कृषि सेवा केन्द्र स्थानान्तरणको निर्णय : अपरिपक्व प्राविधिक विश्लेषण
  • भुम भण्डारी

नेपाल कृषिप्रधान देश हो, जहाँ कुल जनसंख्याको ठूलो भाग कृषि व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छ । नेपालमा कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन वृद्धिका लागि सरकारले विभिन्न योजना, कार्यक्रम, तालीम तथा अनुदानमार्फत करोडौं रकम खर्च गर्दै आएको छ । यद्यपि, यस्ता कार्यक्रमहरूको दीर्घकालीन लक्ष्य प्राप्ति र सफलताका लागि पूर्वाधार विकास, सुदृढ नीति, वैज्ञानिक दृष्टिकोण र स्थानीय आवश्यकता तथा सन्दर्भअनुसारको कार्यान्वयन अत्यावश्यक हुन्छ ।

कृषि क्षेत्रमा जैविक तथा रासायनिक वस्तुहरूको प्रयोगको सन्तुलन एक महत्वपूर्ण विषय रहन्छ । आजको दिनमा अनियन्त्रित र अत्यधिक विषादी प्रयोगले केवल कृषि उत्पादनको गुणस्तरलाई मात्र नभई मानव स्वास्थ्य र वातावरणमै गम्भीर असर पारिरहेको छ । रासायनिक मल तथा विषादीहरू विशेषगरी कीटनाशक, अनावश्यक झारपार नाशक र जीवाणुनाशक रासायनिक विषादीको यदि वैज्ञानिक र सुरक्षित ढङ्गले प्रयोग नगरिएमा, गम्भीर रोगको कारक बन्न सक्छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तत्कालीन श्री ५ को सरकार कृषि प्रसार शाखा हरिहर भवन कृषि परियोजना अन्तर्गत आर्थिक तथा प्राविधिक सहयोगमा कोहलपुरमा स्थापना गरिएको जिल्ला कृषि बिकास कार्यालयको बाँकेको कृषि सेवा केन्द्र कोहलपुरको भौतिक पूर्वाधार एक उदाहरणीय संरचना थियो । झन्डै ७ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रमा सभाहल, प्रशासनिक तथा प्राविधिक कक्ष, आवश्यक कर्मचारी आवास, कृषि सूचना केन्द्र, मल र बीउ भण्डारण तथा विषादी भण्डारणको लागि छुट्टै संरचना निर्माण गरिएको थियो । यी सम्पूर्ण संरचनाहरू सुरक्षित घेराभित्र आम नागरिकको पहुँच तथा जोखिम मूल्यांकनलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको थियो ।

तर, हाल कोहलपुर नगरपालिकाले उक्त सेवा केन्द्रलाई कुनै उचित पूर्वाधार र जोखिम न्यूनीकरण उपाय बिना स्थानान्तरण गरेको छ । कृषि सेवा केन्द्र केवल कागजी कार्यालय नभई कृषक र प्राविधिकबीचको ज्ञान आदानप्रदान, सल्लाह, स्रोतको उपलब्धता र तालिमको माध्यम पनि हो । यसरी हचुवाको भरमा गरिएको स्थानान्तरणले त्यसको सेवा पहुँच, प्रभावकारिता र सुरक्षा दुवैमा नकारात्मक असर पार्न सक्छ ।

विशेषगरी विषादी र मलजस्ता संवेदनशील रसायनहरूको भण्डारण अत्यन्त सुरक्षित र वैज्ञानिक मापदण्डअनुसार हुनुपर्दछ । अनियमित भण्डारणले आगलागी, विषादी चुहावट, जलमूल प्रदूषण तथा मानवीय स्वास्थ्यमा घातक असर पुर्याउन सक्छ । यदि नयाँ स्थानमा यस्ता संरचना र सुरक्षात्मक उपायहरू सुनिश्चित नगरीकन स्थानान्तरण गरिएको हो भने, त्यो केवल गैरप्राविधिक मात्र होइन, गैरजिम्मेवार र जनस्वास्थ्यका दृष्टिकोणले पनि खतरनाक निर्णय हो । यस्तो अवस्थामा कृषि क्षेत्रलाई सुरक्षित, प्रभावकारी र दिगो बनाइराख्न कृषि कार्यालयहरूको स्थान, संरचना र सेवा व्यवस्थापन निर्णयहरू पूर्णरूपमा प्राविधिक परामर्श, वातावरणीय मूल्यांकन र स्थानीय आवश्यकता अनुकूल हुन आवश्यक छ ।

कोहलपुर नगरपालिकाले कृषि सेवा केन्द्रको स्थानान्तरणको निर्णय पुनर्विचार गर्नुपर्छ । यदि स्थानान्तरण अपरिहार्य हो भने नयाँ स्थानमा पूर्वाधार, जोखिम न्यूनीकरणका उपाय र प्राविधिक मापदण्डहरू सुनिश्चित गर्न सकिएमा मात्र त्यो व्यावसायिक र जनउत्तरदायी निर्णय ठहर हुनेछ । कृषि सेवा केन्द्र जस्ता संवेदनशील र प्राविधिक संस्थाहरूको निर्णय केवल प्रशासनिक हठले होइन, समग्र प्रणाली र प्रभाव मूल्याङ्कनको आधारमा लिनु आवश्यक छ । अन्यथा, यस्तो कदमले दीर्घकालीन रूपमा कृषि विकास, किसानको जीवनस्तर र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।

  • २४ बैशाख २०८२, बुधबार १३:३२ प्रकाशित
  • Nabintech