झोले युगको उदय !

झोलेहरुसँग खासमा न हुति हुन्छ, न त बुद्धि नै । न त उनीहरुसँग विवेक हुन्छ, न त बौद्धिकता । मालिकको लोलीमा बोली मिलाउनु नै उनीहरुको खास धर्म र कर्म हुन्छ । सारत: उनीहरु आँखा अन्धा र कान सुन्ने बहिरा हुन्छन् । त्यसैले उनीहरु मालिक अर्थात् श्री ३ खड्कप्रसाद ओलीकै लोलीमा बोलि मिलाउदै भनिरहेका हुनेछन् - म झोले हो ।

  • जीवन श्रेष्ठ

कुनैबेला प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यूलाई बेतमासको एउटा लहड चलेको थियो, बत्तिको पोलमा चढ्ने अनि पत्रिकाको ज्याकेट ओढ्ने । अहिलेजस्तै दुइतिहाइको शक्तिशाली प्रधामनमन्त्री भएको बेला नेकपाकालीन समयको कुरा थियो त्यो । जब ओली यसरी सर्वशक्तिमान बन्न थाल्नुहुन्छ तब उहाँको लहड र बालहठको लिला देख्न र भोग्न पाइन्छ ।

“जंगेलाई लागेपछि लाग्यो लाग्यो” भन्ने स्वभावका उहाँ अन्तत्वगोता आफ्नो तस्वीरमूनि “नयाँ युगको सुरुवात” लेखर काठमाडौँ उपत्यकाका सारा बिजुलीको पोलमा चढ्नुभयो । पत्रपत्रिकाको ज्याकेट ओढ्नुभयो । र सगौरव भन्नुभयो, म प्रधानमन्त्री भएकाले नयाँ युगको सुरुवात भयो । तर, नेपाली जनताले नयाँ युगको अनुभूति गर्न सकेका छैनन् । खैर त्यसको ठिक सात वर्षपछि ओलीले फेरि अर्को युगको शुरुवात गर्नुभएको छ, झोले युग !

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफैँद्वारा प्रतिपादित झोले दर्शनमा आधारित यो युगको घोषणा उहाँ आफैँले फेसबुकमा फोटो पोष्ट्याएर गर्नुभएको हो । “म झोले हो”को अपार सफलतापछि अब के आउँछ, त्यो भने हेर्न बाँकी नै छ । तर जे-जस्तो भए पनि अहिले झोलेले तहल्का पिटिरहेकै छ । दिल खोलेर नेपाल खोल्टोमा एमालेका नन्दी भिरिङ्गीहरुले आफूले आफैँलाई झोले भएकोमा सगौरव प्रस्तुत गरिरहेका छन् । उनीहरु सामाजिक सञ्जालका भित्तातिर “म झोले हो” भनेर चिप्काइरहेछन् । र अध्यक्षले उद्धघाटन गरेको अभियानलाई सञ्जालमा ट्रेण्डिङको टाकुरामा उकाल्दैछन् ।

नेकपा एमालेका परमानेण्ट अध्यक्ष रहेका श्री ३ खड्कप्रसाद ओलीज्यूको पहिलोपटक प्रस्तुत यो स्वघोषित झोले अभियान उहाँका स्थायी झोले हुँदै अहिले ढुलमुले कार्यकर्तासम्म फैलिँदै छ । झोलाको खास विशेषता नै संक्रमण हो । संक्रमणले न जात भन्छ, न धनी गरिब !, न त मुर्ख वा विद्धान नै । हो संक्रमणले न त मान्छेले जस्तो रंग विभेद गर्छ, न त लिङ्गकै आधारमा ! अत: झोले संक्रमणले छिट्टै एमाले संक्रमित हुनेमा कुनै शंका छैन । झोले भनेको एउटै रंगको रबरको सोल भएको चप्पल हो, जुन जसको खुट्टामा पनि फिट हुन्छ ।

झोले युगको सुरुवातसँगै जनताको बहुदलीय जनवादको जैनै चुँडिएको छ । हुन त कहिले पो सग्लोथ्यो र ! हो अब प्रधानमन्त्री ओलीज्यूबाट एउटा सम्बोधन आउनेछ, त्यो पनि रातको ठीक १२ बजे । उहाँले झोले दर्शनको राम्रो प्रवचन छाँट्नुहुनेछ । त्यसको सिद्धान्त, मर्म, धर्मको तार्किक व्याख्या, बखान गर्नुहुनेछ । त्यसपछि झोलाबाट एउटा डायरी निकाल्दै, जुँगमा ताउ लगाएर त्याहाँ लेखिएका केही मीठास उखान-टुक्का जोड्दै नेपाल गणतन्त्रात्मक मुलुकबाट फड्को मारेर झोलेतन्त्रात्मक मुलुकमा प्रवेश गरेको सगौरव घोषणा गर्नुहुनेछ । त्यसपछि व्यवस्था परिवर्तनको माग गरेर सडकमा उफ्रने सूर्य चिन्हका उम्मेदवार कमल थापा र झापामा भोट साटासाट गरेका राजेन्द्र लिङ्गदेनहरुको मुखमा बुजो लाग्नेछ ।

ओलीले सोही सम्वोधनमा आफ्‌नो पार्टीको नाम नेकपा एमालेबाट नेकपा झोले भएको घोषणा गर्दै हँसिया हथौडाको ठाउँमा खकनाको झोला र सूर्यको स्थानमा टुन्टुने झोला राखिएको जानकारी पनि गराउनुहुनेछ । दुईचार जना र्‍यापरलाई बोलाएर गीत कन्न लगाउनेछ, ओलीबाबा झोलाधारी, ल्याइदेउ पद पैसाको भारी । त्यसपछि उहाँले चिच्याइ चिच्याइ भन्नुहुनेछ, झोलेबाद जिन्दावाद । हो म झोले हो । लगत्तै हलमा उपस्थित झोलेहरुबाट परर तालि आउनेछ । दर्शकदीर्घाको अग्रपंक्तिमा रहेका इश्वर पोखरेल, शंकर पोखरेल तथा संपूर्ण पोखरेल परिवारले “महाराज म पनि झोले हो”भन्दै तालि ठोक्दै सलामी अर्पण गर्नेछ । विष्णु पौडेल र रिजालहरुले पनि चिच्याइ चिच्याइ भन्नेछन् ”म झोले हो” । अनि त्यहाँ सहभागी सबैले चिच्याइएर गगनभेदी नारा लगाउँदै भनिरहेका हुनेछन् म झोले हो-म झोले हो !

झोलेहरुसँग खासमा न हुति हुन्छ, न त बुद्धि नै । न त उनीहरुसँग विवेक हुन्छ, न त बौद्धिकता । मालिकको लोलीमा बोली मिलाउनु नै उनीहरुको खास धर्म र कर्म हुन्छ । सारत: उनीहरु आँखा अन्धा र कान सुन्ने बहिरा हुन्छन् । त्यसैले उनीहरु मालिक अर्थात् श्री ३ खड्कप्रसाद ओलीकै लोलीमा बोलि मिलाउदै भनिरहेका हुनेछन् – म झोले हो ।

केही नेपाली भाषाका पण्डितहरु सामाजिक सञ्जालमा प्रशारित यो प्रत्यक्ष प्रशारण हेरर एक्कासी अट्टहास गर्न थाल्नेछन् । र, भन्नेछन्, मूलाहरु साँचिक्कैको झोले रछन् । त्यही भएर “म झोले हो” भन्दैछन् । पण्डितहरुको आशय नेपाली भाषा र ब्याकरणसँग जोडिएको प्रष्ट हुन्छ । उनीहरुका अनुसार “म झोले हुँ” हुनुपर्ने हो तर विवेकशून्य भिडले भने मालिकले जे भन्यो त्यही भजाउँदै गरेको भन्दै गरेको हुन्छ । कपि एण्ड पेस्ट । मालिकले हो भनेपछि उनीहरुले पनि हो नै भन्दिए । ब्याकरणको नीति, नियम र कानून अनुसार “हो” शब्द गलत प्रयोग भयो “हुँ” भन्नुपर्छ भनेर मालिकलाई भन्न नसक्नु र आफैँ पनि सच्चिन नसक्नु नै झोलेहरुको खास विशेषता हो र त्यही विशेषता अनुसार नै हलमा उपस्थित भिड ताण्डव नाचिरहेका हुनेछन् ।

त्यसो त नेपालामा झोले नभएको कुनै दल छैन् । एमालेभित्र भने झोले प्रणाली बहुत पुरानो, स्थायी र प्रिय हुँदै गएको छ । ओलीको उदयपश्चात झोले प्रणालीले त्यहाँ झन गति र प्रगति गर्न थालेको हो । ओलीको झोला बोक्नेलाई बैठक र बेडरुमसम्म पनि छुट, नबोक्ने र आलोचना गर्नेलाई पदच्यूत गर्ने रोगबाट को-को ग्रसित र त्रसित भए ? दुनियालाई थाहै छ । त्यही भएर म झोले हो भन्दै सच्चा झोले बन्ने होड एमालेमा विचित्रका साथ चल्दैछ ।

हुन पनि चारदिशाबाट फाइदा कुम्ल्याउन पाउने भएपछि झोले नबनेर के बन्ने त रु कसैलाई चौरासीमा टिकट पड्काउनुछ, कसैलाई चौरासी ब्यञ्जनले मुख मिठ्याउनुछ । कसैलाई पदको पगरी चाहिएको छ, कसैलाई पैसोको भकारी भर्नुछ । त्यसैले ती झोलेहरु विहानै सबेरै उठेर मुखपाउ धोएर, पलेँटी कस्दै दत्तचित्त भएर भजन गाउँने गर्छन्, जयजय ओली प्रभू जय जय ! त्यसपछि मालिकको पुराना भाषण खोज्दै पढ्ने गर्छन् । सामाजिक सञ्जालमा पोस्टाएका मालिकका भिडियोहरुलाई लाईक, सेयर गर्ने गर्छन् ।

मालिकले कुर्तक नै गरेको भए पनि सोह्रै आना ठीक भन्दै कमेन्ट ठोक्ने गर्छन् । विपक्षको नेता र कार्यकर्तालाई सत्तोसराप गर्दै उनीहरुको स्टाटसलाई ट्रोल बनाउने र त्यसको स्किनसर्ट लिएर मालिक रिझाउन मेसेञ्जरमा ठेल्दै आफूहरुको दिनचर्य यसरी नै विताउने गर्छन् । झोलेहरुको कमेन्ट यस्ता हुन्छन् कि मालिकले “मलाई मरी जा भनेर किन सराप्छौ ? यो गाउँमा बोक्सी बग्रेल्ति छन् ! बरु मलाई बोक्सी लगएर खुत्रुक्क पारिदेऊ” भनेर भाषण गर्यो भने “वाह क्या वैज्ञानिक तर्क” भनिनेछ ।

देश र नागरिकका झोले नभई यस्तै नियति, प्रकृति, संस्कृति र प्रवृत्तिका झोलेहरु म झोले हो भनेर स्वघोषणा गरेपछि विद्यार्थीले किताब बोक्ने झोला, विद्धान-दार्शनिकले दर्शन बोक्ने झोला, किसानले अन्न बोक्ने झोला, योजनाकारले योजना बोक्ने झोला, महिलाले मेकअप सामान बोक्ने झोला, बृद्धाले भत्ता थाप्ने झोला जस्ता अर्गानिक एवम् खाँटीका झोलाहरु भने अत्तालिएका छन् । उनीहरु आफ्‌ना घोर अपमान भएको भन्दै आन्दोलन गर्ने तयारीमा छन् । कूझोलाहरुको यो शान र रवाफदेखेर उनीहरु कहिले ट्वाँ पर्छन् त कहिले छक्क ।

जेहोस् ढिलै भए पनि एमालेजनले आफू खासमा जस्तो हो त्यस्तै आत्मवोध गरेको छ र यो आत्मवोधको समय पनि हो । हो नेपाली राजनीति झोला प्रधान हुँदै गएकोछ । यसलाई चेतनाको आराले मात्र चिर्न सकिन्छ । म झोला हो भन्दै स्वीकार गर्ने अनि गल्ति दोर्याउदै जाने हो भने नाप्नेवाला केही छैन् । त्यसैले झोलाभित्र गुजिल्टिएर राखेको त्यो ३३ किलो सुन, भुटानी शरणार्थीमाथि लगाएको गुण, आलमको खुन, गिरीबन्धुको नूनलगायत जति पनि बेथिति, अनियमिताको सडेगलेका थुन छन् ति सबैलाई निकाल्न सक्यो भने मात्र म झोले हो भनेर गर्व गर्नु । हैन भने झोले अभियान ओली महाराजाकै उखानमा सीमित हुनेछ – नमच्चिने पिङको सय झट्का !

ठीकै छ यसपटक त जनताको झोले व्यंग्यबाट जोगिन झोले स्वघोषणाको अभियानको सुरुवात भएको छ । तर, अर्को पटक जनताले “चोर”, “डाँका”, “भ्रष्टाचारी” भनेर ट्रोल गर्न थाले भने “म चोर हो” भन्ने नयाँ अभियान चलाएको यो बबुरोको आँखाले देख्न नपरोस । जय होस् ।

  • २२ जेष्ठ २०८२, बुधबार १५:३४ प्रकाशित
  • Nabintech