३ मंसिर, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ ।
नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो ।
‘उनको बैंक खाता जाँच गर्दा ठुलो रकम जम्मा भएको देखिन्छ, तर खर्च भएको स्थान देखिँदैन । त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ । पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका गरिएको छ ।
रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएका थिए । ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए । प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढाएको हो ।
अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन् । ‘यस्ता धेरै विषयलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने ।
यो विषयमा प्रहरी औपचारिक रूपमा बोल्न चाहेको छैन । सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेको सम्पत्तिबारे अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीले लामिछानेको सबै सम्पत्ति रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेको छ ।
यसैबिच ठगी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइने भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
३ मंसिर २०८१, सोमबार १६:१७ प्रकाशित