२९ कात्तिक, कोहलपुर । कोहलपुर क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै महिलाहरू आत्मनिर्भर बन्न थालेका हुन् ।
कोहलपुर नगरपालिका-५, शान्तिनगरस्थित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडले महिलाहरूलाई जुत्ता बनाउने तालिम दिएर महिलाहरूलाई आत्मनिर्भर बनाएको छ ।
महिलाद्वारा सञ्चालित नवकालिका लघुउद्यम प्रवर्धन सहकारी संस्था लिमिटेडका अध्यक्ष जुना विकले जुत्ता उत्पादनको काम सुरु गरिएको बताइन् । उनले भनिन, ‘विद्यालयका विद्यार्थी र विवाह-पार्टीका लागि उपयुक्त हुने जुत्ता उत्पादन भइरहेको छ ।’
उनले स्थानीय महिलाहरूसँगै सहकारीलाई उत्पादनमुखी बनाउन जुत्ता उत्पादन सुरु गरिएको बताउँदै बचत र ऋण लगानीमा मात्रै केन्द्रित नभएर उत्पादनमा पनि जोड दिने उद्देश्यले यो उत्पादन सुरु गरिएको बताइन् । सो सहकारीलाई लुम्बिनी प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेपछि यो कार्य सम्भव भएको अध्यक्ष जुनाको भनाइ छ ।
सहकारीका अनुसार प्रदेश सरकारबाट सहयोग पाएपछि महिलाका लागि जुत्ता बनाउने तालिम सञ्चालन गरिएको थियो । तालिम लिएकामध्ये १० जना महिला उत्कृष्ट ठहरिएका थिए । उत्कृष्टमध्ये ६ जनाले अहिले जुत्ता उत्पादन गर्दै आएका छन् ।
सहकारीका अध्यक्ष जुना विकका अनुसार उत्पादन सुरु गरिएपछि स्थानीय महिलाले रोजगारी पाएका छन् भने जुत्ताको राम्रो फिनिसिङका लागि भारतबाट समेत कामदार मगाइएको छ । उनले यसरी उत्पादन गरिएका जुत्ता गुणस्तरीय र सस्तो रहेको बताइन् ।
सानो समयमै सो सहकारीले उत्पादन गरेको जुत्ताले राम्रो बजार पाउन थालेपछि सहकारीमा आबद्ध महिला उत्साहित बनेका छन् । उत्पादन बढाउनुका साथै थप बजारीकरणमा विशेष जोड दिएको जुनाले बताइन् ।
प्रदेश सभा सदस्य कृष्णा केसीले सहकारीले उत्पादन सुरु गरेर अन्य सहकारीलाई पनि मार्गदर्शन गरेको जनाउँदै बजारीकरण र अन्य कामका लागि आफूले आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
२९ कार्तिक २०८१, बिहीबार १७:२३ प्रकाशित