अब समय आएको छ, जनताले प्रश्न उठाउनुपर्छ । योजना पारदर्शी, उपयोगी र दिगो बनाउन दबाब दिनुपर्छ । नेतृत्वले जिम्मेवारी लिनु आवश्यक छ । किनभने विकास भनेको देखावटी होइन, जीवनस्तरमा सुधार ल्याउने प्रक्रिया हो ।
करिब २०७४ सालदेखि निर्माण आरम्भ भएको कोहलपुर नगरपालिकाको “गौरवको योजना” १० तले भ्युटावर आजको दिनमा स्थानीय जनताको नजरमा एउटा विडम्बनाको प्रतीक बनेको छ । सुरुमा ‘घण्टाघर’, ‘धरहरा’ हुँदै ‘भ्युटावर’ नाम दिइएको यो संरचना बहुप्रचारित योजना भए पनि अन्ततः यो न त सुन्दर पर्यटकीय स्थल बन्न सक्यो, न नगरवासीका लागि उपयोगी सार्वजनिक संरचना बनेको छ । अवलोकन खुल्ला गरिएको दुई बर्षको अवधीमा करिब १२ हजार जतिले अवलोकन गरेको प्रवेश रेकर्डमा उल्लेख छ । टावर निर्माण सुरु हुनुअघि नै दुईपटक इस्टिमेट र डिटेल प्रोजेक्ट रिपोर्ट (DPR) बनाइयो भनिए पनि निर्माण कार्य प्राविधिक अध्ययन र आवश्यक तयारीबिनै अघि बढाइएको प्रमाण अहिलेका समस्याहरूले स्पष्ट पारेका छन । कमजोर जग, सतही चिरा, कमजोर झ्याल र हावाहुरीमा फुटेका सिसा, प्रयोगमा आउन नसकेको लिफ्ट यी सबै देख्दा निर्माणमा लापरवाही, लहड र स्वार्थको मिश्रण भएको बुझ्न कठिन छैन ।
भ्युटावरमा लिफ्ट जडान त गरिएको छ, तर कहिल्यै सञ्चालनमा आएको छैन । खानेपानी, शौचालय, आराम कक्ष, प्राथमिक उपचारजस्ता आधारभूत सेवा संरचना प्रयोगमा छैनन् । शौचालय फोहर, दुर्गन्धित छन । विजुली, खानेपानीको व्यवस्थापन अस्तव्यस्त छ । यस्तो अवस्थामा यो संरचना प्रयोगमा ल्याउनुको कुनै औचित्य पुष्टि देखिँदैन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उल्लेखनीय कुरा के छ भने, यो संरचना अझैसम्म पनि कोहलपुर नगरपालिकाले औपचारिक रूपमा हस्तान्तरणमा लिएको छैन । निर्माण सम्पन्न देखाए पनि कानुनी प्रक्रिया, कार्यपालिकाको निर्णय, नामाकरण सम्बन्धी बिधिसम्मत माइन्युटजस्ता आधारभूत कागजातको कार्य पूरा गरेको देखिदैन । यसले भ्युटावरको गुणस्तरीयता मात्र होइन, यसमा नगरपालिका प्रशासनको पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाउँछ ।
यसको सबैभन्दा विडम्बनापूर्ण पक्ष भनेको यो छ कि नगरपालिकाले लिफ्ट बिग्रिएको, सेवा सुविधा नपुगेको, संरचना अपुरो रहेको अवस्थामै भ्युटावर चढ्नका लागि आगन्तुक दर्शकबाट रु। ७५ शुल्क असुल गरिरहेको छ । न कुनै अपांग, जेष्ठ नागरिक, बालबालिका वा विद्यार्थीका लागि छुट छ । लिफ्ट प्रयोग समेतको शुल्क निर्धारण गरेर प्रवेश शुल्क निर्धारण गरेकोमा सेवा सुबिधा बिहिन अवस्थामा समेत रकम असुली भैरहेको छ । यो सीधै जनतालाई लुट्ने काम हो ।
योजनाको लागत बढ्दै गएर दशौँ करोड रुपैयाँ खर्च गरियो, त्यो पनि अन्य अत्यावश्यक योजनाको बजेट कटौती गरेर गरिएको छ । अहिले फेरि नगर विकास समितिमार्फत ४ करोड बराबरको नयाँ योजना ल्याउन लागिएको छ, जुन पुनः घडेरी बेचेर उठाइएको जनताको पैसाबाट गरिनेछ । यसरी जनताको जीवनस्तर उकास्ने योजनाको सट्टा, दुई तीन ठुला राजनीतिक दल र तिनका विश्वासिला कार्यकर्ता ठेकेदारहरुको स्वार्थमा योजना केन्द्रित भइरहेका छन । सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर योजना बाँडफाँड गर्ने, आ-आफ्ना कार्यकर्तालाई लाभ दिने प्रवृत्तिले जनतामा निराशा छाएको छ । यस्तो अवस्थामा “गौरवको योजना” भन्ने नामले पनि अब जनतालाई आकर्षित गर्न सक्दैन, बरु घृणाको विषय बन्दैछ ।
कोहलपुरको भ्युटावर आजको दिनमा सस्तो लोकप्रियताको मोह, अनियमितता, अव्यवस्था र नेताहरूको निजी स्वार्थको एउटा ऐना बनेको छ । जनताको चाहना, भावना र करको दुरुपयोग गर्दै गरिने यस्ता योजनालाई सुधार नगरेसम्म स्थानीय विकास केवल भाषण र बजेटमा सीमित हुनेछन ।
अब समय आएको छ, जनताले प्रश्न उठाउनुपर्छ । योजना पारदर्शी, उपयोगी र दिगो बनाउन दबाब दिनुपर्छ । नेतृत्वले जिम्मेवारी लिनु आवश्यक छ । किनभने विकास भनेको देखावटी होइन, जीवनस्तरमा सुधार ल्याउने प्रक्रिया हो । यदि यस्तै चलिरहने हो भने कोहलपुरजस्ता शहरहरूले केवल ढाँचामा मात्रै विकास गरेका कहलिने छन, वास्तविकतामा होइन ।