७ पुस, काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।
सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।
गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।
जिल्ला सहकारी वकिलको कार्यालय, कास्कीकी प्रमुख कमला काफ्लेले आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको बताइन् । उनका अनुसार, एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ । अनि सहकारी ठगी गरेको रकम अपचलन मार्फत शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको अभियोग समेत छ ।
सूर्यदर्शन सहकारीको रकम ठगी भएको विषयमा प्रहरीले मूलतः पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदनलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो । सहकारीको रकम ऋण लिने काममा आफ्नो व्यक्तिगत र गोर्खा मिडियामा संस्थागत रुपमा समेत संलग्नता नभेटिएको दावी गरेका रवि लामिछानेले ब्याज तिर्ने क्रममा काटेका चेकहरु फेला परेको प्रहरीको दावी छ । प्रहरीले सूर्यदर्शनका नाममा काटिएका चेकका प्रमाणहरु पेश गरेको छ ।
एक अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएपनि सबै रकमको दायित्व रवि लामिछानेसँग जोडिएको छैन । उनको नाममा प्रवाह भएको ऋण र गोर्खा मिडियामा भएको लगानीमा मात्रै उनी जोडिएकाले उनीमाथिको आरोप त्यसमै सीमित भएको एक प्रहरी अधिकृतले बताए ।
सूर्यदर्शन सहकारीको ठगीको आरोपमा प्रहरीले १८ असोज, २०८० मा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो, जसमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी थियो ।
उनीहरुमाथि संगठित अपराध गरेको अनि आर्जित रकम शुद्धीकरण गरेको अभियोगमा शुक्रबार मुद्दा दायर भइसकेको छ । मुद्दाको सुनुवाइ गर्दा अब जिल्ला अदालतले फेरि उनीहरुको पनि बयान लिनेछ ।
७ पुष २०८१, आईतवार १३:३० प्रकाशित