अन्तत: क्यान्सरसँग हारे विवेक पंगेनी, एक्लिइन् सिर्जना
  • काँचुली खबर

४ पुस, काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अस्ताएका छन् । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो ।

विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो ।

निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । हिजो उनको निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरे । विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ । श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बोलाएकी थिइन् । शव नेपाल ल्याउने वा नल्याउने टुंगो लागिनसकेको सुबेदीले बताए ।

विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो ।

अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

दुईवटा शल्यक्रिया गरेर र ७० प्रतिशत ट्युमर निकालिएको थियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेको थियो ।

सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरेका थिए । गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो ।

विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो । उनीहरुका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए ।

विवेक अमेरिकामा मृत्युसँग संघर्ष गरिरहँदा नेपालमा उनका भाइ विवेक पंगेनीको दुर्घटनामा निधन भएको थियो । भाइ अस्ताएको चार महिनापछि दाइको मृत्यु भएको हो ।
नेपालप्रेसबाट

  • ४ पुष २०८१, बिहीबार १६:२५ प्रकाशित
  • Nabintech