सिक्टाकाे शाखा नहरकालागि नयाँ टेण्डर आह्वान
  • काँचुली खबर

१९ पुस, नेपालगञ्ज । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अन्तर्गतको डुडुवा शाखा नहर निर्माण अलपत्र परेको ६ वर्षपछि नयाँ टेण्डर आह्वान भएको छ ।

अर्थ मन्त्रालयबाट करिब २ अर्ब ५० करोड बजेट सुनिश्चितता भएपछि २ वटा प्याकेजमा ४० महिनामा निर्माण सम्पन्न गर्ने गरी नयाँ टेण्डर आह्वान भएको हो । यो नहरबाट १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

६ असार २०७३ मा सिक्टा सिंचाइ आयोजना र कोष्टल पप्पु जेभीबीच २०७३ असार १२ देखि काम सुरु गरी २०७५ पुस ४ सम्म पूरा गर्ने गरी ९८ करोड ८१ लाखमा ठेक्का सम्झौता भए पनि निर्माण अलपत्र परेको थियो । आयोजना र निर्माण व्यवसायी मुद्दा मामिलामा लागेपछि २८ चैत २०७४ देखि नहर निर्माणको काम ठप्प थियो ।

सिक्टा सिंचाइ आयोजनाको मूल नहरबाट १८ क्युमेक्स (एक हजार लिटर प्रतिसेकेन्ड) पानी डुडुवा नहरमा खसालेर २३ किलोमिटर लामो डडुवा शाखा नहर र उपशाखा नहर निर्माण गरी सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । यो नहर बनेपछि बाँकेको नेपालगञ्ज, जानकी, खजुरा र डडुवा गाउँपालिकाको करिब १६ हजार हेक्टर जग्गामा बाह्रैमास सिंचाइ सुविधा विस्तार हुने आयोजनाका प्रमुख राजु आचार्य बताउँछन् ।

सिक्टाको मूल नहरबाट डुडुवा शाखा नहरको मुहानसम्म नियमित रुपमा पानी सञ्चालन भइरहेका कारण अब डुडुवा नहर निर्माण पूरा भए सुख्खा र खडेरीको मारमा परेका किसानहरुलाई राहत मिल्ने विश्वास छ । सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता संघका अध्यक्ष शालिकराम डाँगीले सिंचाइ सुविधा उपलब्ध भएपछि किसानहरुले बाह्रैमास खेती किसानीबाटै राम्रो आम्दानी गर्नसक्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

बाँकेको खेतीयोग्य उर्बर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले २०१६/०१७ सालमा डुडुवा नहर निर्माणको काम सुरु भएको थियो ।  भारत सरकारको सहयोगमा डुडुवा खोलामा निर्माण गरिएको बाँधको १९ फागुन २०२० मा राजा महेन्द्रले उद्घाटन गरेका थिए । बाँध निर्माण भएसँगै २०२६ सालसम्म डुडुवा नहर विस्तार गरिएको थियो । डुडुवा खोलामा हिउँदमा मुस्किलले करिब ४ क्युमेक्स मात्रै पानी बग्थ्यो । त्यहि पानी ल्याएर हिउँदमा २ हजार हेक्टर र वर्षायाममा ५ हजार हेक्टरसम्म सिँचाइ सुविधा पुर्‍याइएको थियो ।

पानीको स्रोत कम भएका कारण सिंचाइ सुविधा विस्तार हुन  नसकेको १३/१४ हजार हेक्टर जमिनमा राप्ती नदीबाट पानी ल्याएर सिंचाइ सुविधा पुर्‍याउन २०३०/३१ मा अध्ययन सुरु गरिएको थियो । अध्ययन र लगानीका लागि स्रोतको व्यवस्थापनका बिभिन्न चरण पूरा गरेर २०६२/०६३ मा सिक्टा नहर निर्माण सुरु भएको थियो ।

सिक्टा नहरको निर्माण सुरु भएको करिब १६ वर्षपछि सिक्टाको मुल नहरबाट १८ क्युमेक्स (हजार लिटर प्रति-सेकेन्ड)पानी डुडुवा नहरमा खसालेर १६ हजार हेक्टरमै सिंचाइ सुविधा बिस्तार गर्ने उद्देश्यले डुडुवा नहर निर्माणका लागि दोस्रो पटक पुस १ गते टेण्डर आह्वान भएको हो ।

  • १९ पुष २०८१, शुक्रबार ०९:२३ प्रकाशित
  • Nabintech