९ पुस, कोहलपुर । आजबाट कोहलपुरमा प्रथम कृषि पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो-२०८१) सुरु भएको छ । नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुरको आयोजनामा महोत्सव सुरु भएको हो ।
मंगलबार एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपनेले महोत्सवको उद्घाटन गरे । कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको खुल्ला मैदानमा संचालन गरीएको महोत्सव उद्घाटनका क्रममा एउटा अनौठो दृष्य देखियो ।
कोहलपुर नगर विकास समितिको मातहतमा रहेको खुल्ला मैदानमा झण्डैं एक करोड (९९ लाख) रुपैयाँ खर्चेर मञ्च निर्माण गरीएको छ । कोहलपुरमा हुने बिभिन्न कार्यक्रमलाई ब्यवस्थित रुपमा संचालन गर्ने भन्दै निर्माण भएको उक्त मञ्चमा महोत्सवको उद्घाटन हुनुपर्ने हो । तर मंगलबार मैदानमा देखिएको दृष्य अलि पृथक थियो ।
९९ लाख लागतमा निर्माण गरीएको उक्त मञ्चको छेवैमा बाँसद्धारा निर्माण गरीएको अस्थायी मञ्चमा महोत्सवको उद्घाटन भईरहेको थियो । अझ रोचक कुरा त के भने, बाँसको मञ्चमा उभिएर स्थानिय सरकारका प्रमुख, राजनितिक दलका प्रतिनिधि तथा प्रदेश सरकारका मन्त्री समेतले कोहलपुरलाई समृद्ध बनाउने उद्घोष गरीरहेका थिए ।
महोत्सव परीसरमा रहेको झण्डै एक करोड लागतको स्थायी मञ्च ।
उद्घाटन सत्रमा बोल्दै लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपनेले यस्ता प्रकारका महोत्सवले व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले औद्योगिकीकरणलाई प्राथमिकता दिएको बताउँदै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर सरकार अघि बढिरहेको जिकिर समेत गरे ।
‘कृषिजन्य वस्तुको प्रदर्शनी, जानकारीमूलक सामग्री राख्नुपर्छ । पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्नुपर्छ । यस्ता कार्यक्रमले व्यवसायीहरुलाई हौसला प्रदान गर्छ । यस्ता कार्यहरुमा आवश्यक परे प्रदेश सरकार सहयोग गर्न तयार छ ।’ मन्त्री न्यौपानेले भने ।
त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले महोत्सवले कोहलपुरको व्यवसाय प्रवद्र्धनमा भुमिका खेल्ने बताए । कोहलपुरको विकासमा स्थानिय सरकारले उल्लेख्य सफलता हासील गरेको दावी गरीरहेका नगर प्रमुख आचार्यले बाँसको स्टेजमा उभिएर आफैले निर्माण गरेको मञ्चतर्फ फर्कदैं कोहलपुर समृद्ध बनाउने उद्घोष गरे । तर उक्त मञ्चको उपयोगिता र प्रभावकारीताका बारेमा भने उनि मौन रहे ।
स्थानिय सरकारको अदुरदर्शिताका कारण अपायक स्थानमा मञ्च निर्माण हुँदा ठुला कार्यक्रमहरुमा उक्त मञ्च प्रयोग बिहिन हुँदै आएको छ । ठुलै रकम खर्चिएर निर्माण गरीएको मञ्च प्रयोग विहिन बन्दै गएपछि त्यसको औचित्य माथी प्रश्न उठ्न थालेको छ ।
९ पुष २०८१, मंगलवार १९:१९ प्रकाशित