शान्ति, अनुशासन र समाजसेवाको सन्देश बोकेको शैक्षिक आन्दोलन
  • बेगम थापा

नेपालको इतिहासमा जब-जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब-तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२ सालमा माओवादीद्वारा एकतान्त्रीय राजतन्त्रविरुद्ध जनयुद्ध छेडिँदा, प्रायः सबै सशस्त्र आन्दोलन भएका थिए । यी आन्दोलनमा कतिले ज्यान गुमाए, कति घाइते भए, कति शहीद, वेपत्ता र अनाथ भए ।

तर, नेपाल शिक्षक महासंघद्वारा २०८१ साल चैत २० गतेदेखि सुरु गरिएको शैक्षिक आन्दोलन फरक छ । यो आन्दोलन अहिले २५औँ दिनमा प्रवेश गरिसकेको छ र अझै पनि शान्त, सभ्य, अनुशासित र समाजसेवाको सन्देश दिँदै अगाडि बढिरहेको छ । अहिले सम्मानित सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न र तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सिर्जना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विश्वमै केही यस्ता शान्तिपूर्ण आन्दोलनहरू छन्, जसले गहिरो प्रभाव छोडेर युगान्तकारी परिवर्तन ल्याएका छन् ।

१. महात्मा गान्धीको नेतृत्वमा भारतको स्वतन्त्रता आन्दोलन (१९१५-१९४७) : सत्याग्रह, असहयोग र अहिंसामा आधारित यस आन्दोलनले भारतलाई बेलायती साम्राज्यबाट स्वतन्त्र गराएको थियो ।

२. मार्टिन लुथर किङ जुनियरको नागरिक अधिकार आन्दोलन (१९५०-१९६०) : जातीय विभेदको अन्त्य र अफ्रिकन-अमेरिकी नागरिक अधिकारको सुनिश्चिततामा यो आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गर्‍यो ।

३. नेल्सन मण्डेलाको अहिंसात्मक सङ्घर्ष (१९५०-१९९४) : रंगभेदविरुद्धको दीर्घकालीन संघर्षले दक्षिण अफ्रिकामा लोकतन्त्रको पुनःस्थापना गर्‍यो ।

४. पोल्याण्डको “सोलिडारिटी” आन्दोलन (१९८०) : कम्युनिस्ट शासनको पतन र लोकतान्त्रिक व्यवस्थाको स्थापनामा यो आन्दोलन निर्णायक बन्यो ।

यि सबै आन्दोलनहरु शान्तिपूर्ण र संयम थिए ।

आज नेपालमा भइरहेको शैक्षिक आन्दोलनले पनि अहिंसात्मक संघर्षको यही गौरवशाली परम्परालाई पछ्याएको छ। सुरक्षाकर्मीलाई न त टियर ग्यास प्रयोग गर्नुपरेको छ, न लाठी चार्ज गर्न । आन्दोलनकारीले न ढुंगा-मुढा चलाइएका छन्, न अशिष्ट नाराबाजी । न त टायर जलाएर सडकमा धुवाँ र दुर्गन्ध फैलाइएका छन् ।

बरु, आन्दोलनको स्वरूप नै फरक देखिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाषा, कला, संस्कृति र साहित्यको अनुपम प्रदर्शन हुँदैछ । आन्दोलन स्थल माईतिघर मण्डलादेखि बानेश्वरसम्मको सडक अहिले कला प्रदर्शनीको केन्द्रजस्तै देखिन्छ । आन्दोलनमा नै भैइरहेको कहिले रक्तदान कार्यक्रम, कहिले सरसफाइ अभियानले शिक्षकहरूले आन्दोलनको माध्यमबाट सामाजिक सेवा भावको सन्देश दिएका छन् । पिउने पानी बाँड्ने शैक्षिक संस्थाहरू छन्, सडक छेउमा व्यवसाय गर्ने दिदीबहिनीहरू ढुक्कले व्यापार गरिरहेका छन् । स्थानीय होटल र पसलहरूमा आन्तरिक पर्यटनको जस्तो चहलपहल देखिन्छ ।

‘टुकी’को उपमा पाएका शिक्षकहरू अहिले राजधानीमा नयाँ शिक्षा ऐनको माग गर्दै उपस्थित छन्, शिक्षा सुधार र राष्ट्रिय समृद्धिका लागि ।

राजधानी शिक्षित जनशक्तिले भरिएको छ। यस्तो आन्दोलन उपेक्षित भयो भने, यही शान्त आन्दोलनको शक्तिले प्रतिगामी शक्तिलाई विस्थापित गर्न सक्ने सम्भावना प्रवल देखिन्छ। नयाँ युगको बीजारोपण पनि यही आन्दोलनले गर्न सक्छ ।

अन्त्यमा,
“एक जुगमा एक दिन एकचोटि आउँछ !
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ !!”

भनेका वरिष्ठ कवि गोपाल प्रसाद रिमालका शब्दहरू यस घडीमा अत्यन्त सान्दर्भिक लाग्छन् ।

अतः शान्तिपूर्ण, अनुशासित र दूरदर्शी ढङ्गमा अघि बढिरहेको यस ऐतिहासिक शैक्षिक आन्दोलनको मर्म बुझ्दै शिक्षक-कर्मचारीहरूको आत्मसम्मानसहितको नयाँ, अग्रगामी र समावेशी शिक्षा ऐन जारी गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

  • १३ बैशाख २०८२, शनिबार १२:४४ प्रकाशित
  • Nabintech