नेपाली क्रिकेटप्रेमीले भुल्नै नसक्ने रोमाञ्चक पाँच खेल
  • काँचुली खबर

२९ जेठ, काठमाण्ठौं । क्रिकेटको वास्तविक मज्जा भनेकै अन्तिम बलसम्म पनि खेलको रोमाञ्च कायम रहिरहनुलाई मानिन्छ । परिवर्तित क्रिकेटको परिवेशमा विशेषगरी २० ओभरको खेलमा यस्ता दृश्यहरू त धेरै नै देख्न पाइन्छ ।

एक रनको जित वा हार तथा एक विकेटको जित वा हारका दृश्यले दर्शकहरूलाई दिने खुसी वा पीडा बेग्लै हुने गर्छ । त्योभन्दा बढी सुख र दुस्ख त खेल्ने टीम र त्यसका खेलाडीहरूले झेल्नुपर्छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपाली क्रिकेटको इतिहास हेर्ने हो भने कैयन् बेला यस्ता क्षणहरू आएका छन्, जसमा टोलीले १ रनले जित्दा खुसी मनाएका छन् र अन्तिम बलमा हार्दा पीडित बनेका छन्।

अहिले स्कटल्यान्डको डण्डीमा सञ्चालन भइरहेको विश्वकप लीग २ शृङ्खलामा पनि त्यस्तै भइरहेको छ।

स्कटल्यान्ड विरुद्धको दुवै खेलमा खेलको नतिजा अन्तिम ओभरसम्म तानियो र जित हारको निर्णय अन्तिम बलसम्म पुग्यो।

यसले नेपाली क्रिकेटको विगतका रोमाञ्चकारी सङ्घर्षलाई फेरि सम्झाएको छ।

जहाँ थुप्रै अवसरमा नेपालले जितेको छ भने कति पटक हारको सामना गरेको छ। त्यसमध्येका ५ घटना यहाँ प्रस्तुत छ ।:

१. अमेरिकासँगको हार तर जित

यो अन्तिम बलमा टुङ्गिएको खेल त होइन, तर रन रेटमा झिनो अन्तरले जितिएको खेल हो ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रालाई अगाडि बढाउन अहम् मानिएकोले यसको चर्चा क्रिकेटमा धेरै हुने गर्छ ।

सन् २०१० मा (२०६६ फागुन १४ गते) कीर्तिपुर क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लीग डिभिजन-५ को खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दै थियो ।

डिभिजन ४ मा उक्लिनका लागि भएको यो खेल निकै महत्त्वपूर्ण थियो । शीर्ष २ टोली डिभिजन ४ मा उक्लिने थियो र त्यसमा अमेरिका, नेपाल र सिङ्गापुरमाझ कडा टक्कर चलिरहेको थियो ।

यस्तोमा नेपालले कि त अमेरिकालाई जित्नै पर्थ्यो वा हारेमा पनि सिङ्गापुरभन्दा राम्रो रनरेट ल्याएर खेल टुङ्ग्याउनु पर्थ्यो ।

टस जितेर ब्याटिङ गर्दै नेपालले ९ विकेट गुमाएर १६२ रन बनायो ।

अमेरिकाले उक्त लक्ष्य सहजै पूरा गर्ने क्रममा ३२ ओभरमा १५०-५ बनायो । अब खेल जित्न अमेरिकालाई १३ रनको औपचारिकता मात्र पूरा गर्नु थियो ।

नेपाल हार्ने र बढुवा पनि नहुने भएपछि क्रुद्ध दर्शकले कीर्तिपुर मैदानमा ढुङ्गा, पानीको बोतल बर्साउन थाले । खेल झन्डै एक घण्टा अवरुद्ध भयो ।

स्थिति सामान्य बनाएर खेल पुनः सुरु गर्दा खेल ४ ओभर घटाइयो र अमेरिकालाई ४६ ओभरमा १५७ रन बनाउने लक्ष्य दिइयो ।

थप ७ रन बनाउन अमेरिकालाई कुनै समय लागेन । खेल आरामसँग अमेरिकाले जित्यो ।

तर अवरुद्ध यो अवधिमा रनरेट भने नेपालको पक्षमा आइसकेको थियो ।

लीगको अन्तिम परिणाम अनुसार पाँच खेलबाट अमेरिका, नेपाल र सिङ्गापुरको समान ८-८ अङ्क भयो । अनि रन रेट अनुसार अमेरिका पहिलो, नेपाल दोस्रो र सिङ्गापुर तेस्रो भयो ।

नेपालको रनरेट १.३५ र सिङ्गापुरको १.३४ थियो । अन्तर ०.०१ मात्र रह्यो ।

उक्त घटनालाई नेपाललाई भाग्यले होइन दर्शकले डिभिजन ४ पुर्‍याएको रूपमा चर्चा हुने गर्छ ।

असन्तुष्ट सिङ्गापुरले यसलाई लिएर आईसीसीसँग अपिल नै गरेको थियो ।

२. यूएईसँगको हारस् जब १ रनले गुम्यो २ विश्वकप

मलेसियामा सम्पन्न सन् २०१८ को यू -१९ विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग १ रनले पराजित हुँदा विश्वकपमा छनोट हुन असफल भयो ।

उक्त हार खेलका कारण होइन, वर्षाका कारण भएको थियो । लगातार खेल जितेर लक्ष्यतिर अग्रसर दाबेदार नेपालको मुख्य प्रतिस्पर्धा यूएईसँग चलिरहेको थियो ।

नेपालले पहिलो ब्याटिङ गर्दै २४७ रनको चुनौतीपूर्ण स्कोर बनायो ।

नेपालका लागि हरि चौहान र भीम सार्कीले अर्धशतक हाने । चौहानले डेब्यू (राष्ट्रिय टीममा आफ्नो पहिलो) खेलमा नै अविजित ६३ रन बनाएर क्षमता देखाएका थिए।

तर जबाफमा आएको यूएई ३० ओभर खेल्दै ३ विकेटको क्षतिमा १२२ रन बनाइरहेको बेला वर्षाका कारण खेल अवरुद्ध हुन पुग्यो ।

त्यसपछि खेल सञ्चालन हुन सकेन । खेल रोकिएको उक्त बेला गरिएको डीएलएस प्रणालीको आधारमा नेपाल १ रनले पराजित हुन पुग्यो ।

सोही हारका कारण नेपाल उपविजेतामा सीमित भयो र सन् २०२० को यू १९ विश्वकपमा पुग्न असफल हुन पुग्यो ।

त्यो हारको पीडा यतिमा नै सीमित भएन । कोरोनाभाइरसको प्रकोपकालमा अर्को छनोट प्रतियोगिता हुन नसकेपछि पूर्व विजेताको रूपमा आइसीसीले यूएईलाई नै सन् २०२२ को विश्वकपमा पनि सिधै छनोट गरेको थियो ।

त्यो १ रनको हारले नेपालले २ विश्वकप गुमाउन पुग्यो ।

३. नेदरल्यान्ड्सविरुद्ध ‘डेब्यू’ जितको ‘क्लाइमेक्स’

यो चाहिँ जितको कथा हो ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) को मान्यता पाएपछि नेपालले पहिलो ओडीआई भ्रमण नेदरल्यान्ड्समा गरेको थियो ।

दुईवटा खेलको एक दिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल हार्‍यो । तर दोस्रो खेल जित्दाको अन्तिम क्षण वा “क्लाइमेक्स” भने बेग्लै थियो । त्यो नेपालको पहिलो एक दिवसीय जित थियो र जित पाएको थियो अन्तिम बलमा १ रनले ।

कप्तान पारस खड्काले अन्तिम बलमा गरेको रन आउट खेलको क्लाइमेक्स थियो ।

टस जितेर नेपालले पहिलो ब्याटिङ रोज्यो । सोमपाल कामीको ६१ रन र पारसको ५१ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनायो ।

जबाफमा नेदरल्यान्ड्स वेस्ले वारसीको ७१ रनको मद्दतमा लक्ष्य पूरा गर्न क्रममा थियो । तर जे भयो अन्तिम ओभरमा भयो ।

नेदरल्यान्ड्सलाई खेल जित्न अन्तिम ओभरमा ६ रन चाहिएको थियो र ९ विकेट झरिसकेको थियो । नेपाललाई भने जितको लागि १ विकेट झार्नु थियो ।

अन्तिम ओभरमा पारसले नै बलिङको जिम्मा लिए । कसिकसाउ उक्त ओभरमा पारसले ५ बल फ्याल्दा ४ रन मात्र दिए । अब खेल जित्न नेदर्ल्यान्ड्सलाई अन्तिम बलमा २ रन चाहिएको थियो ।

यस्तोमा क्रिजमा रहेका फ्रेड क्लासेन २ रनको लागि दौडिए । एक रन त उनले आरामले पार गरे ।

तर दोस्रो रनको लागि दौडिँदा पारसले उनलाई रन आउट गरिदिए ।

डच टोली १ रनले पराजित हुन पुग्यो ।

पारसले स्टम्प नै उखालेर दौडिएको त्यो क्षण नै नेपालको पहिलो एक दिवसीय जित थियो ।

४. दक्षिण अफ्रिका र गुलशन झा

जब-जब नेपालले बेहोरेको कडा हारको प्रसङ्ग उप्किन्छ, यो घटना नेपाली क्रिकेटको सामान्य जानकारी राख्नेले पनि सम्झिने गर्छन् ।

गत वर्ष अमेरिका तथा वेस्ट इन्डिजमा सम्पन्न आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हार त नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र चर्चित हारको रूपमा लिइन्छ ।

गुलशन झाले नेपाललाई थुप्रै खेलमा जिताए होलान्, तर उनी त्यही रन आउट कै कारण बढी चर्चित भए ।

वेस्ट इन्डिजको किङ्सटनमा खेलिएको लीगको उक्त खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोज्दै दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो ।

विश्वकप हेर्न जसरी अमेरिकामा नेपाली दर्शक झुम्मिएका थिए, किङ्सटनको रङ्गशाला पनि त्यसरी नै नेपाली दर्शकले भरिभराउ थियो ।

आशिफ शेखले ४२ रन बनाएको उक्त खेलमा नेपालले गजबकै प्रदर्शन गर्‍यो । क्लाइमेक्स भने गुलशन झा र सोमपाल कामीको ब्याटिङमा पुगेर भएको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन चाहिएको थियो र गुलशन झा क्रिजमा थिए ।

उनले पूरै ६ बल खेले । पहिलो २ बल डट भयो । तर तेस्रो बलमा चौका र चौथो बलमा २ रन लिएपछि नेपाललाई अन्तिम २ बलमा जितको लागि २ रन चाहिने भयो ।

पाँचौँ बल पनि डट भयो । अब अन्तिम बलमा २ रन चाहिने स्थिति बन्यो ।

र, अन्तिम बलमा एक रन लिए बराबरी र २ रन लिए नेपाल विजयी हुने भयो ।

तर अन्तिम रनका लागि दौडिएका गुलशन बीचमा अडिए जस्तो, अलमलिए जस्तो देखिए । त्यही मौकामा उनी रन आउटको सिकार हुन पुगे ।

नेपाल १ रनले पराजित भयो ।

उक्त हारबाट नेपाली समर्थक दु:खी भन्दा पनि चकित हुन पुगेको देखिएको थियो ।

कतिपय समर्थकहरू भन्छन्, “नेपालसँग हारको खड्गो कटाइदिएको भए दक्षिण अफ्रिकाले विश्वकप जित्ने थियो ।”

उही दक्षिण अफ्रिका फाइनलमा भारतसँग पराजित हुँदा विश्व विजेता बन्नबाट चुकेको थियो ।

५. स्कटल्यान्डसँगको ताजा खेल

जारी आइसीसी विश्वकप लीग २ को स्कटल्यान्डसँगको दुवै खेल उत्कर्षमा पुगेर टुङ्गियो ।

एक दिवसीय क्रिकेटमा यी दुवै खेलमा नेपालको बलियो स्वरूप देखियो ।

पहिलो खेलमा जितका नायक करण केसी थिए भने दोस्रो खेलमा पनि उनैले त्यो अवसर पाएका थिए ।

यसपालि भने परिणाम विपरीत हुन पुग्यो ।

डण्डीमा जुन २ मा खेलिएको पहिलो खेलमा नेपालले स्कटल्यान्डले बनाएको २९६ रनलाई पछ्याउन सफल भयो ।

अन्तिम ओभरको अन्तिम बलसम्म नेपाललाई जितको लागि १ रन चाहिएको थियो । खेलका नायक करण केसीले अविजित ६५ रन बनाएर नेपाललाई जिततिर लैजाँदै थिए ।

तर अन्तिम रनका लागि दौडिँदा रिजन ढकाल रन आउट हुन पुगे । खेल बराबरी हुने भयो भनेर स्कटिस खेलाडी खुसी मनाउँदै थिए । यसै बेला अम्पायरले वाइडको इशारा गरेपछि जित नेपालको पोल्टामा आयो ।

जुन ८ मा खेलेको दोस्रो खेल पनि उस्तै थियो । तर यसपालि भने स्कटल्यान्डले बाजी मार्‍यो ।

पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डले ३२३ रन बनाएपछि नेपालले अहिलेसम्मको सर्वाधिक रन पछ्याउने चुनौती पाएको थियो ।

नेपाल चुनौती नजिक पनि पुग्यो । अन्तिम ओभरमा खेल टुङ्ग्याउने धुनमा तेस्रो बलमा करण आउट भएपछि एकाएक स्कटल्यान्डतिर खेल ढल्किन पुग्यो ।

अनि अन्तिम बलमा नेपाललाई जितको लागि ३ रन चाहिने भयो । क्रिजमा ललित राजवंशी थिए ।

उनलाई साफयान सरिफले बोल्ड गरिदिएपछि नेपाल २ रनले जिल्लिनु पर्‍यो ।

  • ३० जेष्ठ २०८२, बिहीबार १६:५९ प्रकाशित
  • Nabintech