भारतीय नागरिक सहित पूर्वकर्मचारीको दुई अर्ब सम्पत्ति जफत गर्दै सरकार
  • काँचुली खबर

४ माघ, काठमाण्डौं । गृह मन्त्रालयले पूर्वकर्मचारी लगायतले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिलाई सरकारका नाममा फिर्ता ल्याउने भएको छ। सर्वोच्च अदालतबाट जफतको फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढेको हो।

भ्रष्टाचार गरी आर्जन गरिएका सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रस्ताव गृह मन्त्रालयबाट मन्त्रिपरिषद पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले बताए।

‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ,’ उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत संकलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौं।’

उनले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए।

महानिर्देशक पन्थीले दुई अर्ब रूपैयाँ बराबरको सम्पत्ति जफतको तयारीमा रहेको बताए।

पहिलो चरणमा पाँच जना पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारहरूले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृह मन्त्रालयले जनाएको छ।

कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएअनुसारका घरजग्गा जफत गरी सरकारको नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने उनले बताए।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी र परिवारका सदस्य, आमोनन्द मिश्र, सरस्वती ढुंगाना, मुरारीबहादुर कार्की, केशरजंग खड्का र रामात्रा चर्तुबेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको हो।

त्यस्तै आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषदमा प्रस्ताप पेस भएको छ।

विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाको नाममा काठमाडौंमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढेको हो।

डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको उनले बताए।

‘होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ,’ उनले भने, ‘होजाइले नेपालमा निर्मल राईको नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतंकवाद-आपराधिक गतिविधिको पैसा ल्याएका थिए। सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारको नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो।’

कसुरजन्य सम्पत्तिको जफतको कामलाई तीव्रता दिइने बताउँदै विभागका महानिर्देशक पन्थीले केही कसुरजन्य सम्पत्ति जफतका लागि प्रक्रिया अघि बढिसकेको जानकारी समेत दिए।

‘जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारको नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ,’ उनले भने, ‘भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारको नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिनेछ।’

  • ४ माघ २०८१, शुक्रबार १४:३३ प्रकाशित
  • Nabintech