१५ बैशाख २०८१, शनिबार
नेकपाका अध्यक्ष प्रचण्डलाई अन्तर्राष्ट्रिय सम्मान
  • काँचुली खबर

संयुक्त राष्ट्र संघमा आबद्ध युनिभर्सल पिस फेडरेशनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई शान्ति दूतको रुपमा सम्मान गरेको छ । यो संस्थाले विश्वमा शान्ति स्थापना, प्रबद्र्धन, अन्तर धार्मिक तथा सामाजिक सद्भाव कायम सँगसँगै पारिवारिक तथा नैतिक शिक्षाका लागि विश्वव्यापी अभियान सञ्चालन गर्दै आएको छ । यस अभियानका संस्थापक शान्तिवादी नेता डा. सन म्युन मुनले संयुक्त राष्ट्र संघमा अन्तर धार्मिक परिषद् स्थापना गर्ने प्रस्ताव गरेका थिए ।

अध्यक्ष प्रचण्डलाई दिएको सम्मानपत्रमा समाजको निमित्त उदाहरणीय जीवनयापन गर्ने तथा सर्वव्यापी नैतिक मूल्य मान्यताहरु, सबल पारिवारिक जीवन, अन्तरधार्मिक सहकार्य, अन्तर्राष्ट्रिय अमनचयन, संयुक्त राष्ट्रसंघसँगको सम्बन्धको नवीकरण, एक जिम्मेवार आम संचारमाध्यम र शान्तिको संस्कार स्थापित गर्नेहरुलाई युनिभर्सल पिस फेडरेशनले शान्ति दूतको रुपमा सम्मान गर्ने गरेको भनिएको छ ।जातीयता, राष्ट्रिय र धार्मिक मुद्दा भन्दा माथि उठेर विश्वशान्तिमा योगदान पुर्याउनेहरुलाई यो पुरस्कार दिइने गरेको विषयलाई पनि त्यहाँ उल्लेख गरिएको छ । प्रचण्डलाई सगर्व शान्तिदूतको रुपमा सम्मान गरिएको जनाइएको छ ।

सरकारको पक्षमा अन्तर्राष्ट्रिय लबिङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक महिनाभित्र भारत र चीन दुवै देशको भ्रमण गर्ने तयारीमा जुटेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट चीनका राष्ट्रपति सी जिन पिङ्गको निमन्त्रणा आइसकेको छ । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको साझेदारी अर्थात् विकास र समृद्धिका विषयमा छलफलका लागि प्रचण्डलाई बोलाएका हुन् । त्यसैले प्रचण्डले भारतको भ्रमण पहिले गर्ने समाचार स्रोतको दावी छ । भारत भ्रमणका क्रममा प्रचण्डले नेपाल-भारत रेल सेवा, जलमार्ग, विकास-निर्माणलगायतका विषयमा छलफल गर्ने छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीका अतिरिक्त प्रचण्डले भारतीय जनता पार्टी र काँग्रेस आईलगायतका राजनीतिक दलका शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने तयारी रहेको बताइएको छ ।

भारतको भ्रमणपछि प्रचण्डले जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने बताइएको छ । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिन पिङ्गलगायतसँग भेटवार्ता गर्ने तयारी छ । प्रचण्डको चीन भ्रमणको तयारी भइरहे पनि मिति तय नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको चीन भ्रमणका विषयमा चिनियाँ राजदूतले तयारी गरिरहेका छन् । बेइजिङ्गस्थित नेपाली राजदूतावासले समेत प्रचण्डको भ्रमण तालिकाबारे छलफल अगाडि बढाएको स्रोतको दावी छ । दुबै भ्रमणको मिति तय नभए पनि प्रचण्डको भ्रमणलाई दुबै देशले महत्व दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले प्रचण्डलाई पटकपटक निमन्त्रणा गरिसकेको छ । त्यसो त चीनमा पूर्वप्रधानमन्त्री भए पनि प्रचण्डलाई निक्कै महत्व दिने गरिएको छ ।

प्रचण्डको चीन भ्रमण वा भारत भ्रमणको मुख्य उद्देश्य भने समान देखिएको छ । प्रधानमन्त्री ओलीसँगको वार्ताका क्रममा भएका विषयलाई ठोस निष्कर्षमा पुर्याउनु रहेको छ । नेकपाका एक नेताले प्रचण्डको भ्रमण ओलीप्रतिको अविश्वास हटाउनु भएको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले दुई देशको भ्रमणका क्रममा निक्कै आशा गरेका थिए । त्यो आशा अनुसार दुबै देशको भ्रमणका क्रममा उपलब्धि हुन सकेको छैन । त्यसरी उपलब्धि नभएपछि सरकार अत्यन्तै निराश छ । ओलीले रेलमार्ग र जलविद्युत विकास तथा नगद सहायताको आशा गरेका थिए । उनी यी मुद्दामा झण्डै रित्तै हात फर्किएका छन् । त्यसैले दुई देशलाई समन्वय गर्ने गरी प्रचण्डले आफ्नो भ्रमण तय गरेका हुन् ।’

प्रचण्डको भ्रमणका विषयमा भने प्रधानमन्त्री ओलीसमेत जानकार रहेको बताइन्छ । प्रचण्डले भारत र चीनको भ्रमणका क्रममा नेपालमा लगानी भित्र्याउने र कम्तीमा पनि दुई देशले रेलमार्ग, नयाँ सडकमार्ग वा ठूला खालका जलविद्युत आयोजनामध्ये एउटारएउटा सहयोगस्वरुप बनाइदिनका लागि आग्रह गर्ने छन् ।

प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल र चीन जोड्ने रेलमार्गको विषयमा छलफल हुनेछ भने भारत भ्रमणमा यसअघि सहमति भएको काठमाडौं–दिल्ली रेलमार्गबारे छलफल हुनेछ । रेलमार्गको परिकल्पनालाई साकार पार्न नसकिएको अवस्थामा प्रचण्डको ध्यान जलविद्युत आयोजना निर्माणमा हुनेछ । स्रोतका अनुसार प्रचण्डले दुबै देशलाई कम्तीमा पाँच–पाँच सय मेगावाट क्षमताका आयोजना निर्माणका लागि आग्रह गर्ने छन् । त्यतिमात्र होइन, नेपाल सरकारलाई लगानीका लागि सघाउन अर्थात् आर्थिक अनुदान वा सहुलियत ऋणको विषयमा पनि कुराकानी हुनेछ । अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीका विषयमा जोड दिने गरेका छन् ।

प्रचण्ड उत्तर कोरिया पनि जानसक्ने

भनिन्छ, उत्तर र दक्षिणसँग परस्पर सम्बन्ध भएका नेतामा प्रचण्ड पर्छन् । त्यसैले अन्य देशले पनि उनलाई महत्व दिनु सामान्य कुरा हो । पछिल्लो समय उनलाई उत्तर कोरियाको निमन्त्रणमा निरन्तरजसो आइरहेको छ । नयाँ चुनावपछि पनि दुई पटक उनलाई उत्तर कोरियाको निम्ता आइसकेको छ । प्रचण्ड सकभर आफैं जाने नभएको अवस्थामा रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र विष्णु पौडेलमध्ये एक जनाको नेतृत्वमा उत्तर कोरियामा टोली पठाउने योजनामा छन् ।

उत्तर कोरिया भ्रमणको विषयमा अहिलेसम्म प्रचण्डको सचिवालयले केही पनि सार्वजनिक गरेको छैन । तर, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हक भने प्रचण्डले उत्तर कोरियाको भ्रमण गर्नेमा ढुक्क देखिन्छन् । उनले प्रचण्डलाई आउँदो सेप्टेम्बर ९ मा उत्तर कोरियाको ७० औं स्थापना दिवसको अवसरमा निम्ता गरेका छन् । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाका प्रमुख किम जोङ्ग ऊनले प्रचण्डलाई यसअघि पनि निमन्त्रणा पठाएका थिए । अहिले उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा न्यानोपन आएकाले प्रचण्ड उत्तर कोरियाको भ्रमणमा जानसक्ने सम्भावना रहेको पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बताए । उत्तर कोरियाले नेपालमा प्रचण्डको नेतृत्वमा सञ्चालन गरेको युद्धकै कारण आमूल परिवर्तन भएर एकात्मक व्यवस्थाको अन्त्य भएको बुझ्ने गरेको छ । त्यसैले उत्तर कोरियाको सत्तारुढ कम्युनिष्ट पार्टीले प्रचण्डलाई महत्व दिएको हो । तर, यी भेटले नेपाल र नेपाली नागरिकलाई कस्तो असर गर्छन् भन्ने कुरा नेपालका लागि मुख्य विषय हुन सक्छ ।

 

स्रोत : झिल्को

  • १६ श्रावण २०७५, बुधबार १२:४९ प्रकाशित
  • Nabintech