सेतो हात्ती बन्दै कोहलपुरको “भ्यु-टावर” र “सपिङ कम्प्लेक्स”

६-६ पटक टेण्डर आह्वान हुँदा समेत लाग्न सकेन ठेक्का

  • काँचुली खबर

८ साउन, कोहलपुर । पश्चिम नेपालको प्रवेशद्वार कोहलपुरमा निर्माण गरीएका दुई संरचना सेतो हात्तीमा परिणत हुँदै गएका छन । ठुलो लागतमा निर्माण गरीएका दुई आयोजना संचालनमा नआउँदै खण्डहरमा परिणत हुने खतरा बढ्दै गएपछि ति परियोजनाले सेतो हात्तीको उपमा पाएका छन ।

पाँच करोड ५३ लाख रूपैयाँ लागतमा कोहलपुर न्यूरोडमा निर्माण गरीएको साततले “कोहलपुर भ्यु-टावर” लाई नगरले गौरवको आयोजनाका रुपमा प्रचार गरेको थियो । तर निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्रयोगमा आउन नसकेपछि भ्यु-टावर निर्माणको औचित्य पुष्टि हुन सकेको छैन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

ब्यस्त सडकको बिचमा ठडिएको उक्त टावरको आसपासमा भ्यु-टावरभन्दा अग्ला होटल र भवन छन् । जसका कारण भ्यु-टावरको उपदेयता र प्रयोग अपेक्षित रुपमा हुन सकेको छैन ।

भ्यु-टावर निर्माणमा स्थानिय सरकारले करोडौं लगानी गरेको भएपनि त्यसबाट अहिलेसम्म कुनै लाभ उठाउन नसकेको नगरपालिकाले उक्त टावर ठेक्का लगाउन ६ पटक टेण्डर आह्वान गर्दा समेत कसैले चासो देखाएका छैनन् ।

नगरपालिकाले वार्षिक २४ लाख रूपैयाँमा भ्यु-टावर ठेक्का लगाउन हालसम्म ६ पटक टेण्डर आह्वान गरीसकेको छ । ठेक्का पाउने व्यक्तिले पूरै संरचना उपयोग गर्न पाउने र चियाखाजाका लागि रेस्टुरेन्ट खोल्न पाउने भनिए छ, तर छैठौं आह्वानमा समेत कसैले पनि टेण्डरमा भाग लिएका छैनन् ।

करोडौं खर्च गरेर बनाएको संरचना भाडामा नगएपछि अहिले उक्त टावर स्थानिय सरकारकैलागि पनि घाँडो बन्न पुगेको छ । “गौरवको योजना भनेर बनाइएको भ्यु-टावर बेकारको जस्तो हुन थाल्यो ।” कोहलपुरै एक जनप्रतिनिधिले भने, “मान्छे आउनै छोडे, त्यत्रो लगानी परेको छ, अब केही सौन्दर्यीकरण गरेर भए पनि मान्छे आकर्षित गर्ने उपाय खोज्नुपर्छ भन्ने सल्लाह भएको छ ।”

पटक पटक टेन्डर आह्वान गर्दा पनि कसैले चासो नदेखाएको र भ्यु-टावर चढ्नमा मान्छेको रूचि नदेखिएकाले अनावश्यक वस्तुमा लगानी भएछ भन्ने अनुभूति गरेको नगरपालिकाले पछिल्लो समय नगर प्रहरी राखेर टावर संचालनको प्रयास गरेको थियो । तर हावाहुरीले भ्यु-टावरका सिसा फुटेर असुरक्षित भएको र लिफ्ट पनि बिग्रिएकाले मर्मतकालागी भन्दै अहिले टावर प्रवेशमा रोक लगाइएको छ।

भ्यु-टावरमा गरेको खर्च बालुवामा पानी खन्याएजस्तै भएको भन्दै स्थानियहरुले बिरोध गर्दै आएका छन ।

सपिङ कम्प्लेक्सको अवस्था पनी उस्तै

कोहलपुरमै निर्माण गरीएको नयाँ बसपार्कभित्रको भब्य सपिङ कम्प्लेक्सको अबस्था झनै नाजुक छ । निकै तामझामकासाथ लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्ली चौधरीबाट ०८० असार २४ गते उद्घाटन गरीएको बसपार्कको सपिङ कम्प्लेक्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन ।

नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क रु. ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु. १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले रु. १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ ।

बसपार्क निर्माणकालागि नगर विकास कोषबाट वार्षिक आठ प्रतिशत ब्याज तिर्ने गरी २० वर्षका लागि ६० प्रतिशत ऋण लिएको कोहलपुर नगर विकास समितिले बसपार्कमा सपिङ कम्प्लेक्स सहित बस पार्किङ, टिकट काउन्टर, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ स्टेशन निर्माण गरेको छ ।

बसपार्क व्यवस्थापनका लागि वार्षिक रु. ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी वागेश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको भएपनि सपिङ कम्प्लेक्स भने अहिलेसम्म भाडामा जान सकेको छैन ।

सपिङ कम्प्लेक्स भाडामा लगाउनकालागी नगरपालिकाले पटक-पटक टेण्डर आह्वान गरेपनि कसैले टेण्डर हालेका छैनन् । नगरपालिका स्रोत अनुसार सपिङ कम्प्लेक्सकालागी अहिलेसम्म छैठौं पटक टेण्डर आह्वान भईसकेको छ । मुल्य घटाएर टेण्डर आह्वान गर्दा समेत कसैले चासो नदेखाएपछि सपिङ कम्प्लेक्स दुई वर्षदेखी प्रयोगविहिन बनेको हो ।

केही महिना पहिले आएको हावाहुरीले सपिङ कम्प्लेक्सको माथिल्लो भवनका सिसा समेत फुटेका थिए ।

दुई संचनालाई सेतो हात्तीसँग दाँज्नुको कारण बुझौं

सेतो हात्ती काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव इन्द्रजात्रासँग जोडिन्छ । यो जात्रा अवधिभर काठमाडौंका टोलटोलमा सेतो हात्ती घुमाउने चलन छ जसलाई “पुलुकिसी” भनिन्छ ।

परापूर्वकालमा देउता र दानवहरूबीच समुद्र मन्थन हुँदा चौधथरीका रत्न समुद्रको गर्भबाट निस्केका थिए रे । तिनैमध्ये चम्किलो श्वेत वर्णको ऐरावत हात्ती पनि थियो । सेतो हात्ती भनेको त्यही ऐरावत हात्ती हो । अरू हात्तीका दुइटा दाँत हुन्छन्, उसका चारवटा छन् । अरू हात्तीको एउटा सुँड हुन्छ, उसका पाँचवटा छन् ।

सेतो हात्ती देख्न पाउनु मान्छेहरूको निम्ति अहोभाग्य मानिन्छ । कतिसम्म भने, सपनामा उसको दर्शन पाउनु शुभ, सुख र समृद्धिको सूचक हो भनिन्छ । गर्भवती महिलाले देखे भने भाग्यशाली सन्तान पाउँछिन् भन्ने कहावत छ । कसैले सेतो हात्तीको जोडी देखे दाम्पत्य-प्रेम सुखमय हुन्छ रे ।

यस्तो गुणवान सेतो हात्तीलाई किन व्यंग्यको उपमा बनाइयो त ?

समुद्र मन्थनपछि अरू बहुमूल्य रत्न त देव र दानवहरूले आपसमा भाग लगाए तर सेतो हात्ती सबैका लागि बोझ भयो । हेर्दा राम्रो देखिएर के गर्नु, हात्ती पाल्न कहाँ सजिलो छ र १ अरू जनावरले महिनाभरि खानेजति त उसको एकदिनको खुराक । बस्नलाई पनि सिंगो घरै चाहियो, सानो खोरमा अट्ने भएन ।

धन्न “देवराज” इन्द्रले आँट गरे र उसलाई आफूसँगै लगे । त्यसयता ऊ इन्द्रकै वाहन बनेर उनकै “ड्युटी” मा खटिँदै आएको छ । वर्षको एकचोटि येँया पुन्ही बेला मात्र मर्त्यलोक आउँछ ।

यसरी तेत्तीस कोटी देउता र दानवहरूले समेत पाल्ने आँट नगरेको सेतो हात्ती भन्नेबित्तिकै हामीकहाँ यस्तो जनावर वा वस्तु वा आयोजना बुझिन्छ जो हेर्दा अजंगको छ तर सम्हाल्न गाह्रो पर्छ । त्यसैले ठूलो लगानी गर्नुपर्ने तर लगानीअनुसार प्रतिफल नदिने र सधैं समस्यामा परिरहने आयोजनालाई सेतो हात्ती” भनेर व्यंग्य गरिन्छ ।

  • १० श्रावण २०८२, शुक्रबार १७:२८ प्रकाशित
  • Nabintech