२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो।
चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो।
आइतबार चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो।
सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए। ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके।
कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए। इशान पाण्डेले ३५ रन जोड्न सके। पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए।
बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २-२ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो।
चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले १६औं ओभरमा स्कट कुगेलेइनको बलमा नरेश बुढाऐरबाट क्यान हुनुअघि ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे।
अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए। उनी चौथो ओभरमा ब्रान्डन माक्मलेनको बलमा बुढाऐरबाटै क्याच भएका थिए।
विकेटकिपर ब्याटर विपिन रावलले १७ रन जोड्न सके। सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे।
१८औं ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भएका थिए। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए।
बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १-१ विकेट लिए।
२३ मंसिर २०८१, आईतवार १६:२८ प्रकाशित