बर्दिया ४ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी
  • काँचुली खबर

३ मंसिर, कोहलपुर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा ६ वटा दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार दर्ता गराएका छन् ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्नाबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले बताए ।

उम्मेदवारहरुमध्ये नेपाली काँग्रेसका उम्मेदवार यसअघि वडा सदस्यमा विजयी भएका थिए । उनले वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । हाल वडा सदस्य पदबाट राजीनामा दिएर चुनावी मैदानमा गएका हुन् ।

उता नेकपा माओवादीका उम्मेदवार २०७४ सालमा वडाध्यक्षका उम्मेदवार भई पराजित भएका हुन् भने नेकपा एमालेले नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादीको उम्मेदवारलाई साझा उम्मेदवार बनाएको घोषणा गरेको छ । कांग्रेसबाट वडाध्यक्ष जितेका सूर्यबहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा विष्टले १ हजार २०९ मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका नारायण अधिकारीले ५८० मत पाएका थिए ।

ठाकुरबाबा नगरपालिकाको वडा नं. ४ मा एक हजार आठ सय ३९ महिला र एक हजार छ हजार ७१ गरी तिन हजार पाँच सय १० जना मतदाता रहेका छन् । वडामा दुई वटा मतदान स्थलमा ५ वटा मतदान केन्द्रमा निर्वाचन हुनेछ । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख भएपछि हाल निर्वाचन हुन लागेको हो ।

  • ३ मंसिर २०८१, सोमबार १५:४९ प्रकाशित
  • Nabintech