७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा एक दिने महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य तथा पार्टीको प्रदेश स्वास्थ्य विभाग संयोजक अञ्जना पाण्डेको प्रमुख उपस्थितिमा आयोजित शिविरमा १०० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । मधेशी र थारु समुदायको बाक्लो बसोबास रहेको यस वडामा महिलाहरूको प्रजनन् तथा सामान्य स्वास्थ्यप्रति पहुँच र चेतना न्यून देखिएपछि लक्षित रूपमा महिला केन्द्रित शिविर सञ्चालन गरिएको काँग्रेसले जनाएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शिविरको आयोजना नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंं. १ बाँकेले गरेको थियो भने नेपालगञ्जस्थित एचसीआरसी अस्पतालले प्राविधिक सहयोग पु¥याएको थियो । राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा सम्पन्न शिविरमा चिकित्सक डा. मञ्जु वि.सी.को नेतृत्वमा महिला विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।
प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी अञ्जना पाण्डेले स्वास्थ्य शिविरको औपचारिक उद्घाटन गर्दै भनिन्, “महिलाहरू अझै पनि घरभित्रै आफ्ना पीडा लुकाउँदै बसिरहेका छन्, यो प्रवृत्ति बदल्न स्वास्थ्य पहुँचको सहजता, सामाजिक चेतना र विश्वास निर्माण अत्यन्त आवश्यक छ ।” उनका अनुसार, नेपालका ग्रामीण क्षेत्रहरूमा महिलाहरू आफ्ना स्वास्थ्य समस्या समयमै नखुलाउने, अस्पताल जान हिच्किचाउने र लाज मान्ने प्रवृत्तिका कारण धेरै महिलाहरू जटिल अवस्थामा पुगेर मात्र उपचारमा पुग्ने गरेका छन ।
“यस्ता शिविरहरूले महिलामा आत्मविश्वास जगाउँछन्, उनीहरूलाई आफ्ना समस्या खुलेर भन्न उत्प्रेरित गर्छन्,” उनले भनिन् ।
पाण्डेले वि.पी. कोइरालाको योगदानको चर्चा गर्दै भनिन्, “वि.पी. कोइरालाको दर्शनमा महिला सशक्तीकरणको विशेष महत्व थियो । उहाँले राजनीतिक मात्र होइन, सामाजिक परिवर्तनका लागि पनि महिलाको सहभागिता आवश्यक ठान्नुहुन्थ्यो । उहाँको स्मृतिमा महिलामैत्री स्वास्थ्य शिविर गर्नु भनेको उहाँकै विचारको सम्मान गर्नु हो ।”
स्वास्थ्य परीक्षणको क्रममा सहभागी १०० जना महिलामध्ये २५ जना महिलामा पाठेघर खस्ने, सेतो पानी बग्ने, बाँझोपन, महिनावारीसम्बन्धी अनियमितता लगायत समस्या देखिएको चिकित्सक डा. मञ्जु वि.सी.ले जानकारी दिइन् ।

“दुई जना महिलामा पाठेघरको मुखको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएको छ,” उनले भनिन्, “यी दुवैलाई थप परीक्षण र उपचारको लागि एचसीआरसी अस्पतालमा ५० प्रतिशत छुटमा सेवा दिने व्यवस्था गरिएको छ ।” डा. वि.सी.का अनुसार, प्रजनन स्वास्थ्य समस्याहरू समयमै उपचार नभएमा जटिल अवस्थामा पुग्ने सम्भावना रहन्छ । ग्रामीण क्षेत्रका महिलाहरूले प्रायः लाज, आर्थिक अभाव वा जानकारीको कमीका कारण अस्पताल जान नचाहने भएकाले यस्ता शिविर अत्यन्त उपयोगी हुने बताइन् ।
स्वास्थ्य शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बिहानैदेखि लाइन लागेर महिलाहरू जाँच गराउन आएका थिए । धेरै महिलाहरूले आफ्ना समस्या पहिलोपटक खुला रूपमा चिकित्सकसँग व्यक्त गर्न पाउँदा आत्मसन्तुष्टि भएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नंं. १ बाँकेका क्षेत्रीय सभापति पोषण के.सी.ले आगामी दिनहरूमा पनि यस्ता शिविरहरू अन्य ग्रामीण वडामा सञ्चालन गर्ने योजना रहेको बताएका छन् । उनले भने “शरीरको समस्या लुकाएर बस्नु समाधान होइन । हामी समुदायमा पुगेर महिलासँग संवाद गर्दै उनीहरूको स्वास्थ्य, पोषण, मानसिक स्वास्थ्यलगायत विविध पक्षमा सशक्तीकरणका कार्यक्रम ल्याउनेछौं ।”
वि.पी. कोइरालाको स्मृति दिवसमा यस्तो अर्थपूर्ण सामाजिक अभियान सञ्चालन गर्न पाउँदा गर्व महसुस भएको सभापति के.सी.ले बताए ।
“वि.पी. कोइरालाले महिला सशक्तीकरणमा विशेष जोड दिनुभएको थियो । उहाँको स्मृतिमा हामीले आज थारु र मधेशी समुदायका महिलालाई लक्षित स्वास्थ्य सेवा दिन सकेका छौं,” उनले भने, “स्वास्थ्यमा पहुँच अझै कमजोर रहेको क्षेत्र भएकाले यस्तो शिविरले धेरै महिलाहरूलाई राहत पुर्याएको छ ।” उनले वि.पी. कोइरालाको ‘सामाजिक न्याय’को दृष्टिकोण अनुसार नेपाली काँग्रेसले राजनीतिक मात्रै नभई सामाजिक रूपमा पनि अग्रसर भई जनताको जीवनस्तर सुधारतर्फ काम गरिरहेको बताए ।
स्थानीय समुदायको उत्साहजनक सहभागिता र गम्भीर स्वास्थ्य समस्याहरूको पहिचानले शिविरलाई अत्यन्त प्रभावकारी बनाएको सहभागीहरूमध्ये धेरैले बताएका छन्, आयोजक पक्षले पनि आगामी दिनहरूमा अन्य वडाहरूमा यस्तै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
८ श्रावण २०८२, बुधबार १९:१४ प्रकाशित