२ असार, नेपालगन्ज । गगन थापा पार्टी सभापति भए नेपाली काँग्रेस छिन्नभिन्न पारिदिने नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बताएका छन् । उनले पार्टी बनाउने नाममा महामन्त्री थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै पार्टी सभापति भएमा गगन थापाले काँग्रेसलाई चार टुक्रा पारिदिने बताए ।
नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर-२ को कार्यसमिति घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् ।महामन्त्री थापा गुटको राजनीति गर्दै पार्टी भित्र अराजकता बढाउने काम गरिरहेको दावी गर्दै राठौरले विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्री थापालाई अराजकता गर्ने छुट नभएको प्रष्ट पारे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“महामन्त्रीले जे पायो त्यही गर्न पाइन्छ ? ठिक छ लडाई लड्ने हो भने १५औं महाधिवेशनमा हेरौंला । पार्टी बनाउने नाममा गुट बनाउने र अराजकता गर्ने छुट महामन्त्री थापालाई छैन । उनका कारण पार्टी अराजक ढंगबाट अघि बढेको छ” सहमहामन्त्री राठौरले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १५ औं महाधिवेशनमा उम्मेदवार बनाए भने महामन्त्री गगन थापालाई देखाइदिने भन्दै उनले त्यसो गर्न नसके राजनीति नै नगर्ने उद्घोष गरे ।
गगनप्रति कटाक्ष गर्दै राठौरले भने, “लावालस्कर लगाएर, हाहाहुहु गरेर पार्टी चल्दैन । भ्रष्ट मान्छे साथमा राखेर लोकप्रिय भइदैन ।” २०५७ देखि देश दौडाहमा ननिस्केको बताउँदै राठौरले अब गगनको कार्यक्षेत्रमा उनका विरोधीलाई राखेर बैठक बस्ने चेतावनी दिए ।
आफू पार्टी सभापति भए अधिकतम न्याय गर्ने, पार्टीलाई अनुशासित र मर्यादित बनाउने दावि गर्दै राठौरले पार्टीको नेतृत्व लिने आफूभन्दा अर्को कोही नभएको बताए ।
“पार्टीभित्र अनुशासन छैन, मर्यादा छैन, न्याय दिने अनुभूती छैन । यो माथिबाट जे भयो त्यही तल भइरहेको छ । यसले पार्टी एकताबद्ध भएर अघि बढ्न सक्दैन” उनको भनाइ छ ।
“अस्ति गगन जी आउनुभयो । म सहमहामन्त्री जिल्लामै छु । २०७४ मा चुनाव लड्दा अर्को पार्टीबाट चुनाव लड्ने, एमालेको पैसा खाने ब्यक्तिलाई पार्टी प्रवेश गराउने कार्य भयो । यो विधि, प्रक्रिया र विधान विपरित कार्य हो । पार्टीका सभापति, सचिवले विधान पढ्नुपर्छ । पार्टीविरुद्ध लडेकालाई पार्टी प्रवेश गराउने कार्य हास्यास्पद र लाजमर्दो कुरा हो ।” सहमहामन्त्री राठौरले अगाडी थपे, “गगनलाई ल्याएर पार्टी विद्रोह गरेका ब्यक्तिलाई प्रवेश गराइदिनुभयो । लाजसरम छ की छैन तपाईहरुलाई ।”
सहमहामन्त्री राठौरले अगाडी भने, “दुई नम्बर क्षेत्रको वडा सम्मेलन भएको छैन, पालिका सम्मेलन भएको छैन, प्रदेश सम्मेलन भएको छैन । क्षेत्रीय सम्मेलन गरिदिनुभयो । त्यो पनि जिल्ला सम्मेलन भएपछि । यो त थापाको नाममा पैसा उठाएर खाने काम गरिदिनुभयो । ४ वर्षसम्म वडा सम्मेलन किन हुन सकेन ? कसले छानविन गर्नुपर्ने हो ?”
आफूलाई नयाँ जेनेरसनका नेता भनौदाहरुमा संस्कार नभएको सहमहामन्त्री राठौरको भनाई छ । उनीहरुले पार्टीभित्र गलत संस्कार बसालेको र बसाल्न खोजिएको भन्दै पुरानो पुस्ता बढी मर्यादित र अनुशासित रहेको बताए ।
“दुईजना युवा महामन्त्री छन् । हामी पनि चुनाव जितेर आएको हो । हामीलाई जिम्मेवारी दिनुपर्यो भनेर धेरैपटक भन्यौ तर, मानेन् । आफू महामन्त्री भएका छन् बैठकमा बस्न पाएका छन् । अरु के चाहियो”, उनले भने ।

“सबैको सम्मान गर्ने, सबैलाई मिलाएर लाने हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।” राठौरले अगाडी थपे, “४ वर्ष भयो महाधिवेशन भएको । केन्द्रिय बैठकमा, ब्यक्तिगत भेटमा होस् वा कार्यक्रममा समेत भन्ने गरेको छु की हामी सहमहामन्त्रीलाई जिम्मेवारी दिनुपर्यो भनेर तर, अहिलेसम्म दिइएन । १५ औं महाधिवेशनको संघारमा जाँदै गर्दा युवा भनिएका दुई महामन्त्रीबाट अनुभूती हुने खालको परिर्वतन गर्न पाइएको छैन ।”
नेपाल किसान महासंघ बाँकेका सभापति लाहुराम थारुको सभापतित्वमा भएको उक्त घोषणा कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह थापा, काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, महासमित सदस्य, महाधिवेशन प्रतिनिधी, लुम्बिनी प्रदेश सांसद लगायतले आफ्ना धारणा राखेका थिए ।
यसैबीच, नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर-२ को १७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । जसको सभापतिमा सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षमा सम्सुद्दिन खाँ, सचिवमा विजय मल्ल, सहसचिवमा विजय रत्न श्रेष्ठ, कोषाध्यक्षमा देवराज न्यौपाने तथा सदस्यहरुमा राजेन्द्र रेउले, सिता सिजापती, डम्मर विसी, सुमित्रा घले, त्रियोगी गिरी, पुरण बहादुर थारु, गंगाराम डाँगी, संजित कुमार थानी, देवी सिजापती, सम्स अलि सिद्दिकी र सुरज बर्मा रहेका छन् । भने सल्लाहकारमा कपील शर्मा र दुर्गा भण्डारी चयन भएका छन् ।
महासंघको नयाँ कार्यसमिति पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि किशोर सिंह राठौर, काँग्रेस लुम्बिनी प्रदेशका सभापती अम्मरसिंह पुन तथा पार्टी सभापती नारायाण प्रसाद गौडेलले संयुक्तरुपमा अविर, खादा लगाएर प्रमाणपत्र प्रदान गरेका थिए ।
सोहीक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-६ बाट विभिन्न पार्टी त्यागेर आएका एक दर्जन नेता तथा कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका थिए । भने कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले अविर र खादा ओढाएर उनीहरुलाई काँग्रेस प्रवेश गराएको नेपाल किसान महासंघ बाँकेका सचिव महेन्द्र मल्लले जानकारी दिए ।
२ असार २०८२, सोमबार १९:१६ प्रकाशित