अमेरिकामा कार दुर्घटना हुँदा बर्दिया र रूकुमका दुईकाे मृत्यु
  • काँचुली खबर

८ मंसिर, काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएकाे छ ।

स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा कारमा सवार चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमको समाचारमा उल्लेख छ।

मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ ।

कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन् । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ ।

त्यहाँको प्रहरीले  दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ ।

त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ ।

त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ ।

  • ८ मंसिर २०८१, शनिबार १८:३८ प्रकाशित
  • Nabintech