१२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी बाँके ल्याइएको हो ।
पक्राउपर्नेमा काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं.१ वस्ने गौरव कार्की, ईश्वरी माया रोका र बारा जितपुर नगरपालिका वडा-३ वस्ने दिलिप कुमार सिंह रहेका छन ।
उनीहरूले बाँके डुडुवा-५ स्थित जुम्ला चन्दननाथ नगरपालिका वडा-८ बस्ने रेशमा श्रेष्ठको नाममा दर्ता रहेको कित्ता नम्बर ९५१ र ९५२, क्षेत्रफल ११,०६०.३८ ब.मि (३३ कठ्ठा) जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाएका थिए ।
त्यसरी नक्कली जग्गाधनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमान्डौबाट रु. १ करोड २० लाख रकम कर्जा लिएको बाँकेका डिएसपी आयूश प्रसाद जोशीले बताए ।
उक्त रकम बाँडि ठगी खाने कार्यमा संलग्नलाई काठमाण्डौ प्रहरीको सहयोगमा काठमाण्डौको बुद्दनगर र कोटेश्वरबाट पक्राउ गरि जिप्रका बाँकेमा ल्याई अनुसन्धान भईरहेको जाेशीले जानकारी दिए ।
१२ माघ २०८१, शनिबार ०९:२९ प्रकाशित