३ मंसिर, कोहलपुर । बाँकेको कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत रामनगरस्थित बीच सडक (ग्रिन बेल्ट)मा हुर्किएका बिरुवा काट्ने लक्ष्मीप्रसाद भुसाल धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतले उनलाई ७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
गत भदौ २४ गते राति कोहलपुर नगरपालिका-१० रामनगरस्थित बीच सडकमा हुर्किएका बिरुवा आराले काटेका भुसाल कात्तिक २० गते पक्राउ परेका थिए । प्रहरीले उनलाई अभद्र व्यवहारमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।
नगरपालिकाले उजुरी दिन ढिला गर्दा भुसाल लामो समयसम्म पक्राउ पर्न सकेका थिएनन् । नगरपालिकाले रोपेका ५ वटा समीका बिरुवा भुसालले आराले काटेर ढालिदिएका थिए । सोबेला बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अवलोकन गरेको थियो ।
घटनाको अध्ययन अवलोकनपश्चात रामनगरकै स्थानीय भुसालले ती बिरुवा काटेको पत्ता लागेको थियो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजसमेत सार्वजनिक भएको थियो ।
त्यसपछि नगरपालिकाले सुरुमा आपराधिक उपद्रो शीर्षकमा उजुरी दिएको भए पनि शीर्षक नमिलेकाले अर्को शीर्षकमा उजुरी दिन भन्दै प्रहरीले उजुरी फिर्ता गरिदिएपछि नगरपालिकाले लामो समयसम्म उजुरी नै दिएको थिएन । तर सञ्चार माध्यम र कोहलपुरबासीको तीव्र दबाबपछि ढिलो गरी नगरपालिकाले भुसालविरुद्ध अभद्र व्यवहारमा दोस्रोपटक प्रहरीमा उजुरी दिएको थियो ।
३ मंसिर २०८१, सोमबार १४:५४ प्रकाशित