२ बैशाख, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जले बढी भन्दा बढी स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न नयाँ वर्ष २०८२ को सुरुवातसँगै जङ्गल सफारी सुरु गरेको छ।
नयाँ वर्ष शुरुभएसँगै निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट जङ्गल सफारी सुरु गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले पर्यटक बढाउने तथा मानव वन्यजन्तुबिचको द्वन्द्व घटाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेर सफारी सुरु गरिएको बताए । प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘यसको मुख्य उद्देश्य पर्यटनको विकास र आन्तरिक एवं विदेशी पर्यटकलाई पर्यापर्यटनसँग प्रत्यक्ष जोड्ने रहेको छ, अब यहाँ आएर पर्यटक वन्यजन्तुसँग रमाउन पाउने छन्।’
नयाँ वर्ष २०८२ को पहिलो दिनबाट सुरु गरिएको जङ्गल सफारीका क्रममा बाघ, चौका, चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारीले सघाउ पुग्ने उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले वन सप्ताह पनि चलिरहेको हुँदा जङ्गल सफारी निरन्तर जारी रहने बताए ।
उनले खडकवार, हात्तीसारबाट सुरु हुने जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिने जानकारी दिए ।
राप्तीसोनारी गाउँपालिका-८ का वडाध्यक्ष शालिकराम डाँगीले जङ्गल सफारीले पर्यटकको सङ्ख्या बढाउन ठुलो सहयोग गर्ने जनाउँदै पर्यटक बढ्दै गएका स्थानीयको आयस्तर पनि वृद्धि हुने बताए ।
जङ्गल सफारीको पहिलो दिन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, जिल्लाका पर्यटन व्यवसायी लगायत नेचर गाइड र पत्रकारहरूको पनि सहभागीता रहेको थियो।
वि।सं २०६७ सालमा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो।
जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन्।
करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावर र चराका विभिन्न प्रजाति पाइन्छन्। मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको सो निकुञ्जमा चौका प्रजाति एक विशेषताका रूपमा देखिएको निकुञ्जको भनाइ छ।
पछिल्लो समयमा आएर सो निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक उल्लेख्य रूपमा निकुञ्जमा आउन थालेको निकुञ्ज व्यवस्थापनले जनाएको छ।
२ बैशाख २०८२, मंगलवार १७:३५ प्रकाशित