२८ कात्तिक, काठमाण्डौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज अपरान्ह सवा ३ बजे युएईको घरेलु मैदानमा हुनेछ ।
यो निर्णायक खेल हो, जसले अर्को वर्ष मलेसिया हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ ।
युएई मात्रै त्यस्तो टोली हो, जसले हारको सामना गर्न परेको छैन । पाँच खेलमा १० अंक पुर्याएको युएई अंकमा मात्रै होइन नेट रनरेटमा पनि नेपालभन्दा अगाडि छ । चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल छनोटमा पछि परेको थियो । युएईले पाँचौं खेलमा थाइल्यान्डलाई नौ विकेटले हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ । यस्तोमा बुधबार हुने युएई र नेपालबीचको अन्तिम खेलले नै यो क्षेत्रबाट अर्को वर्ष मलेसिया हुने विश्वकपमा पुग्ने टोलीको टुंगो लगाउने छ ।
प्रतियोगितामा पाँच खेल खेलिसकेको नेपालले चार जीत र एक हारको सामना गरेको छ। विश्वकप एसिया छनोटका लागि नेपालले आजको खेलमा यूएइविरुद्ध जित्नुपर्ने दबाब छ।
पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो।
तेस्रो खेलमा आयोजक युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्यान्डमाथि १०६ रनको जित निकालेको थियो। पाँचौ खेलमा हिजो नेपालले कुवेतविरुद्ध १६५ रनको प्रभावशाली जित निकालेको छ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । यो प्रतियोगितामा सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा हुँदैछ ।
२८ कार्तिक २०८१, बुधबार १२:१७ प्रकाशित