२० मंसिर २०७९, मंगलवार
भरियाको दुःख देखेपछि जन्मियो, सिमली छायामा बसी…….
  • काँचुली खबर

‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’ यो गीत सायदै मान्छेले नसुनेका होलान्। २०४३ सालतिर रेकर्ड भएको उक्त गीतका सर्जक हुन्, गायक जीवन शर्मा। यो गीत यति धेरै मनपराइयो कि आज पनि शर्मालाई विभिन्न कार्यक्रममा यो गीत सुनाउन आग्रह आइरहन्छ। महलमा बस्नु, पैसा कमाउनु, ऐस आरामको जिन्दगी बाँच्नु उनको सोख छैन। सादा जीवन बाँच्न रुचाउने उनको विशेषता हो। तीन दशक जनताको गीत गाउँदै हिँडेका उनी आज पनि जनताका गीत गाउँदै हिँडेका छन्। उनका अधिकांश गीत कर्णप्रिय छन्, लोकप्रिय छन्। सिमली छायाको पृष्ठभूमिमा जानु भन्दा पहिले वि.सं. ३५|४६ पञ्चायती व्यवस्था विरुद्ध भूमिगत थिए उनी। यही बेला विभिन्न ठाउँमा सभा सम्मेलन गरी निरंकुशता विरुद्ध आवाज उठाउने सिलसिला जारी थियो। राजा वीरेन्द्रले सुधारिएको पञ्चायती व्यवस्था की बहुदलीय व्यवस्था भनेर चुनाव गराए ३६ सालमा। जहाँ बहुदलीय व्यवस्था पराजित बन्यो। देशमा आन्दोलनको शृंखला बन्द भयो। शर्मा आफ्नो कर्ममा निस्किए। विस्तारै पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन सकियो। आन्दोलनताका गाउँदै हिँड्नु उनको काम थियो। आन्दोलन सेलाउँदै जाँदा उनको गायन पनि सेलाउँदै गयो। पञ्चायती व्यवस्थाले देशमा चरम गरिवी, अभावजस्ता अनगिन्ती समस्या देशमा उस्तै थिए। जनतामा चेतनाको कमी उस्तै। निरंकुश राजतन्त्रले देश थिलोथिलो बनेको थियो। मनमा पञ्चायती व्यवस्थाले जितसँगै आम जनमानसमा जस्तै शर्माको मनमा पनि समाज परिवर्तन हुने कुरामा शंका पैदा भइरहेको थियो। पञ्चायती व्यवस्थाको जितले शर्माको मन पनि खुशी दिन सकेको थिएन। परिवर्तनका भाषण दिएर नथाक्ने त्यसबेला दरबारको कागजी विकास कार्यक्रम र जनताको वस्तविक अवस्थामा निकै फरक थियो।
त्यही समयमा एक पटक उनी घुमघामको सिलसिलामा स्याङ्जा पुगेका थिए वि.सं. २०३८ सालमा । स्याङ्जाको कार्किनेट भन्ने ठाउँ जाँदै गर्दा बीचमा एउटा बिसौनी चौतारीमा एक वृद्ध भारी बिसाएर बसेका थिए, त्यो पनि खोटाङ जिल्लातिरका। ज्यालामा भारी बोक्न त्यहाँसम्म आएका रहेछन् उनी। बुढ्यौली उमेरले आराम गर्नुपर्ने समयमा शरीरभन्दा गह्रौँ भारी बोकेको दृश्यले शर्मालाई गहिरो छाप पर्‍यो। जसका लागि आवाज उठाउँदै हिँडेका थिए, तिनैको अवस्था देखेर शर्माको मनमा आफैँप्रति हीनताबोध भयो। त्यो चौतारीबाट माथि गाउँसम्म पुग्दा यो गीत तयार पारेको शर्मा बताउँछन्। यो गीत यथार्थ रूपमा अनौठो तरिकाले लेखिएको गीत भन्न रुचाउँछन् शर्मा। पछि उनले यो गीत रेकर्ड गरेर बजारमा ल्याए। उनी भन्छन्, ‘आज जस्तो युट्युबको जमाना थिएन। यो गीतका क्यासेट बजारमा एकदमै धेरै खोजी भयो तर सीमित मात्रामा क्यासेट उपलब्ध थियो।’

जता शर्मा पुग्छन्, त्यहाँ यो गीत सुन्न मान्छे भेला भइहाल्थे। प‌ञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्ष जारी थियो। २०४६ सालको आन्दोलनपश्चात् देशमा राजनीतिक तनाव केही मत्थर भइसके पनि वि.सं. २०५१ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो। जनयुद्धको धङ्धङी जारी थियो। कुनै एक दिनको कुरा हो। उनी टुँडिखेल घुम्न निस्किएका थिए। त्यसैबेला टुँडिखेलमा सैनिकले आंतककारीको सूचीमा अनेक मान्छेहरूको फोटो सार्वजानिक गरेको उनले देखे। त्यो सुचीमा आफू र आफ्ना गीतहरूलाई समेत सेनाले खोजीको सूचीमा राखेको देखे उनले। विस्तारै उनी सरकार र सेनासँग सतर्क हुन थाले। देशमा जनयुद्ध चर्किंदै जाँदा उनी भूमिगत बने। वि.सं. २०५८ मा उनी भारत भागे। भारतको सिम्ला भन्ने ठाउँमा पुगे। व्यास नदीको किनार, कत्ले नदी किनार, समग्रमा भन्दा नेपालीले अंग्रेजसँग लडेको ठाउँमा यो गीतको सुटिङ भएको बताउँछन् उनी। त्यसबेला पश्चिम भेगका विशेष गरेर जुम्ला, मुगु, डोटीका नेपालीहरू त्यहाँ प्रशस्त थिए। त्यसबेला धादिङतिरका एक जना वृद्ध, जो अहिले उक्त भिडियोमा देखिएका छन्, ती वृद्ध पनि दिनभर ज्यालादारी भारी बोक्दै हिँडेको भेट्टाए शर्माले। उनी भन्छन्, ‘यो गीत लेख्दा जस्तो खाले पात्र थिए, त्यस्तै पात्र भेटिए।’ उनलाई भेटेपछि शर्माले भनेछन्, ‘दिनभर जति कमाउनुहुन्छ, त्यति ज्याला म दिन्छु भनेर फकाइयो अनि थालियो छायांकन गर्न।’ उनी ती दिन सम्झँदै भन्छन्, ‘कतिखेर डोको बोक भनेको छ, कतिखेर भारी बिसाऊ भनेको छ। हाम्रा कुरा झिँजो मानेर बुढा रिसाएर विजोग !’ दिनभरको ज्याला त्यस्तै भारतीय ३०० रुपैयाँ दिएर उनलाई छायांकनपश्चात् बिदा गरेको याद अहिले झल्झल्ती आइरहने बताउँछन् उनी। नामुद कलाकारलाई पैसा तिरेर छायांकन गरेको भए यति सजीव भिडियो बन्ने कुरामा शंका भएको तर गीतको भावअनुसारको पात्र पनि त्यस्तै भेटिएकाले यो गीत जीवन्त बनेको शर्माको भनाइ छ। आफ्नो जीवनकालमा शर्माले ‘सिमली छायामा बसी’, ‘म त्यही आउनेछुु, ‘यसपालि त यस्तै भो आमा’, ‘झरनाको मीठो पानी’ लगायतका हालसम्म ५०० को हाराहारीमा गीतहरू रेकर्ड गरिसकेका छन्।

 

स्रोत : थाहा खबर

  • १९ श्रावण २०७५, शनिबार १५:१८ प्रकाशित
  • Nabintech