११ माघ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादिकाे भ्रष्टाचार बिराेधि अभियानबाट एमाले-काँग्रेस तर्सिएकाे दाबि गरेका छन । बाँकेकाे खजुरामा हिजाे आयोजित पार्टीकाे खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भ्रष्टाचारीहरुको सीट धेरै र भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएका कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाईएको बताए ।
उनले भने, ‘३२ सीट हुँदा त भ्रष्टाचारका विरुद्ध एक युद्ध छेड्यौँ । सामाजिक न्यायको पक्षमा लड्यौं । अन्तराष्ट्रिय रुपमा नेपालको इज्जत बढायौं । हामीलाई तपाईंहरुले ०८४ मा जस्तै बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचार जरोकिलो उखालेर फ्यालिनेछ । सामाजिक विभेदको पूरै अन्त्य गरेको छु । म ७० पुगेपनि एक पटक फेरी भ्रष्टाचार र प्रतिक्रियावादीहरुका विरुद्ध लडाइँ लड्नुछ । र नेपाली जनताले जित्नुछ ।’
उनले सरकारले अध्यादेशबाट शासन चलाउने कुचेष्टा गरेको भन्दै १८ गतेबाट सुरू हुने सदनमा सरकारविरुद्ध खरो रुपमा प्रस्तुत हुने बताए ।
पछिल्लाे समय पार्टी प्रवेश गर्नेहरुको लहर आएको दाबी गर्दै अध्यक्ष प्रचण्डले एमालेबाट माओवादी प्रवेश गर्नेहरुको सँख्या बढ्दै गएको बताए ।
आफ्नो कमीकमजोरी सच्याएर माओवादी जनतासँग एकाकार हुँदै अघि बढेको बताउँदै उनले भने, ‘हामी अहिले आत्मसमीक्षा गरेर अघि बढिरहेका छौं। कहिले कांग्रेस, कहिले एमालेसँग सहकार्य गरेर माओवादीकै पहिचान हराउँला भन्ने डर भएको थियो। अब त्यो गल्ती गरिनेछैन। अब माओवादी आफ्नै खुट्टा र एजेण्डामा उभिन्छ। अब भ्रष्टाचारीहरुसँग समीकरण हुँदैन।’
खबरदारी सभामा विभिन्न पार्टि परित्याग गरी सयाैंकाे सँख्यामा स्थानियहरू माओवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
११ माघ २०८१, शुक्रबार ०८:२६ प्रकाशित