दुर्लभ रोगसँग जुध्दै कोहलपुरका फिरोज, जिवन रक्षाकालागी सहयोगको याचना
  • काँचुली खबर

९ बैशाख, कोहलपुर । बाँकेका एक युवा दुर्लभ रोगका कारण जिवन-मरणको दोसाँधमा पुगेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकका २६ वर्षिय फिरोज बक्सलाई ४ वर्ष अघि एउटा अचम्मको लक्षण देखा पर्यो । उनीलाई वान्ता हुने, झाडापखाला लाग्ने तथा एकै पटक शरीरका सबै जोर्निहरु दुख्ने समस्या देखियो । त्यसैबेला उनको मेरुदण्डको पुछारमा सानो गिर्खा जस्तो डल्लो पलायो ।

परिवारसँग सामान्य जिवन बिताईरहेका फिरोजलाई अचानक विभिन्न समस्या देखिएपछि उनले बाँकेका विभिन्न अस्पतालमा पुरेर आफ्नो समस्या देखाए । तर यहाँका नाम चलेका डाक्टरहरुले समेत समस्या पहिचान गर्न नसकेपछि उपचारकालागी काठमाण्डौं गएका फिरोजलाई ग्राण्डि अस्पतालले विश्वकै दुर्लभ रोगको संकेत देखिएको बताएपछि उनि छाँगाबाट खसेजस्तै भए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनलाई जिसिटि सेन्ड्रम अर्थात कम्मरमा ट्युमर देखिएको भन्दै अस्पतालले तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दियो । एक लाखमध्ये एक जनालाई मात्र हुने यस्तो रोग पत्ता लगाएका ग्रान्डिका चिकित्सकहरुले शुरुमा अप्रेशनबाट रोगको निदान गर्ने बताएपनि धेरै दिन उक्त ट्युमरको अप्रेसन भने गरेनन् ।

केही समयपछि ग्राण्डि अस्पतालका चिकित्सकहरु फिरोजको ट्युमरको अप्रेसन गर्न तयार भए । थोरै भाग अप्रेसन गरेर आधा किलो जति ग्राण्डिको टोलिले उनको शरीरवाट ट्युमर निकालेर घर फिर्ता गर्दियो । तर अप्रेशनपछि ट्युमर बढेर कम्मरको वरिपरीको पुरै भागभरी फैलिएको फिरोजले बताए ।

दुखाई पहिले नै थियो अब झन अप्रेशन गरेको शरीर लिएर घर आएका फिरोजलाई दुखाई र पिडा खपि नसक्नु भयो । “अन्य औषधि थिएन त्यहि दुखाई कम गर्ने औषधि खाने हो, दुख्यो भनेर पनि कसलाई भन्नु । पिडा सहेर कतिदिन भोकै प्यासै घरमै बसिरहें” गहभरि आँशु ल्याउदै फिरोजले भने ।

पिडा बढदै गएपछि उनी चेकअपको लागि फेरी पुगे खजुरा क्यान्सर अस्पताल । त्यहाँ उनको ट्युमरको अवस्थाबारे परिक्षण गर्दा ट्युमर झन बढदै गएर मलद्धारसम्म फैलिसकेको चिकित्सकहरुले भेटे र रिफर गर्दिय भारतको एम्स अस्पताल ।

भारतको एम्स अस्पताल पुगेका पिडित फिरोजलाई त्यहाँका चिकित्सकहरुले मलद्धारसम्म फैलिएको ट्युमरले दिशा गर्न समस्या देखेपछि शल्यक्रिया मार्फत पेटबाट मल विर्सजन गर्ने अवस्था त ल्याईदिए तर उनको यो अवस्थाले झन उनलाई असहज परिस्थिती निम्त्याईदिएको छ ।

नेपाल र भारतमा उपचार गराउँदा गराउँदै अहिलेसम्म ३० लाख रुपैयाँभन्दा बढी खर्च लागेको फिरोजले बताए । विगत ४ वर्षदेखि आफन्तसँग ऋण सापटी लिएर, आमा र श्रीमतीको गहनासमेत बेचेर उपचार गरिरहेका छन् । जति उपचार गर्दापनि रोग निर्मूल हुन सकेको छैन् । ट्युमर झन बढिरहेको छ । ट्युमर दिनप्रतिदिन फैलदो क्रममा छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । रोगकै कारण शरीरमा रगतको मात्रा कम हुनुका साथै शरीरका अन्य भागमा समेत ट्युमर फैलिदो क्रममा रहेका कारण आफूलाई हिँड्डुल गर्न, उठ्न बस्न र खानसमेत समस्या रहेको फिरोजले बताए ।

५ वर्ष अघि फिरोजका वुवा सफितुल्ला मियाको पनि ब्रेन ट्युमरकै कारण देहवशान भएपछि पिडित बनेकी कोहलपुर ३ कि जमिला खातुन आफ्नो आशा भरोसाको केन्द्र छोराको यो अवस्थाबाट थप प्रताडित भएको बताउछिन । त्यसो त उनका दुई छोरा हुन तर पनि कमाई गर्ने फिरोजको यो अवस्थाले उनले सञ्चालन गरेको मोवाईल पसल समेत आजभोलि बन्द छ । फिरोजको उपचारमा आफ्नो गरगहना देखि जग्गा जमिन बिक्रि गरेर सक्किसकेपछि यतीबेला जमिला आफ्नो छोरालाई बचाईदिन याचना गर्दै आएकी छन ।

पिडित फिरोज, उनको मामा र आमा ।

“अब त ट्युमर बढेर माथि फोक्सोसम्म र तल मृगौलासम्म पुगिसकेको अवस्था छ, पिसाब फेर्न पनि कठिन हुदै गईरहेको छ” फिरोजले भने “एम्स अस्पतालले रोग निदान गर्ने बताए पनि उपकरणहरु तेस्रो मुलुकबाट मगाउनुपर्ने भएकाले अप्रेशन महंगो हुने बताएको छ ।”

“खर्च धेरै लाग्ने देखियो, मेरै उपचारमा घरखेत सबै सकियो । अब त भगवान भरोसा छ, आर्थिक जोहो भयो भने बाँचिन्थ्यो की” लामो सुस्केरा हाल्दै फिरोजले भने ।

नावालक एक छोरा, पत्नि र एकल आमाको साहाराका रुपमा रहेका फिरोज आत्मविश्वासकाकै कारण अहिलेसम्म रोगसँग लडेर बाँच्न सफल भएको बताउँछन ।

जटिल रोगसँग लडिरहेका फिरोज देख्दा सामान्य देखिएपनि उनीलाई नजिकबाट नियाल्ने हो भने निकै दर्दनाक अवस्था रहेको कोहलपुर वडा नं. ३ का वडाध्यक्ष माधब रिजाल बताउँछन । फिरोजको उपचारकालागी ठुलो रकम आवश्यक पर्ने उल्लेख गर्दै रिजालले उनी मात्र होईन उनीमाथि आश्रित परीवारको समेत उद्धार गर्न आम नेपालीहरुलाई आह्वान गरेका छन ।

वडा, नगरपालिकाको सानो सहयोगले मात्र नपुग्ने भएपछि अब फिरोज बचाउ अभियान सञ्चालन गर्ने सोच बनाएको बताउदै अध्यक्ष रिजालले सबै नगरवासिहरुलाई सक्दो सहयोग गर्न अपिल समेत गरेका छन ।

फिरोजका वुवा र फिरोजलाई उपचारमा सहायता दिईरहेका फिरोजका मामाले उनलाई वचाउने उद्धेश्यले नेपाल भारतका धेरै शहरहरुमा पुगेपनि निराशा मात्र हात लागेको बताए । आफ्नो भान्जाको जिवन रक्षा र आफ्नो बहिनी जमिला खातुनको समेत उद्धार हुनेगरि उनले सबैसँग सहयोगको याचना गरेका छन । फिरोजलाई सहयोग गर्न चाहने ब्यक्ति, संस्था एवं सरोकारवाला सबै निकायले फिरोजको नाममा ग्लोवल आईएमई बैंकमा रहेको खाता नं. ०८३०७०१०१००६८१ मा सहयोग रकम जम्मा गरिदिन पिडित विरामीका आफन्तले आग्रह गरेका छन । यो दुर्लभ ट्युमरबारे बुझन र सहयोग गर्न चाहने दाताहरुले फिरोजको मोवाईल नं. ९८०२४७६८७९ मा सम्पर्क समेत गर्न सक्नेछन ।

  • ९ बैशाख २०८२, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech