७ मंसिर, तानसेन । कालीगण्डकी नदीको धारले निरन्तर कटान गर्दा ऐतिहासिक रानीमहल दरबार जोखिममा परेको छ ।
कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ । पाल्पाको तानसेन-१४ मा रहेको ऐतिहासिक रानीमहल रहेको जग तलबाट कालीगण्डकी नदी बगेको छ । नदीको बहावले रानीमहल रहेको तल्लो भागमा ‘भ्वाङ’ परेको यहाँका सरोकारवालाको भनाइ छ । रानीमहलको जग तल बगेको नदीले रानीमहलतर्फको चट्टान काटेर सात फिटभित्र पसेको चार वर्षअघि नै गोताखोरको समूहले सूचित गरेको थियो ।
सो क्षेत्र निरन्तर कटान भए रानीमहल दरबार भासिन सक्ने तानसेन नगरपालिकाका पूर्वप्रमुख अशोककुमार शाहीले बताए । रानीमहल जगमा नदीले गरेको कटान रोक्न नसके भविष्यमा रानीमहल भासिएर दरबारको अस्तित्व नै समाप्त हुन सक्ने उनको चिन्ता छ । जग कटान रोक्न आवश्यक उपाय गरेर तत्कालै यसको संरक्षणमा लाग्न उनले सुझाव दिए ।
रानीमहलको सौन्दर्यमा मात्र होइन, दरबार ठडिएको जग कस्तो छ भनेर बुझेर काम गर्न आवश्यक रहेको छ । १२७ वर्ष पुरानो रानीमहलको जगको कटान रोकेर रानीमहल दरबार संरक्षण गर्न नगरपालिका र पुरातत्व विभागले ध्यान दिनुपर्ने प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले बताए । रानीमहल पाल्पासहित नेपालकै एउटा ऐतिहासिक एवं सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ ।
रानीमहलको जगमा कटान रोक्नका लागि चालु आर्थिक वर्ष २०८१-८२ मा एक करोड रुपियाँ बजेट विनियोजन भएको छ । जग कटान रोक्न प्रारम्भिक काम गर्न यो आवमा एक करोड रुपियाँ बजेट परेको र त्यसबाट आवश्यक काम गर्ने तयारी भइरहेको जनता तटबन्ध कार्यक्रम बुटवलका प्रमुख शम्भुराज पण्डितले बताए । रानीमहल क्षेत्रमा कालीगण्डकी नदीको सतह घटेपछि जग कटानको अवस्था हेरेर काम गरिने उनले जानकारी दिए । सम्बन्धित विज्ञ र पुरातत्व विभागसँग परामर्श गरी रानीमहललाई जोगाउने गरी काम तत्कालै सुरु गरिने पण्डितले बताए ।
१९५४ सालमा राणा खड्गशमशेरले कालीगण्डकी नदीको चट्टानमाथि रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका थिए । अहिले रानीमहल तानसेन नगरपालिकाको मातहतमा संरक्षण एवं रेखदेख कार्य भइरहेको छ । रानीमहल दरबारको अवलोकनका लागि यहाँ हरेक वर्ष तीन लाख आन्तरिक तथा बाह्य पर्यटक जाने गरेको तानसेन नगरपालिकाले जनाएको छ । रानीमहललाई प्रेमको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।
७ मंसिर २०८१, शुक्रबार १५:१४ प्रकाशित