१९ पुस, काेहलपुर । बाँकेकाे काेहलपुरमा संचालित ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१)’ मा खुलेआम जुवा खेलाउने गरेकाे पाईएकाे छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा संचालित महाेत्सवमा प्रहरी सुरक्षा घेरा भित्रै दिनदहाडै हजारौँ रुपैँया हारजीत हुनेगरी जुवा खेलाउने गरेकाे भेटिएकाे हाे ।
सार्वजनिक स्थलमा अवैध खेल सञ्चालन भइरहँदा मेला स्थलमा ड्युटीमा खटिएका प्रहरीले बेवास्ता गर्ने गरेका छन । जुवाको खाल नदेखे झैँ गरी प्रहरीहरु मञ्चमा आयोजित मनोरञ्जनात्मक कार्यक्रम हेर्नमा मस्त हुने गरेको पाइएको छ ।
जुवा खेलाइएको स्थानबाट पटक-पटक आउजाउ गरिरहेका बर्दीमा खटिएका नेपाल प्रहरी र नगर प्रहरी जुवा खाल नदेखेझैँ गरिरहेका भेटिने गरेका छन् । गाउँबाट मेला हेर्न आएका सोझा दर्शकलाई झुक्याएर जुवा खेलाउनेले आफु अनुकुल हजार-हजार रुपैयाँ थापेर हारजीत गरिरहेका देखिन्थे । मेलामा सर्वसाधारणलाई भ्रममा पारेर पैसा लुट्ने योजना सहित यस अघिका मेला महोत्सवमा पनि जुवा हुने गरेको थियो ।
मेलामा खेलाइएको जुवा यस्तो छ : नम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन या खेल्ने मध्ये पनि आफ्नो आसेपासेलाई पार्छन । यो कुरा मेला हेर्न बिभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो फर्कन्छन् ।
बिहिवार नम्बर भएको फ्लेक्समा गोटीको मद्दतले मेला स्थलमा जुवा खेलाइएको थियो । जुवाको फोटो खिच्दा र सोधखोज गर्दा खेलाउने जुवा ब्यबसायीहरु र आयोजकले नै ढाकछोप गरेका थिए । आयोजक र जुवा ब्यबसायीले पत्रकारलाई समाचार नलेख्न बिभिन्न आग्रह, अनुग्रह, प्रलोभनको प्रस्ताव गरेका थिए ।
आयोजकले महाेत्सवस्थलमा जुवा खेल नहुने दावि गरे पनि महाेत्सवकाे ठेक्का पाएकाे समुहले आयाेजककाे नाक मुनि जुवा खेलाउँदै आएकाे छ । महाेत्सव सुरू भएकाे दिनदेखी नै दिउँसो केही घण्टा मेलामा लुकिचोरी जुवा हुँदै आएको नियमित मेलामा जाने केहि प्रत्यक्षदर्शी बताउँछन् ।
१९ पुष २०८१, शुक्रबार ०८:५८ प्रकाशित