नेपालगन्ज मेडिकल कलेजकाे फेरियाे नाम, ईतिहास मेटाउन खाेजेकाे भन्दै चाैतर्फि बिराेध
  • काँचुली खबर

१६ पुस, नेपालगन्ज । पश्चिम नेपालकै स्थापित अस्पताल नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरीएकाे छ । नेपालगन्जकाे विपी चोकमा रहेकाे नेपालगन्ज मेडिकल कलेजलाई सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमा रूपान्तरण गरीएकाे हाे ।

न्युनतम सेवासुविधाकाे माग गर्दै लामो समयदेखि कर्मचारी आन्दोलनमा उत्रिएकै बेला अचानक कलेजकाे नाम नै फेरिएको छ । यो सँगै कलेजले विभिन्न विभागमा गरेर ८ सय ९५ जनाको पदमा रोजगारी माग गरेको छ ।

कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ । कलेजले ४ सय जना नर्सका लागि रोजगारी खुला गरेको छ । कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो । गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालीसँग मर्ज भएको थियो । मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको बताईएकाे छ ।

यो कलेज मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालनमा ल्याएका हुन् । अर्यालले केही दिन अघि दाङमा रहेको ५ सय शैय्याको अस्पताल सञ्चालनका लागि पनि ८ सय भन्दा बढी जनशक्ति माग गरेका थिए ।

यता आन्दोलनरत कर्मचारीले अस्पतालकाे कार्यप्रती असन्तुष्टि जनाएका छन् । उनिहरूले कर्मचारीका माग सम्बाेधन गर्दै उचित ब्यवस्थापन गर्नुपर्नेमा अस्पताल ब्यवस्थापनले थप कर्मचारी माग गर्ने कार्य आपत्तिजनक रहेकाे बताएका छन ।

यता नेपालगन्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरेर नेपालगन्जकाे ईतिहास मेटाउन खाेजिएकाे भन्दै सामाजिक सञ्जालमा तिब्र आलाेचना भईरहेकाे छ ।

  • १६ पुष २०८१, मंगलवार ०८:२० प्रकाशित
  • Nabintech