागेको बताउँछन्। “हाम्रो जात मिल्दैन। उन ९युवती०को परिवारले स्विकार्दैन। केही उपाय नलागेपछि भाग्यौं,” रवि भन्छन्।

युवती पनि परिवारले नस्विकारेपछि भागेको बताउँछिन्। “हामी एकअर्का विना नबाँच्ने भइसकेका छौं। मेरो परिवारले फेरि उस ९रवि०लाई उजुरी हालिहाल्छ,” उनी भन्छिन्, “बरु अब विवाह गरौं भन्ने सल्लाह गरेर भागेका हौं।”

त्यस दिन उनले दिदीलाई फेसबूक मेसेन्जरमा ‘रविसँग गएँ, मलाई नखोज्नू’ भनेर मेसेज गरेकी थिइन्। त्यसपछि मोबाइल अफ गरेर बसेकी उनी परिवारले छुट्याउने र रवि विरुद्ध मुद्दा लगाउने डरले भागेको सुनाउँछिन्।

उनी सानैदेखि गीत गाउँथिन्। एकदिन अर्कै विद्यालयमा गायन प्रतियोगितामा सहभागी हुन गएकी थिइन्। रवि पनि हेर्न गएका थिए। उनीहरूबीच त्यहीं पहिलो भेट भयो। दुवै साथी बने।

रविका साथीहरूको डान्स क्लब थियो। रवि नृत्य गर्थे भने उनी गीत गाउँथिन्। दुवैको रुचि मिलेपछि क्लब आउन थालिन्। यसरी सरकारी विद्यालयमा पढ्ने रवि र निजी विद्यालयमा पढ्ने उनको भेटघाट बाक्लियो।

एकदिन रविले प्रेमप्रस्ताव राखे, उनले पनि स्विकारिन्। त्यति वेला उनी १४ वर्षकी मात्र थिइन्।

गाउँमा भेटघाट बाक्लिन थालेपछि केटीको परिवारले पनि चाल पायो। त्यसपछि रविलाई बोलाएर अलग बस्न चेतावनी दियो। बालिकाको परिवारको दबाब बावजूद अलग हुन नसकेको रविको भनाइ छ। “उनको परिवारले मलाई बोलाएर नभेट्न भनेको हो, तैपनि भेटिरह्यौं,” उनी भन्छन्।

बलात्कार र अपहरणको कसूर !

२०७४ फागुन १३ को साँझ दुवै जनाले लमही बजार नजीकै आँप बगैंचामा भेट्ने सल्लाह गरे। गाउँमा दिउँसो भेटघाट गर्न समस्या रहेकाले साँझमा भेट्ने सल्लाह गरेको उनीहरू सुनाउँछन्। अँध्यारो भइसकेको थियो। दुवै जना बसेर कुराकानी गरिरहेको वेला चौकीदारले देखे। राति किन बगैंचामा आएको भनेर केरकार गरे।

त्यसपछि नजीकै रहेका प्रहरी आए। उनीहरूले पनि केरकार गरे। दुर्व्यवहार गर्न खोजे। केहीबेर चर्काचर्की भयो। त्यसपछि रविलाई छोडिदिए भने बालिकालाई प्रहरी कार्यालय लगे। बिहान उनको परिवारलाई खबर गरियो।

एकरात प्रहरी हिरासतमा बसेकी उनले सबै कुरा परिवारजनलाई भनिन्। प्रहरीले पो दुर्व्यवहार गरेको सुनाइन्। परिवारजनले केही सुनेनन्, बरु रवि विरुद्ध जबर्जस्ती करणीमा उजुरी दिएको उनी बताउँछिन्। “मेरो कुरा कसैले सुनेन। मलाई प्रहरीले दुर्व्यवहार गरेको हो भनेकी हुँ। तर रविलाई बलात्कारको उजुरी हाल्न लगायो,” उनी भन्छिन्।

त्यसको भोलिपल्ट फागुन १४ मा रवि विरुद्ध दाङ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको उजुरी दर्ता भयो। रविलाई पक्राउ गरियो। त्यसपछि जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्‍यो, जति वेला रवि १४ वर्षका मात्र थिए।

त्यसपछि पार्वतीले अदालत धाउने क्रम चलिरह्यो। समाजको डर थियो। छोरालाई के होला भनेर मनमा पीर पनि थियो। “श्रीमान्‌ विदेशमा हुनुहुन्थ्यो। छोरीहरू सानै थिए। एक्लै अदालत धाउन थालें,” उनी भन्छिन्।

पाँच महीनापछि २०७५ असार १२ मा जिल्ला अदालतका न्यायाधीश हेमन्तराज रावलको एकल इजालासले रविलाई सफाइ दियो। प्रेमसम्बन्ध भए पनि जबर्जस्ती करणी नभएको भन्दै अदालतले सफाइ दिएको थियो। “अदालतको फैसलाले राहत मिल्यो,” पार्वती भन्छिन्।

अदालतबाट सफाइ पाए पनि रविको पढाइ छुट्यो। मुद्दा लाग्ने बित्तिकै स्कूलले निकालेको थियो। बलात्कारको आरोप लागेकाले अर्को विद्यालय जान पनि अप्ठ्यारो भयो। पार्वतीलाई पनि सामाजिक तथा आर्थिक रूपमा सकस भयो। “गाउँ(समाजमा मुख देखाउन नमिल्ने भयो। पाँच महीना रोएरै काटें,” उनी भन्छिन्।

मुद्दामामिला भएपछि पार्वतीले छोरालाई पनि सम्झाइबुझाइ गरिन्। उनीहरूलाई एकअर्काबाट टाढा राख्न बर्दिया पठाइन्। त्यहाँ रवि फर्निचर उद्योगमा काम गर्न थाले। बालिकालाई पनि परिवारले प्यूठान पठाएको थियो, स्कूल पढ्न।

एक वर्षपछि फेरि दुवै जना फोन सम्पर्कमा आए। फोनमा कुराकानी भएको अर्को दिन भेट्न बोलाएको रवि सुनाउँछन्। “बोलाएपछि म दाङबाट प्यूठान पुगें,” रवि भन्छन्, “भेट भएपछि दुवै रोयौं।”

फेरि प्रेमसम्बन्ध जोडियो। यो चाल पाएपछि बालिकाका परिवारजनले दाङ ल्याएर अर्को स्कूलमा भर्ना गरिदिए। परिवारले अलग हुन दबाब दिए पनि उनीहरूको सम्बन्ध झन् झन् गाढा हुँदै गयो।

२०८० वैशाखमा उनीहरू घरबाट भागे। विवाह गर्न भनेर बर्दियास्थित फुपूको घर पुगेको रवि सुनाउँछन्। किशोरीको परिवारले फेरि प्रहरीमा उजुरी दियो।

एक सातापछि दुवैलाई पक्राउ गरेर बर्दियाबाट दाङ ल्याइयो। उमेर नपुगेको भन्दै प्रहरीले दुवैलाई परिवारको जिम्मा लगायो।

त्यसपछि कक्षा १२ उत्तीर्ण गरेर उनी काठमाडौं आइन्। संगीत अध्ययनमा लागिन्। तैपनि घरमा बस्न सहज भएन। उनका अनुसार परिवारकै सदस्य पनि ‘फलाना जातीको मान्छेको पछि लागेको’ भनेर राम्रोसँग बोलचाल गर्दैनथे।

त्यही वेला रविसँग पनि उनको खटपट भयो। त्यो कुरा दिदीले चाल पाइन्।

एकदिन रविले ‘मलाई छोडिस् भने फोटो सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याए। दुवैसँग निकटता दर्साउने तस्वीर थिए। रविले तिनै तस्वीर मेसेज गरेर धम्क्याएको उनी सुनाउँछिन्।

त्यही वेला परिवारजनलाई प्रहरीमा उजुरी गर्न सजिलो भयो। २०८१ माघ २३ मा उनले रवि विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइन्। रविलाई दाङबाट पक्राउ गरेर काठमाडौं ल्याइयो। प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा २४ दिन बिताएपछि ५० हजार रुपैयाँ धरौटीमा उनी रिहा भए। साइबर अपराध सम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।

यसपछि उनीहरू अलग भए। बोलचाल बन्द भयो। हिरासतबाट निस्केपछि रवि काठमाडौंमै बस्न थाले। ‘राइड शेयरिङ’ चलाएर खर्च जुटाइरहेका छन्।

केही समयपछि फेरि दुवै सम्पर्कमा आएको उनीहरू सुनाउँछन्। कुराकानी हुन थाल्यो। अनि उनीहरूले बिहे गर्ने सुर कसे। “अब बिहे गरौं भनेर भागेका हौं,” युवती भन्छिन्।

उनीहरू भागेको थाहा पाएपछि युवतीको परिवारले प्रहरीमा उजुरी दिएको हो। रविको परिवारले भने सुरक्षाको माग गर्दै राष्ट्रिय दलित आयोगमा मौखिक जानकारी गराएको छ।
हिमालखबरबाट

  • २२ श्रावण २०८२, बुधबार १५:५४ प्रकाशित
  • Nabintech