जन्म र मृत्यु बिचको मेरो जीवन संघर्ष २०६१/६२ साल तिरबाट सुरु हुन्छ । म कक्षा ४-५ मा अध्ययन गर्थे, राजनीतिक बैचारिक र उमेर अवस्थाका हिसाबले पनि म अपरिपक्क नै थिए ।
नेपालमा १० वर्ष जनयुद्धको सुरु भएको झन्डै ८-९ वर्ष बितिसकेको रहेछ । मेरो गाउँ सल्यान जिल्ला साबिक कालागाउँ गा.बि.स. वडा न. ९ हाल कुमाख गाउँपालिका वडा न. ५ मा हाम्रा दुईटा घरहरू थिए । एउटा गाउँ (लेख) र अर्को ज्यूला (बेसि) मा । हाम्रो घरमा त्यति बेला नै माओवादीद्वारा सन्चालित स्मृति प्रचलित प्राथमिक बिद्यालय थियो । जसको भौतिक संरचना नभएका करणले हाम्रो घरमा नै पढाइ हुन्थो । त्यसमा अध्यापन गराउने शिक्षक एक जना माओवादी कार्यकर्ता हाम्रो साबिक कालागाउँ गाबिसका माधब शर्मा र उहाँको धर्मपत्नी हुनुहुन्थ्यो । केही समयपछि उहाँको धर्मपत्नी कार्यक्षेत्र परिवर्तन भएर हो अथवा अन्य केही कारणले हो अध्यापन गराउन छोडनु भयो । माधब शर्मा अलि लामो समय त्यहाँ अध्यापन गराउनु भएको थियो । मेरो बुवा गरिब र सामान्य भन्दा सामान्य परिवारमा गाँस, बास र कपासको अभाबै अभावमा हुर्केको हामीलाई सुनाउनु हुन्थ्यो । कक्षा ७-८ म अध्ययन गर्दा बिद्यालयको परीक्षा शुल्क तिर्न नसकेर आफ्नो पढाइ छोडेको मान्छे सानै उम्मेरदेखि भारतमा मजदुरी गर्ने र घरको जिबिका चलाउने गर्नुहुन्थ्यो । आफू जस्तो परिस्थितिबाट हुर्केपनी एउटा बुवा र आमाले आफ्ना सन्तानका लागि कति चिन्ता र चासो गर्दछ भन्ने कुरा असाध्यै घत लाग्छ । आफ्ना छोराछोरीको भबिस्यप्रति चासो राख्ने कुरा त स्वाभाविकै हुन्छ । त्यसै सदर्भमा हाम्रो घरमा नै माओवादीद्वारा स्कुल सन्चालित थियो । छोराले राम्रोसंग पढ्ला अथवा छोराको पढाईमा राम्रो हेरचाह होला भनेर बुवाले माधब सरलाई हाम्रो घरमा नै बस्ने, खाने र मलाई पढाइ दिने जिम्मेवारी सहित बस्न दिनु भएको थियो । माधब सर एकदमै बहु-प्रतिभाशाली विभिन्न कला-गला र समसामयिक बिषयमा राम्रो दखल राख्ने मान्छे हुनुहुन्थ्यो । उहाँ हामी बिद्यालय जाने बेला गित गाउने, नृत्य गर्ने गजल र मुक्तक आदि कुराहरू बाटोमा भन्दै हिड्नु हुन्थ्यो । उहाँका सबै कुराले म निकै खुसी र प्रभावित हुन्थे । प्रारम्भिक अध्ययन यहाँ गरे पनि उम्मेरका हिसाबले म सानै थिए पछि म अर्को गाउँको सरस्वति माध्यामिक बिद्यालय झारकाडामा अध्ययनका लागि भर्ना भए । कक्षा १ देखि ८ सम्मको अध्ययन मैले यही बिद्यालयमा गरेको थिएँ ।
२०६४/६५ सालको कुरा हो म कक्षा ६-७ म अध्ययन गर्थे, सडक यातायातको सुबिधा थिएन । गाउँबाट सदरमुकाम पैदल हिडेर नै जाने-आउने गर्नु पर्थ्यो । त्यतिबेला पनि माधब सरको नेतृत्वमा हामी बिद्यार्थीहरू बिद्यालयबाट सल्यान खलङ्गा कार्यक्रमका लागि जाने निर्णय भयो । यो निर्णय भएपछि मैले घरमा खलङ्गा कार्यक्रम जाने निर्णय सुनाए तर घरबाट नजाने भन्ने खालको दबाबका बिचबाट नमानेर जाने निर्णय भयो । बिद्यालयबाट बिहान पैदल सल्यान बडागाउँ, मौलहाल्ने, चोरपानी, अखोरबोट, चाख्लिघाट हुदै दिनभरिको पैदल यात्रा र अथाह थकान पछि बेलुका ७-८ बजे माल्नेटा पुगेर बास बसियो । भोलि पल्ट बिहानै फेरि बरला हुँदै सल्यान खलंगाको टुडिखेलमा पुगियो । त्यहाँ पुग्दासम्म कार्यक्रम बारे त्यती पूर्ण जानकारी थिएन । समान्य माओवादीको कार्यक्रम हो भन्ने कुरा मात्र थाहा थियो । त्यहाँ क। प्रचण्ड आउने कार्यक्रम रहेछ । जिल्लाका विभिन्न स्थानबाट आएका भब्य मानिसको बाक्लो उपस्थिति थियो । बिचबाट हिड्ने बाटो थियो, मैले त्यसको बगलमा बसेर पहिलो पटक प्रचण्डको नाम सुनेको, देखेको हो र हात मिलाउने अबसर प्राप्त गरेको थिए ।
सानो उम्मेरमा मामा घर जान निकै रहर लाग्ने गर्थ्यो । मामाहरु पनि आफ्नै उम्मेर अबस्था र समुहका भएर पनि होला। मेरो मामा घरमा चाहिँ प्राय धेरै जसो माओवादीका नेता कार्यकर्ता तथा सेनाहरू आउने गर्दथे । सैनिक पोसाकमा कहिले ४०-५० जनाको संख्यामा कहिले १५०-१६० जनाको संख्यामा आउने खाना पकाउने, खाने बस्ने तालिमहरु गर्ने गर्थे । एक दिन म बिद्यालयबाट मामा घर गएको थिए त्यो दिन पनि झन्डै ६०-७० जनाको संख्यामा जनमुक्ती सेनाहरु आएका रहेछन । घरको बगलमा अम्बाको रुख थियो । एक्दमै लटरम फलेर पाकेको हुन्थ्यो । हामी बिद्यालयबाट मामा घर गएपछि प्राय रुखमा चडेर अम्बा खाने गर्थिम । स्वाभवका हिसाबले म अलि सानो उम्मेरमा चर्को खालको थिए । एक दिन रुखमा चडेर अम्बा खाईरहेको थिए मलाई एक जना माओवादी सेनाले जिस्काए पछि मैले काचो अम्बाले हानेको थिए, उसको टाउकोमा लागेछ । मलाई लखटी लखटी कुटेको चाहिँ असाध्य आयद आउँछ । हामि कहिले काहीँ गोठालो जाने गरिन्थ्यो । जङ्गलमा ठुला ओडारहरु हुन्थे । ओडारहरुमा भिभिन्न खालका माओवादी नेता कार्यकर्ता तथा सेनाहरुले लुकाएका बिग्रेका हात हतियारहरु भेटिन्थे, निकालेर खेल्ने गरिन्थ्यो । यस्तै-यस्तै केही बिषयहरु ख्याल भए पनि मुल रुमपा माओवादी आन्दोलन, राजनीतिक, बैचारिक मार्गदर्शन यस्का साझा लक्ष्य र उद्देश्य मैले बुझन सक्ने उम्मेर अवस्था भएको थिएन । जति बेला म सुजबुझका साथ निर्णय गर्न सक्ने भएको थिए, त्यति बेला बुवाले मलाई अध्ययनकालागी बाँकेको कोहलपुरस्थित एक विद्यालयमा भर्ना गरीदिनुभयो । गाउँमा छोराको पढाई बिग्रीयो भनेर होला सायद, २०६६ सालमा कोहलपुर ल्याउनुभयो र मलाई संस्थागत बिद्यालयमा भर्ना गर्दिनुभयो । पछि बुवा भारतमै मजदुरी गर्ने भएकाले मैले होस्टेल बसेर दिपज्योती माध्यमिक विद्यालय कोहलपुर १२ चपरगौडीबाट २०६८ सालमा एसएलसी उतिर्ण गरे ।
सामान्य ग्रामीण बिद्यालयमा कक्षा ८ सम्म अध्ययन गरी ९ कक्षामा संस्थागत बिद्यालयमा अध्ययन गर्नु मलाई फलामको चिउरा चपाए जस्तै गाह्रो महसुस भएको थियो । त्यति बेला मलाई एकदमै सहयोग गर्ने बिज्ञान शिक्षक आदरणीय गुरु शालिग्रम सापकोटा जस्लाई म सधै स्मरण गर्ने गर्दछु । सायद उहाँ बिना मैले मेरो अध्ययनलाई यहाँ पुर्याउन असम्भव थियो । उहाँको सहायताले बिस्तारै-बिस्तारै बानी पर्दै गयो, त्यहाको अध्ययन पनि सकियो । त्यसपछी मैले कोहलपुरमा रहेको रामजानकी उच्च माध्यामिक विद्यालयमा बिज्ञान बिषय लिएर कक्षा ११ म भर्ना भएँ । त्यति बेलासम्म मलाई राजनीतिक बिचार, सिद्धान्त, नीति तथा कार्यक्रमको बारेमा अध्ययन गर्ने, बुझने अबसर प्राप्त भएको थिएन । नाता सम्बन्धका हिसाबले म प्राय हिड्ने एक जना चन्द्र बहादुर रावत दाई हुनुहुन्थ्यो । म कक्षा १० म अध्ययन गर्दै गर्दा दाईसंग विभिन्न कार्यक्रम जाने गर्थे । मलाई कहाँ गएर कसरी कोसंग कुरा गरेर संगठनमा जोडिनु पर्छ भन्ने मेसो थिएन । अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले संगठन निर्माणका सन्दर्भमा हाम्रो बिद्यालयमा पनि संगठन निर्माण गर्ने कुरा भयो । त्यती बेला संगठनको नेतृत्वमा भएका आदरणीय नेतृत्वहरु चक्रमिलन चन्द, हिक्मत बि.क., टंक धमला, राजेन्द्र बिस्ट, बिरेन्द्र बोहोरा, चन्द्र बहादुर रावत लगाएत नेताहरु विशेष गरि मेरो कक्षामा नै गएर संगठन निर्माण गरी मलाई आधिकारीक ढंगले संगठित गरी अखिल (क्रान्तिकारी) रामजानकी उमाविको अध्यक्ष बनाउन र संगठनमा जोड्न भुमिका खेल्नुभयो । १९ राष्ट्रिय सम्मेलनका लागि बाँके जिल्लाका सबै उमाबिहरुको तर्फबाट एकजना प्रतिनिधि कोटा थियो । जिल्लाका सम्पूर्ण उमाबिको प्रतिनिधित्व गरेर पहिलो पटक राष्ट्रिय सम्मेलनमा प्रतिनिधि सहभागी भएको थिए । त्यती बेला बिद्यार्थी आन्दोलन निकै प्रभावकारी थियो । मैले धेरै साथिहरूलाई आफ्नै नेतृत्वमा पार्टी संगठनका कार्यक्रमहरु र आन्दोलनमा सहभागी गराउने गर्थे । कहिले कोहलपुर न्यूरोड कहिले कोहलपुर चौराह कहिले नेपालगन्ज लगाएतका विभिन्न आन्दोलनमा सहभागि हुने गरिन्थ्यो । पछि बिस्तारै संगठन, संगठनका नीति तथा कार्यक्रम, पार्टी संगठनका लक्ष्य उद्देश्य सुन्दै, पढदै, सिक्दै जाने अबसर मिल्यो ।
मेरो उमाबिको अध्ययन सकिएपछि मलाई सिभिल इन्जिनियर अध्ययन गर्ने चाहान थियो । पोखरा विश्वविद्यालयको आङ्गिक कलेज नेपालगन्जमा प्रबेश परीक्षा दिएँ, नाम पनि निस्किएको थियो । पारिवारिक आर्थिक जटिलताका कारण मैले इन्जिनियर अध्ययन गर्ने अवसर भने गुमाएँ । त्यसपछि मैले राजनीतिम नै जीवन देखे ।
‘जन्म र मृत्युको बिचमा मानव समाजको लागि केही त्याग र सेवा गर्नुपर्छ । त्याग र सेवा गर्ने भनेको इतिहास निर्माण गर्ने कुरा पनि हो’ भन्ने लाग्न थाल्यो । पछि म बागेश्वरी बहुमुखी क्याम्पस त्यति बेला त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त सामुदायिक क्याम्पस थियो । बागेश्वरी बहुमुखी क्याम्पसको अध्यक्षको जिम्मेवारी लिने मेरो तीव्र चाहाना थियो । त्यसका लागि मैले जाने पुगे जति मिहेनत गरेको पनि थिए । त्यति बेला नेतृत्व तहमा यो सानै छ, भर्खर क्याम्पस आएकाले पहिलो वर्ष नै अध्यक्ष बनाउन नहुने तर्क सहित मलाई संगठनको सचिवको जिम्मेवारी दिइयो । त्यती बेला मलालाई क्याम्पसको अध्यक्ष बन्ने अवसर मिलेन, म सचिव भएर काम गरे । अर्को सम्मेलबाट म क्याम्पसको अध्यक्ष भएँ । त्यसपछि २०७४ मा स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचन भयो । स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनमा सचिवको उम्मेदवार बन्ने अबसर मलाई सङ्गठनले दिएको थियो । हामीले बिजय प्राप्त गर्न सकेनौ । मैले त्यस बेला क्याम्पसको अध्यक्ष तथा जिल्ला समिति सदस्यको जिम्मेवारीमा काम गरिराखेको थिए । २२औं जिल्ला सम्मेलनमा सङ्गठन भित्रको अस्वस्थ प्रतिस्पर्धाले हामी पुन: जिल्ला समिति सदस्यको जिम्मेवारीमा नै बस्नुपर्ने भयो । त्यसपछि बादल समूहसँग एकता भयो । पुन: म जिल्लाको कार्यालय सदस्यको जिम्मेवारीमा रहेर काम गरेको थिए । त्यसैबिचमा नेकपा एमालेसँग पार्टी एकता भयो । पुन: कार्यालय सदस्य भएर काम गरेको थिए । एकता र बिभाजनका विभिन्न शृङ्खलाले गर्दा झन्डै ७ वर्ष अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको सम्मेलन समयमा हुन सकेन । २०७८ सालमा हामिले अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेको २३औं जिल्ला सम्मेलन गर्यौ । संगठनका विभिन्न आन्तरिक समस्याहरूलाई समाधान गर्दै मैले जिल्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेको थिएँ । त्यसपछि २०८१ मा अखिल (क्रान्तिकारी) बाँकेको २४औं जिल्ला सम्मेलन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गरेको थिए । पछि २०८१ भाद्र २८ गते सम्पन्न अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो प्रदेश सम्मेलनबाट लुम्बिनी प्रदेश प्रमुख सचिब तथा नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समिति सदस्यको जिम्मेवारीमा रही काम गर्दै आएको छु ।
म राजनीतिप्रति आकर्षित यी माथि उल्लेखीत कारणहरूले भएको हो ।
आफ्नै साधान स्रोत र क्षमतालाई प्रयोग गरेर अहिले जे जिम्मेवारीसम्म आएको छु । यसमा साथ सहयोग गर्ने आदरणीय सम्पूर्ण साथीभाइ, आफन्त, राजनीतिक नेतृत्व प्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि तपाईहरुको साथ सहयोग र समर्थको पूर्ण आशा र भरोसा सहित सामाजिक, राजनीतिक क्षेत्रमा अझै उत्साहित भएर आफ्नो जीवनलाई समाजसेवामा समर्पण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।
महेश बस्नेत
प्रमुख सचिव
अनेरास्ववियू (क्रान्तिकारी), लुम्बिनी प्रदेश समिति
९ मंसिर २०८१, आईतवार १४:३२ प्रकाशित