११ पुस, नेपालगन्ज । बाँकेमा लुकाउन खोजिएको एक बलात्कारको घटना सार्वजनिक भएको छ । यहि पुस ३ गते नरैनापुरमा लागेको मेलाबाट फर्किरहेकी एक बालिकामाथी सामुहिक बलात्कार भएको तथ्य खुलेको छ ।
नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा-४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटनालाई गुपचुप मै राखिएको थियो । भोलिपल्ट घटनाबारे गाईगुई हल्ला चलेपछि प्रहरीले पीडित पक्षलाई बोलाएर सोधे पनि उनीहरूले सुरुमा बताउन नचाहेको बताईएको छ ।
घटनाको पर्सीपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको पाईएको छ । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको प्रहरी स्रोतले दाबी गरेको छ ।
मेला हेरेर राति ९ बजेतिर फर्कने क्रममा भारतीय मोटरसाइकलमा सवार नरैनापुर-४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खाँ र सोही ठाउँ बस्ने ३० वर्षीय मोहम्मद रिजवान खाँले जबर्जस्ती मोटरसाइकलमा बसाली मुख थुन्दै जंगलमा लगेर करणी गरेको पीडित किशोरीले बयान दिएको इलाका प्रहरी भगवानपुरका निरीक्षक टोपेन्द्र बुढा मगरले बताए ।
‘पीडितहरू निकै त्रासमा भएकाले सुरुमा घटनाबारे बताउन मान्नुभएन, धेरैपछिको प्रयासपछि भएका सबै घटना नानीले खोलिन्,’ उनले भने, ‘घटनाका बेला नानीलाई निकै डरत्रास देखाइएकाले उनले वास्तविक कुरा खोल्न सकिनन् ।’
घटनालगत्तै फरार आरोपित दुवैको प्रहरीले खोजी गरिरहेको उनले बताए । आरोपि बिरुद्ध पुस ६ मा पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।
११ पुष २०८१, बिहीबार १६:४१ प्रकाशित