इजरायल-हमास युद्धविराम, विपिन जोशी रिहा हुने बाटाे खुल्याे
  • काँचुली खबर

३ माघ, काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।

स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् ।

यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।
नेपाली विद्यार्थी विपिन जोशीसमेत हमासको बन्धक बनेका छन् । यो सम्झौतासँगै विपिनको रिहाइको पनि बाटो खुलेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ४६ हजार बढी प्यालेस्टाइनीहरू मारिएका छन्।
इजरायलले अझै पनि ९४ जनालाई हमासले बन्धक बनाएको छ जसमध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइका लागि सम्झौता भएको र उनीहरूलाई छिट्टै रिहा गरिने बताएका छन्।
सम्झौताको पहिलो चरणमा हमासले ५० वर्षभन्दा माथिका महिला, बालबालिका र पुरुषसहित ३३ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने छ ।
पहिलो चरणको १६ औँ दिनदेखि सुरु हुने दोस्रो चरण कार्यान्वयन सुरू हुने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइ हुने मध्यस्थकर्ताहरूले जनाएका छन् ।
स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको फिर्ती सम्झौतामा उल्लेख रहेको बीबीसीले जनाएको छ ।
तेस्रो चरणले मृत बन्धकहरूको बाँकी सबै शवहरू फिर्ता गर्ने र गाजाको पुनर्निर्माणको सुरुवातलाई सम्बोधन गर्ने बताइएको छ।
  • ३ माघ २०८१, बिहीबार ०९:२४ प्रकाशित
  • Nabintech