५ पुस, कोहलपुर । तलब वृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन । मंसिर २६ गतेदेखी बिभिन्न माग सहित आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै शुक्रबारदेखी दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द गरीएको छ ।
सरकारले तोकेको तलब बृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र बिहीबार आधा समय ओपिडी बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताईन ।
आन्दोलनको बारेमा जानकारी दिन कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गिरीले अस्पताल व्यवस्थापनले कर्मचारीका जायज माग पूरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ति जारी गर्ने गरेको जनाउँदै अस्पतालका ओपिडी सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताईन ।
बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालीन सेवा जारी राखिएको जनाउँदै संयोजक गिरीले माग पूरा नगरिए थप अगाडि बढ्ने चेतावनी समेत दिएकी छन ।
व्यवस्थापन पक्षसँग बारम्बार वार्ता र संवादका प्रयास असफल भएपछि आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन बाध्य भएको कर्मचारी युनियनका नेताहरूले बताएका छन् ।
लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी हाल आन्दोलनमा छन् ।
आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबीच पटक-पटक वार्ता भए पनि निष्कर्ष ननिस्कँदा आन्दोलनलाई निरन्तरता दिनुपरेको कर्मचारीको भनाइ छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीका बीच पटक-पटक वार्ता हुँदा अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले आन्दोलन बढ्दै गएको बताईएको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो निजी अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडी सेवा आन्दोलनरत कर्मचारीले बन्द गराएपछि बिरामीलाई समस्या भएको छ । ओपिडी सेवा बन्द भएपछि शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए ।
५ पुष २०८१, शुक्रबार १६:१२ प्रकाशित