९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यातायात ब्यबस्था कार्यालयको शाखा विस्तार गरीएको छ । कोहलपुरस्थित पुरानो बसपार्कमा बुधबार एक कार्यक्रमका बिच यातायात ब्यवस्था कार्यालयको शाखा स्थापना गरी उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात कार्यालयको उद्घाटन गरेका हुन । प्रदेश सरकारको निर्णय अनुसार कोहलपुरमा शाखा कार्यालय स्थापना भएको भन्दै मन्त्री न्यौपानेले खुसी ब्यक्त गरेका छन ।
मन्त्री प्रचण्डले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गर्न आवश्यक रहेको औल्याए । उनले कोहलपुरको मात्र नभएर बाँकेको समग्र विकासकालागि भौतिक क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।
उनले तिन तहका सरकार बिच समन्वय र सहकार्य गर्दै समृद्ध लुम्बिनी प्रदेश बनाउन आवश्यक रहेको बताउादै उद्योगका क्षेत्रमा देखिएका समस्याहरु के-के छन त्यसको पहिचान गरी उद्योगिहरुलाई सहज रुपमा काम गर्न सक्ने बतावतरण बनाउन प्रदेश सरकार लागिपरेको जिकिर गरे ।
लुम्बिनी प्रदेश पूर्व बन मन्त्री दुर्गा चौधरी, पूर्व सामाजिक विकास मन्त्री रत्न खत्री, प्रदेश साँसद कृष्णा केसी (नमुना), सञ्जु कुमारी चौधरी, सांसद बसन्ती अधिकारी, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य लगाएतको उपस्थितीमा यातायातको शाखा कार्यालय उद्घाटन गरिएको हो ।
शाखा कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण, सवारी दर्ता किताब नवीकरणका साथै पटके सेवा तथा अस्थायी अनुमति पत्र र सवारी सम्बन्धी अन्य सेवाहरू उपलब्ध गराईने छ । उक्त कार्यालयको स्थापना पछि यस क्षेत्रका स्थानीय नागरिकहरूले यातायात सेवाका लागि लामो यात्रा गर्नुपर्नेस्थितिको अन्त्य भई सहज हुने विश्वास लिईएको छ ।
९ माघ २०८१, बुधबार १५:४२ प्रकाशित