१४ बैशाख २०८१, शुक्रबार
कुनै समय नेपालमा पनि चल्थ्यो रेल !
  • काँचुली खबर

नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरी भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो ।
यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जे.भी. कोलिएर आफैले ठेक्का लिएका थिए । उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । बर्दियामा यो रेल नेपाल-भारत सीमाको निसानगाडा (भारतपट्टि) देखि पश्चिम नजिकैको टेघराचौकी बाट ढोढरीको मधुवन, माचड, गमक्का, बसन्ता र दाङपुरस बगनाहको पश्चिमपट्टिको जङ्गल क्षेत्र नेउलापुरको नेउलापुर, सतघरुवा, रानीपुर र कर्मला तथा शिवपुरको पुरानो अम्बासा गाउँको पूर्वबाट हुँदै अहिलेको राजमार्गको उत्तर खयरभट्टीसम्म बिच्छाइएको रेल लाइनमा चल्थ्यो । टेघराचौकीदेखि खयरभट्टीसम्म करिव ३५ किलोमिटर दुरीसम्म यो रेल चल्थ्यो ।
बर्दियामा रेल चलेको ३ र ४ बर्षपछि मात्रै नेपालको भिक्षाखोरी देखि बीरगञ्जसम्म ३० माइलको दूरीसम्म ३१ जनवरी १९२७ (५ फागुन, १९८३) मा राजा त्रिभुवनबाट उद्घाटन भएर सार्वजनिक रेल सेवा चलेको थियो । यसपछि जयनगर-जनकपुर ५१ माइल र जनकपुर-बिजुलपुरा १६ माइल रेल्वे यातायात विस्तारित भएको थियो ।
त्यतिबेला, संसारमै रेल चलेको (इङलैण्डको स्टाँवटन र डार्लिङटनबीच सन् १८२५ मा) ९८ बर्षपछि र भारतमा रेल चलेको (महाराष्ट्रको बम्बई र ठाणेबीच १६ अप्रिल १८५३ मा) ७० बर्षपछि नेपालको बर्दिया जिल्लामा रेल चलेको थियो ।
यो रेल चढेका २-४ जना स्थानीय बृध्दहरुसँग मैले भेट्ने र कुराकानी पनि गर्ने अवसर पाएको थिए । तर अब वहाँहरु दिवंगत भई सक्नु भएको छ । साथै टेघरा चौकी देखि खएरभट्टिसम्मको पुरानो फलामे रेल लाइन झिकी सकिएको वा हिनामिना भई सकेको भए पनि टेघराचौकीदेखि खयरभट्टिसम्मै ‘कोलिएर लाइन’ भनिने रेल्वे लिकको ट्रयाक र रेल्वे ट्रयाकबीच बीचको सालको काठको भत्केका र नभत्केका त्यतिबेला बनेका पुलहरु हामीले पनि देख्यौं र त्यो ट्रयाकमा हामीले साईकल पनि दौडाएका छौं । तर अब यो निशान अधिकांश ठाउँहरुमा नामेट भइसकेको छ । तापनि कतै कतै जङ्गलभित्र यो निशान अझै
छ ।
रेल सञ्चालन हुनु पहिले बार्दिया र कैलालीको सिमाना चिसापानी पुलदेखि भारतको अयोध्या सम्म जल यात्रा सञ्चालन भएको थियो । यो जल यात्रामा मानव भन्दा काठ लगायत प्राकृतिक स्रोत लिने गरिन्थ्यो ।

  • १६ श्रावण २०७५, बुधबार ११:५३ प्रकाशित
  • Nabintech