२०२४ का भयानक प्रकोप : हजारौँको ज्यान गयो, खरबौँको क्षति
  • काँचुली खबर

१८ पुस, काठमाडौं । प्राकृतिक प्रकोपका कारण सन् २०२४ विश्व समुदायका लागि एक कठिन वर्ष भयो । प्राकृतिक प्रकोपका कारण गत वर्ष विश्वभर झन्डै तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको छ । स्विस पुनर्बिमा कम्पनी ‘स्विस रेले’को तथ्याङ्कले यस्तो अनुमान गरेको हो । जलवायु सङ्कटका कारण सन् २०२३ को तुलनामा ६ प्रतिशतले आर्थिक क्षति वृद्धि भएको हो। यस्तै यी प्रकोपका कारण विश्वभर लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँको ज्यान नै गएको छ ।

गएको वर्षले दिएका उपलब्धि र पाठले सन् २०२५ सबैका लागि प्रेरणाको वर्ष हुने आस गरिएको छ। २०२४ मा जलवायु परिवर्तनसँगै खडेरी, अनावृष्टि, अल्प वृष्टि, अतिवृष्टि र यसका कारण हुने मरूभूमीकरण, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति पनि थुप्रै आए।

सन् २०२४ सबैभन्दा तातो वर्ष

जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ। यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ। जीवाश्म इन्धनको मानिसको व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन्। आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन्। तथ्यहरूले पनि उल्लेखित दाबीहरूलाई पुष्टि गर्छन्।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा स्थापित भएको छ। सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात् गरेको थियो। सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ।

जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप-२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन्। तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्छ।

हामी सबैले सम्झिरहने धेरै घटनाहरू भए पनि यो वर्ष विश्वभरकै सबैभन्दा घातक प्रकोप र जलवायु सङ्कटहरूमध्ये एक देखियो। यहाँ हामी २०२४ का केही घातक जलवायु प्रकोप र थप अन्य प्रकोपका घटनालाई हेरौँः

केरलाको वायनाड पहिरो

भारतको केरलाको वायनाड जिल्लाको पहाडी क्षेत्रमा जुलाई ३० मा ठुलो पहिरो गयो। पहिरोले २०० भन्दा बढी मानिसहरूको ज्यान लियो र धेरै घरबारविहीन भए। दर्जनौँ बालबालिका अनाथ भए । यो केरलाको इतिहासमा सबैभन्दा खराब र घातक प्राकृतिक प्रकोपमध्ये एक मानिन्छ। सयौँलाई भग्नावशेषमुनि पुरिएको थियो। सेनाको टोलीले धेरैलाई उद्धार गरी बाहिर निकालेको थियो।

फ्लोरिडामा मिल्टन तुफान

मिल्टन नामक आँधीले अक्टोबर ९ मा अमेरिकाको फ्लोरिडाको पश्चिमी तटमा कम्तीमा २० प्रतिशत बढी वर्षा गरायो। साथै १० प्रतिशत शक्तिशाली हावाहुरी निम्त्यायो। वैज्ञानिकहरूका अनुसार शक्तिशाली हावाले दुर्लभ आँधीबेहरीले १० प्रतिशत गरेको थियो।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार मिल्टन आँधी टेम्पा खाडीबाट करिब ४८५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो। यसैलाई ध्यानमा राख्दै अधिकारीहरूले मानिसहरूलाई सो ठाउँ छाडेर बाहिर जान चेतावनी दिएका थिए। केन्द्रले मिल्टनलाई श्रेणी-५ मा राखेको छ। मिल्टनको गति २७० किलोमिटर प्रतिघण्टा रहेको थियो। टेम्पा पुलिसले यो शताब्दीकै सबैभन्दा ठुलो आँधी भएको बताएको थियो।

मिल्टन आँधी डरलाग्दो ठुलो र खतरनाक घटनाको रूपमा सूचीको शीर्ष स्थानमा छ। जसले ६० बिलियन अमेरिकी डलर बराबरको क्षति गर्‍यो र २५ जना व्यक्तिहरूको ज्यान लियो।

हेलेन तुफान

त्यसपछिको हेलेन एक विनाशकारी श्रेणीको ४ स्थानमा रहेको आँधी हो। यो आँधी सेप्टेम्बरमा अमेरिका, क्युबा र मेक्सिकोमा आएको थियो। जसबाट २३२ जनाको ज्यान लिएको थियो भने लगभग ५५ बिलियन बराबरको क्षति गरिएको रेकर्ड छ।

टाइफुन यागी

सेप्टेम्बरमा यो वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी यागीले उत्तरी भियतनाममा धेरैको ज्यान लियो र व्यापक क्षति पुर्‍यायो। दक्षिण पश्चिम एसियामा आएको आँधी यागीले ८०० भन्दा बढीको ज्यान लिएको प्रतिवेदनमा उल्लेख छ। यो आँधी लाओस्, म्यानमार, भियतनाम र थाइल्यान्डमा आउनु अघि सेप्टेम्बर २ मा फिलिपिन्समा आफ्नो उग्र रूप देखायो। यहाँ यसले पहिरोसहित एक्कासि बाढी निम्त्यायो। जसबाट लाखौँ घर र कृषि भूमिमा ठुलो क्षति पुर्‍यायो।

यागी तुफानलाई भियतनाममा तीन दशकपछिको शक्तिशाली भनिएको छ। तुफानको वेग २४५ किलोमिटर प्रतिघण्टाको थियो। यो यस वर्ष एसियामा देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो।

चिडो चक्रवात

डिसेम्बरमा फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा ‘चिडो’ नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको थियो। झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ।

आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो। आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको थियो। आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। सन् १९३४ देखि मेयोटमा यति तीव्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताएका थिए।

कोलम्बिया खडेरी

२०२४ ले रेकर्डहरूमा सबैभन्दा खराब खडेरी देख्यो। जसले अमेजन बेसिनका नदीहरूको पानीको स्तरलाई ऐतिहासिक रूपमै तल्लो तहमा ल्यायो। केही अवस्थामा नदीको किनारहरू सुक्यो जुन पहिले जलमार्गहरू थिए। सोलिमोज, शक्तिशाली अमेजन नदीको मुख्य सहायक नदीहरू मध्ये एक जसको पानी पेरुभियन एन्डिजमा उत्पत्ति हुन्छ। कोलम्बियाको सिमानामा रहेको ब्राजिलको सहर ट्याबटिङ्गामा रेकर्डको सबैभन्दा तल्लो तहमा पुग्यो पानी।

तीन हजार बढीको ज्यान लिने भारतको गर्मी

२०२४ को सुरुमा विज्ञान र वातावरण केन्द्रले एक प्रतिवेदनमा उल्लेख गरेको छ कि भारतमा दिनका हिसाबले ९३ प्रतिशत चरम गर्मीका घटनाहरूको सामना गर्नु पर्‍यो। जसबाट २७६ दिनमध्ये २५५ दिनहरूमा २०२४ को पहिलो नौ महिनामा ३२०० भन्दा बढी मानिसहरूको मृत्यु भयो। चरम गर्मीका घटना खेती बालीमा असर गर्‍यो। लाखौँ घर ध्वस्त भए र गाईबस्तु पनि मारिएका थिए।

यस्तै प्रतिवेदनका अनुसार बांग्लादेशमा पनि ३ करोड ३० लाख मानिस चरम गर्मीको लहरबाट प्रभावित भएका थिए।

ब्राजिलको बाढी

ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा अप्रिलको अन्त्यतिर मुसलधारे वर्षाले रेकर्ड ब्रेक गर्‍यो। एक साताभन्दा बढी समयदेखि परेको वर्षाका कारण बाढी आएको थियो। बाढीका कारण करिब २ सय जनाको मृत्यु भएको थियो। बाढीबाट साढे १४ लाख मानिस प्रभावित भएका थिए। दुई लाख मानिस विस्थापित भएका हुन बाध्य भए। ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन्।

एक अनुमान अनुसार वर्षा र बाढी कारण करिब ४ अर्ब ६० करोड रियाल बराबरको आर्थिक क्षति भएको थियो भने घर तथा पूर्वाधारमा पनि निकै क्षति पुगेको थियो।

चीनको बाढी

सन् २०२४ को जुलाईमा चीनको सान्सी प्रान्तमा आएको बाढीका कारण राजमार्गमा रहेका पुल भत्किँदा करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो। सोही महिनामा टाइफुन गेमीले उत्तरी ताइवानमा बगेर समुद्र पार गरेर चीनमा पुग्नु अघि बाढी उत्पन्न गराएको थियो।

प्रदूषित यमुना

अक्टोबरमा दिल्लीको यमुना नदी सेतो विषालु फोमको बाक्लो तहले ढाकिएको थियो। यसले मानिसहरूका लागि स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने विशेषज्ञहरूले भनेका थिए। हरेक वर्ष यो समस्या बढ्दै गएको र २०२४ मा पनि अवस्था फरक भएन। फोमको यी बाक्लो तहहरू बन्नुको मुख्य कारण नदीमा झर्ने फोहोर पानी भएको अधिकारीहरूले बताएका थिए। यो प्रदूषण मानव जीवनका लागि निकै हानिकारक रहेको पनि उनीहरूले बताएका थिए।

जापान भूकम्प

२०२४ को सुरुवात विनाशकारी भयो किनकि जनवरी १ मा जापानको उत्तरी प्रायद्वीप नोटोमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा २०० भन्दा बढी मानिसको मृत्यु भयो। जापान टाइम्स अखबारका अनुसार आरआरआर अभिनेता जुनियर एनटीआर यस समयमा जापानमा थिए र भारत फर्किएपछि उनले सोही समयमा जापानमा भूकम्प गएकोमा दुःख व्यक्त गरेका थिए।

चिलीमा डढेलो

फेब्रुअरीमा मध्य चिलीमा ठुलो जङ्गलमा लागेको आगोले १३० भन्दा बढी मानिसको ज्यान लिएको थियो। रोयटर्सको रिपोर्ट अनुसार चिली, अर्जेन्टिना र दक्षिण अमेरिकाको दक्षिणी शंकुका अन्य भागहरूमा कडा गर्मीको सामना गर्नुपरेको थियो।

चिलीको चरम मौसमी बदलाव हुनुमा पनि एल निनो जलवायु घटनाले बढाएको बताइएको छ।

नागरीकन्युजबाट

  • १८ पुष २०८१, बिहीबार १५:४७ प्रकाशित
  • Nabintech